संक्रमितका घरघरमै पोषिलो आहारा पुर्याउँदै चन्दननाथ
दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमित भएकालाई जुम्लाको चन्दननाथ नगरपालिकाले घरघरमै पुगेर पोषिला आहारा, स्वास्थ्य सामग्री र भिटामिन वितरण गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले संक्रमितका घरघरमा पोसिला आहारासंँगै स्वास्थ्य सामग्री पुर्याउने निर्णय गरेसंँगै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी कोसेली लिएर संक्रमितका घरघरमा पुगेका हुन् ।
चन्दननाथ नगरपालिकामा हालसम्म ६१ जना संक्रमित छन् । जसमध्ये ४३ जना होमआइसोलेनमा बसेका छन् भने बाँकी कर्णाली प्रतिष्ठानको आइसोलेसनमा उपचारत छन् । घरमा बसेका र अस्पतालबाट फर्किन गरी पहिलो चरणमा चन्दननाथका ५५ जना संक्रमितलाई घरघरमै पुगेर पोषिलो आहारा, स्वास्थ्य सामग्री र भिटामिन दिइएको छ भने होमआइसोलेसनमा बस्दा अनपाउनु पर्ने उपाय सिकाउनुका साथै मनोबल उच्च पार्न परामर्शसमेत दिइएको छ । चन्दननाथले संक्रमितका घरघरमा पुगेर भेटघाट तथा पोषिला आहारा दिने कार्यक्रमले संक्रमित पनि खुसी भएका छन् ।
चन्दननाथ नगरपालिकाका १० वटै वडाका ५५ संक्रमितलाई निको नभएसम्मका लागि पुग्नेगरी घरमै पुगेर चना २ केजी, अण्डा १ क्यारेट, च्यावनप्रास १ बट्टा, १५ दिनका लागि भिटामिन सी र भिटामिन बीका साथै साबुन २ चक्की, सेनिटाइजर १ बट्टा र मास्क २ प्याकेट वितरण गरिएको चन्दननाथका विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए ।
कोरोनालाई जित्ने रोग प्रतिरोधात्मक क्षामता बढाउन, संक्रमितको स्वास्थ्य स्थित बुझ्न जोखिम मोलेरै भए पनि संक्रमितका घरघरमा पुगेर पोषिला आहारा दिनुका साथै परामर्श दिएको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले बताइन् ।
नगरपालिकाका संक्रमितको जीवनरक्षाका लागि सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि खटिएको र संक्रमितका जस्तासुकै समस्या नगरपालिकाले समधान गर्नेसमेत मेयर सेजुवालको भनाइ छ । साथै, उनले कोभिड एम्बुलेन्सका लागि भ्यान भाडामा लिने, आवश्यकता अनुसार संक्रमित ओसार्न एम्बुलेन्स प्रशासनलाई दिने तयारी भएको बताइन् ।
जिल्लाकै सबैभन्दा बढी संक्रमित रहेको चन्दननाथ नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियानलाई जोड दिइएको छ भने होम आइसोलेसनमा बसेकाबाट संक्रमण फैलिने त्रास बढेकाले उनीहरूलाई सम्झाउने र पोसिला खानेकुरा दिने तथा स्वास्थ्यकर्मीले संक्रमितको नियमित निगरानी राखेको चन्दननाथका स्वास्थ्य संयोजक पृथ्वीनाथ योगीले बताए । जुम्लाका कुल संक्रमित २ सय २४ जनामध्ये ९० प्रतिशत संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
१० दिन निषेधाज्ञा थप, स्वास्थ्यबाहेकका सबै सेवा बन्द
जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएको छ । जेठ १ गते दिउँसो १२ बजेदेखि ११ गतेसम्म लागू हुनेगरी जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएको हो । जुम्लामा संक्रमण दर दैनिक बढ्दै गएकाले कोभिड संकट व्यवस्थापन समितिको बैठकले जेठ १ गते दिउँसो १२ बजेदेखि निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । विगतको भन्दा कडारूपमा लागू हुनेगरी निषेधाज्ञा गरिएको हो ।
अबको १० दिनसम्म जुम्लामा अस्पताल र मेडिकलबाहेक सबै क्षेत्र पुर्णरुपमा बन्द गरिने भएको छ । विगतमा बिहान ३ घण्टा खाद्यन्न पसल, डेरी सञ्चालन गर्दा लापरबाहीका कारण संक्रमण दर बढ्न थालेपछि स्वास्थ्य क्षेत्रबाहेक सबै बन्द हुनेगरी निषेधाज्ञा लागू गरिएको हो । मेडिकलबाहेक बैंक तथा वित्तीय क्षेत्र, खाद्य किराना पसल, डेरी सबै १० दिनका लागि पूर्णरूपमा बन्द गरिने छ भने अन्तर जिल्ला आगमनदेखि एक गाउँदेखि अर्को गाउँ प्रवेश र सवारी सञ्चालनमा समेत कडाइ गरिने प्रजिअ थापाको भनाइ छ ।