Logo

जडिबुटीबाट ३२ लाख राजस्व संकलन


डिभिजन वन कार्यालय जुम्लाले ३१ लााख राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ९ महिनामा जडिबुटी निर्यातलगायत अन्यबाट करिब ३१ लाख राजस्व संकलन गरेको हो । जडिबुटी संकलन तथा निर्यातका लागि सिफारिस बापत २१ लाख २८ हजार ९ सय रुपैयाँ र घर कर्जा बापत उपभोक्ताबाट १० लाख २८ हजार गरी जम्मा ३२ लाख ५८ हजार ९ सय राजस्व संकलन भएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीले बताए ।
“विगतको भन्दा राजस्व संकलन वृद्धि भएको छ भने जडिबुटी चोरी निकासी हुने क्रम पनि रोकिएको छ” उनले भने, “जडिबुटी संरक्षण तथा वन पैदावारको सुरक्षाका लागि समुदायस्तरमै हातेमालो गरेका छौं ।”
गत वर्ष घर कर्जाबाट १० लाख ७७ हजार ३ सय र जडिबुटीबाट १ लाख २६ हजार गरी करिब १२ लाख राजस्व संकलन भएको थियो । तर कोरोना कहरकै बीच पनि चालु आवको चैत मसान्तसम्म करिब ३२ लाख राजस्व संकलन भएको प्रमुख खत्रीको भनाइ छ ।
जिल्लाका ६ वटा इलाका वन कार्यालयको रिर्पोट अनुसार डढेलोबाट सबैभन्दा प्रभावित क्षेत्रमा करिब १६ हजार बढी सल्लाका विरुवा रोप्ने लक्ष्य राखेको वन कार्यालयका प्रमुख दिनेशजंश खत्रीले जानकारी दिए । अहिले कोभिडले असर गरेपनि अवस्था सामान्य भएपछि प्रभावित वन क्षेत्रमा वृक्षारोपण गरिने भएको छ । कोभिडकै त्रासले गर्दा यसपाली पातारासी, तातोपानी गुठिचौरका स्थानीय तहले जडिबुटी संकलनको सिफारिस लिएका छैनन् ।
तर तातोपानी गाउँपालिका २ जर्मीगाउँका महिलाले भने छिनारा सामुदायिक वन तथा राष्ट्रिय वनको सरंक्षणमा जुटेका छन् ।
विगतमा आगलागी हुँदा महिलाकै सक्रियतामा निभाउनेदेखि अहिले वन क्षेत्रको रेखदेख पनि नियमित भइरहेको तातोपानी २ जर्मीकी स्थानीय महिला बेलु चनाराले बताइन् । जुम्लामा रहेका साढे २ सय भन्दा बढी सामुदायिक वनले अझै सन्तोषजनक राजस्व संकलन तथा वन संरक्षणको काम गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्