चालू आर्थिक वर्षमै २० किमि बढी कालोपत्रे «

चालू आर्थिक वर्षमै २० किमि बढी कालोपत्रे


लमजुङमा चालू आर्थिक वर्षमा मात्रै प्रादेशिक सडकअन्तर्गत २० किलोमिटर बढी सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत जिल्लाका विभिन्न स्थानीय तहमा २० किलोमिटर बढी ग्रामीण सडक कालोपत्रे गरेको हो ।
पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको बेसीसहर, मध्यनेपाल, राइनास र सुन्दर बजारअन्तर्गतका ग्रामीण सडक कालोपत्रे सुरु गरेको हो । चालू आर्थिक वर्षमै कालोपत्रे सम्पन्न हुने गरी कामले गति लिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीले बताए ।
कार्यालय प्रमुख ई. गिरिका अनुसार प्रादेशिक सडकअन्तर्गत चालू आर्थिक वर्षमा सबैभन्दा धेरै राइनास नगरपालिकामा सडक कालोपत्रे सम्पन्न हुने भएको छ । राइनास नगरपालिकाअन्तर्गत तनहुँको नेपाल डाँडा–तार्कुघाट–धमिलीकुवा–बोराङ सडक १० किलोमिटर सडक कालोपत्रे सम्पन्न हुने भएको हो । सम्झौताअनुसार सो योजना सम्पन्न गर्ने मिति आगामी मसिर भए पनि चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी कामअघि बढेको कार्यालयले जनाएको छ । सोबाहेक राइनासकै हर्राबोट–राइनासकोट अन्तर्गत एक दशमलव पाँच किलोमिटर सडक पनि चालू आवमै कालोपत्रे सम्पन्न हुने भएको छ ।
यसैगरी सुन्दरबजार नगरपालिकाको खत्रेठाँटी–कुन्छा–सोतिपसल सडकअन्तर्गत पनि हाँडेटारदेखि कुमालटारसम्म एक दशमलव पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सोही स्थानीय तहमा हाँडेटारको सहिद तिलक पाण्डे गेटबाट कुन्छा भागिरथीतर्फ पनि एक किलोमिटर सडक कालोपत्रे भइसकेको र बाँकी एक किलोमिटर कालोपत्रे सम्पन्नको चरणमा रहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।
कार्यालयका अनुसार मध्यनेपाल नगरपालिकाअन्तर्गत भोर्लेटार–बाँग्रे–पाणीनी सडकअन्तर्गत पनि एक किलोमिटर सडक कालोपत्रे भएको छ भने बेसीसहरदेखि बाग्लुङपानी–घलेगाउँ सडकअन्तर्गत तीन किलोमिटर सडक कालोपत्रे भएको छ । बेसीसहर नगरपालिका अन्तर्गत रानीकुवादेखि पुरानकोट सडक पनि दुई किलोमिटर सडक चालू आवमै कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।
जिल्लामा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले छुट्टाछुट्टै योजनाअन्तर्गत सडक कालोपत्रे हुँदै आएको छ । यद्यपि जिल्लाका ग्रामीण सडकमा ठूलो परिमाणमा सडक कालोपत्रे भएको भने यो पहिलो पटक पूर्वाधार विकास कार्यालयको दाबी छ ।
“जिल्लामा सडक कालोपत्र नभएका होइनन्,” कार्यालय प्रमुख गिरिले भने, “तर एक आर्थिक वर्षमा यति धेरै मात्रामा ग्रामीण सडक कालोपत्रे भएको यो पहिलो हो ।”
जिल्लामा संघ सरकारअन्तर्गत राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्ग, सदरमुकाम जोड्ने मुख्य राजमार्ग र अन्य केही साना योजना निर्माणाधीन अवस्थामा छन् । सोबाहेक जिल्लाका स्थानीय तहले पनि आफ्नै लगानी र प्राथमिकताको आधारमा साना सडक कालोपत्रेलाई प्राथमिकतामा राखेर कामअघि बढाएका छन् ।
गण्डकी प्रदेश सरकारले चालू आवमै काम हुनेगरी लमजुङका ४० वटा सडक योजनाका लागि बजेट विनियोजन गरेको थियो । चालू आवका लागि जिल्लाको विभिन्न स्थानीय तहका सडक निर्माण, मर्मतसम्भार तथा स्तरोन्नतिका लागि करिब ७० करोड बजेट विनियोजन भएको थियो । चालू आवमा काम सुरु भएका केही सडक योजना भने क्रमागत अर्थात् बहुवर्षीय पनि रहेका छन् ।
चालू आवमा प्रदेश सरकारले बजेट विनियोजन गरेको सडक योजनामध्ये १६ वटा सडक योजनाका लागि एक करोडभन्दा बढी बजेट विनियोजन भएको थियो । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका १८ वटा सडक निर्माण मर्मतसम्भार र स्तोरन्नतिका लागि ५० लाखका दरले बजेट विनियोजन भएको थियो । प्रदेश सरकारले बजेट विनियोजन गरेअनुसार जिल्लामा ५० लाखभन्दा मुनिका भने तीनवटा मात्रै सडक रहेका छन् ।
चालू आर्थिक वर्षका अधिकाँश योजनामा कामले सन्तोषजनक गति लिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत जिल्लाका कुनै पनि साना ठूला आयोजनामा काम नरोकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्