जनशक्ति अभावले उपचारमा समस्या
कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल पनि पूर्णरूपमा प्रभावित भएको छ । कोरोना पोजेटिभ बिरामीले अस्पताल भरिएका छन् । अस्पतालमा शैया नहुँदा भुइँ, अस्पतालबाहिर बरन्डा, पेटीमा समेत उपचार भइरहेको छ । अक्सिजन अभावमा बिरामीको ज्यान गइरहेको छ । अस्पतालले नयाँ बिरामी भर्ना नगर्ने र अस्पतालमा रहेका बिरामीलाई पनि अक्सिजनको व्यवस्था आफैं गर्नु भन्ने खालका विज्ञप्ति जारी गरिरहेका छन् । भएका अक्सिजन ग्यास उद्योगबाट आपूर्ति व्यवस्थासमेत भद्रगोल छ । उत्पादन करिबध ८ हजार लिटर छ भने हाल बजारमा १५ हजार लिटर अक्सिजनको माग छ । सरकारले स्वास्थ्य संकटकालको कुरा त गरिरहेको छ तर लगाउन सकिरहेको छैन । स्थिति नियन्त्रण बाहिर गएपछि सरकारले विश्व समुदायसँग सहयोग मागेको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालको अवस्था भयावह देखेर नेपाललाई तत्काल सहयोग गर्न आह्वान गरेको छ । चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिकहरू स्वास्थ्य क्षेत्रमा आपत्काल (हेल्थ इमरजेन्सी) घोषणा गरेर मात्र केही नहुने बताउँछन् । किनकि संक्रमण बढे संगै भएका पूर्वाधारले नधान्ने स्थिती सिर्जना भएको छ । यस्तो आपत्विपद् स्वास्थ्य क्षेत्रमा आउँछ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले व्यवस्थापन गर्न नसक्नु दुःखद कुरा हो । सरकारको गैर जिम्मेवार अभिब्यक्ति तथा ब्यवहार तथा पूर्व तयारीमा कमिका यति धेरै मानवजीवन गुमाउनु परेको छ । अहिलेको जटिल परिस्थितिमा बिरामीको उपचार, अक्सिजनको अभाव, हेल्थ इमरजेन्सीलगायतका विषयमा चिकित्सकसँग कारोबारकर्मीहरूले गरेको कुराकानीको सार :
महामारीलाई धान्ने प्रणाली अपुग भएको हो, समाप्त भएको होइन
केपी शर्मा ओली
प्रधानमन्त्री
कोरोना महामारीबाट संक्रमित नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य उपकरणको तत्काल व्यवस्थापन गरौं । नागरिकको जीवनरक्षाका लागि आवश्यक अक्सिजन आपूर्ति, उत्पादन र वितरणमा लाग्नुहोस् सुरक्षाका मापदण्ड नअपनाउने, कोभिड लाग्छ भनेर अक्सिजन घरमै लगेर राख्ने प्रवृत्ति बढेको छ, यसले अस्पतालका बिरामीलाई पनि बचाउन सक्दैन र घरमा राखेको अक्सिजनले पनि काम गर्दैन । अक्सिजन खरिद र वितरणका लागि तत्काल के–के गर्नुपर्छ गर्ने, निजी अस्पतालमा बढेको नाफाखोर प्रवृत्ति हटाउने, भेन्टिलेटर अपुग भए तत्काल मगाएर त्यसको पूर्ति गर्ने काम गर्नुप¥यो । मानवीय संकटको बेला ३५ दिने सूचना पर्खेर बसे नागरिकको ज्यान जान्छ । विरामीले मैले खोजेको औषधि पाउँदिन, अक्सिजन पाउँदिन भन्ने सोच्नु नपरोस् । तत्काल उपलब्धता र सुलभताका लागि तपाईंहरू सबैको सक्रियता आवश्यक छ । भ्रष्टाचार भयो भने क्षम्य हुँदैन, तर मानव संकटलाई राजनीतिकरण गर्न स्थायी रूपमा भ्रष्टाचारको अफवाह फैलाएर महामारीसँग अग्रमोर्चामा लडिरहेकालाई थप पीडा दिने, बदनाम गर्ने र कामबाट निरुत्साहित गर्ने प्रवृत्ति छ । मानवीय रक्षाका लागि गरेका प्रयासलाई विकृत रूपमा व्याख्या गर्ने पेसा नै भएकासँग सजग रहेर महामारीबाट जनतालाई बचाउनु पर्दछ । हाम्रो स्वास्थ्य प्रणाली नै समाप्त भयो भन्नेजस्ता शब्द प्रयोग नगरौं, महामारीलाई धान्ने प्रणाली अपुग भएको हो, समाप्त भएको होइन । हामीसँग यसअघि नभएका प्रणालीलाई पनि हामीले यसबीचमा विस्तार गरेका छौं, त्यसैले प्रणाली समाप्त भएको होइन ।
(प्रधानमन्त्री कैपी शर्मा ओलीले विभिन्न मन्त्री, अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र र सरकारी निकायसँग शनिबार बालुवाटारमा विशेष छलफलमा ब्यक्त गरेको विचारको अंश )
संक्रमित स्थानमा सिलबन्दी गर्नुको विकल्प छैन
डा. दीपक गिरि
सिमरा, बारा
अहिले भएकोे पीसीआर टेस्टमा ८० प्रतिशत कोरोना संक्रमित देखिएको छ । सरकारले दिएको किट लक्षण देखिएकाहरूमा मात्र प्रयोग भएको छ । उनीहरूले दिएको स्वाबको रिपोर्ट नआउन्जेल खुलेआम हिँडडुल गर्दा पूरै तराईमा सावधानी र शारीरिक दूरी कायम नगरेपछि एक व्यक्तिबाट अर्कोमा सर्ने क्रम तीव्र बनेसँगै हाम्रै बारामा समेत दैनिक मृत्यु हुन थालेको छ ।
संक्रमितले उपचार नपाइरहेको अवस्थामा होम आइसोलेसनमा बस्नुपर्दा औषधिलगायत अक्सिजनको समस्या भयावह बन्दै जानुमा तीनै तहका सरकार जिम्मेवार देखिएका छन् ।
म आफैं जितपुर सिमरा उपमहानगरले बनाएको २० बेडको आइसोलेसनमा खटिन थालेको छु र अन्य स्वास्थ्यकर्मीहरूसमेत सहभागी भएका छन् । जुनसुकै तहको सरकार होस्, काम गर्ने वातावरण बनाइदिए संक्रमितले उपचार पाउँछन् र निको पनि हुन्छन् । महामारीमा पनि नीति र विधिको पछि लाग्दा ढिलो भइरहेको अवस्था हो अहिले । परेपछि अत्तालिने र पहिल्यै स्वास्थ्यको ख्याल गरेर घरमै नबस्दा अहिले जिल्लामै स्थिति नियन्त्रणबाहिर छ जस्तो लाग्छ मलाई । अहिले पनि बिहान ११ बजेसम्म खुल्ने बजारको अनियन्त्रित भीड नै संक्रमित वृद्धिको आधार हो । अनावश्यक हिँडडुलमा जनता आफैं सचेत नभएसम्म स्थिति नियन्त्रणमा आउँछ जस्तो लाग्दैन ।
केही स्थानीय तहले जिल्लामा जिम्मेवार बन्दै व्यवस्थित आइसोलेसनको व्यवस्था गरेका छन्, यो सुखद पक्ष हो । अर्को कुरा, संक्रमण रोकथाममा समयमै पहिचान, परीक्षण, आइसोलेसन, उपचार र सम्पर्कमा आएका व्यक्तिको पहिचानलाई व्यवस्थित रूपमा अगाडि बढाउनु नै अहिलेको प्रमुख काम हो । विगतमा जस्तो कोभिड–१९ संक्रमितको परीक्षण रिपोर्ट मृत्युपछि मात्र आउने गरेको रोक्न तत्काल र अनिवार्य रूपमा परीक्षणको दायरा बृहत् बनाउनुपर्छ । सामान्य व्यवस्थापनको अभावमा सेवा–सुविधा हुँदाहुँदै समयमै कार्यान्वयन नहुँदा मृत्यु हुनु दुःखद अवस्था हो ।
उद्योग, कलकारखाना सञ्चालन रहेकै यो अवस्थामा श्रमिकहरूले जीवन गुजारामा समस्या नआउन काम गरे पनि स्वास्थ्य मापदण्डका बारेमा कसैको चासो देखिँदैन । त्यो नै अहिले देखिएको प्रमुख लापरबाही हो । जिम्मेवारी लिनेले नलिँदा यहाँको अवस्था गम्भीर छ । कोरोना भाइरसले सम्पूर्ण समाजको क्षेत्रलाई प्रभावित पारेको छ । त्यसैले तत्काल तरकारी बजारदेखि लिएर अन्य संक्रमणको सम्भावना भएका स्थानमा संघीय, प्रदेश र स्थानीय सरकारले आवश्यकताअनुसार सिलबन्दी गर्नुपर्छ, नत्र संक्रमणको दर घरघरै हुनेछ । प्रस्तुति : प्रकाश लम्साल
सरकारले निजी अस्पताललाई थप जनशक्ति उपलब्ध गराउनुपर्छ
डा. राजु श्रेष्ठ
एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल रोग विशेषज्ञ
बीएन्डसी हस्पिटल, बिर्तामोड
बीएन्डसी हस्पिटलले स्रोत र साधन कोभिडमा केन्द्रित गरेको छ । हस्पिटलमा २ सय बेडको कोभिड केयर सेन्टर सञ्चालित छ । त्यसअन्तर्गत ६० बेड आईसीयू र १ सय ४० वाड छुट्याएका छौँ । आईसीयूभित्र ६० मा ४० वटा हाइकेयर र २० वटा एचडीयू सञ्चालनमा छन् । एचडीयूमा भेन्टिलेटरको आवश्यकता पर्दैन, अक्सिजनले नै उपचार गर्न सकिन्छ । अहिले हामीसँग १ सय १० जना कोरोना संक्रमित उपचाररत हुनुहुन्छ, जसमा आईसीयूमा ४० र वाडमा ६० जना हुनुहुन्छ ।
पूर्वी तराईको झापामा अवस्थित यस बीएन्डसी हस्पिटलमा नेपालगन्ज, काठमाडौँ, ओखलढुंगा, वीरगन्जदेखिका बिरामी हेलिकप्टरबाट ल्याइएको छ । त्यस्तै, प्रदेश–२ का जिल्लाहरूबाट एम्बुलेन्समार्फत बिरामी ल्याउने क्रम पनि बढ्दो छ । यो अवस्थामा हस्पिटलमा कार्यरत आईसीयूको मात्र जनशक्तिले नपुगेर जनरल सर्जिकल, अर्थोवार्डको जनशक्तिलाई पनि परिचालन गरेका छौँ । हामीसँग आफ्नै अक्सिजन प्लान्ट छ, जसले गर्दा अक्सिजनका लागि भने सहज छ । कोभिडको उपचारमा निमोनियाका कारणले गर्दा बिरामीलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुने हुँदा अक्सिजन पर्याप्त मात्रामा दिनुपर्ने हुन्छ । हामीले पहिलादेखि नै अक्सिजन ल्याउने गरेका फ्याक्ट्रीबाट पनि अक्सिजन ल्याएर चलाइरहेका छौँ ।
जटिल प्रकृतिका बिरामीलाई बाहिरी अक्सिजनले मात्र पुग्ने अवस्था छैन । उनीहरूलाई भेन्टिलेटरमा नै राख्नुपर्ने अवस्था रहन्छ । कोभिड आउनुपूर्व नै हामीले ५० बेडको आईसीयू कक्ष सञ्चालनमा ल्याएको हुनाले त्यो बेलाको स्रोतसाधनले यो महामारीमा धेरै मात्रामा सहयोग पुगेको छ । नन–कोभिडका बिरामीका लागि छुट्याएर कोभिडका लागि हामीले ३० वटा भेन्टिलेटर चलाएका छौँ । हामीले १० दिनसम्म भेन्टिलेटरमा राखेर पनि बिरामी बचाउन सफल भएका छौँ । हामीसँग २ सय जना कोरोना संक्रमितलाई राख्न सक्ने भौतिक स्रोत र साधन हुँदाहुँदै मानवस्रोतको भने अभाव छ । बिरामी बढ्दै जाने हो भने हामीलाई जनशक्ति अभाव हुने अवस्था छ । यसका लागि हामीले जनशक्ति थप्ने साथै सरकारी अस्पतालसँग सहकार्य गर्ने योजना बनाएका छौँ । हामीले खोप लगाएका र नलगाएका बिरामी छुट्याएर उपचार गरिरहेका छौँ । यसरी हेर्दा खोपले केही मात्रामा काम गरेको देखिन्छ । होम आइसोलेसनमा बसेर अन्तिम अवस्थामा मात्र हस्पिटल आउने बिरामीलाई भने बचाउन गाह्रो छ । अक्सिजनको मात्रा घट्नेबित्तिकै अस्पताल आउनेहरूको अवस्था भने सुधार भएको छ ।
अधिकांश नागरिक लक्षणबारे जानकार हुनुहुन्छ । लक्षण देखा परेमा तुरुन्त पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । मेची अस्पताल र कन्काईको कोटीहोममा पीसीआर परीक्षण भइरहेको छ । परीक्षणको चाप बढ्दो रहेकाले रिपोर्ट आउन समय लाग्ने गरेको छ । त्यसैले लक्षण देखा परेका बिरामीले हस्पिटल जान ढिला गर्नु हुँदैन । होम आइसोलेसनमा भएका बिरामीले उत्तानो परेर सुत्दा फोक्सोको तल्लो भागमा अक्सिजन नजाने हुँदा घोप्टो परेर सुताउँदा फोक्सोमा अक्सिजनको मात्र जान्छ । यसले अक्सिजनको मात्रा कम भएको बिरामीलाई सहयोग पुगेको देखिन्छ । बिरामी घरमा रहँदा अक्सिजनको मात्रा ९२ सम्म भए पनि बिरामीले आराम गरेको अवस्थाको अक्सिजन लेबल हेरेर ६ मिनेटसम्म कोठाभित्र हिँड्ने र त्यसपछि अक्सिजनको लेबल हेर्दा ४ प्रतिशतभन्दा कम भएमा पनि बिरामीको अवस्था जटिल हुनसक्ने हुन्छ र डाक्टरको सम्पर्कमा आएर उपचार गराउनुपर्छ ।
अहिले हामी कोरोनाविरुद्धको महायुद्धमा छौँ । म र मेरो परिवार कोभिड संक्रमित भए कसले उपचार गर्छ भन्ने डर हामी स्वास्थ्यकर्मीसँग छ । त्यसैले सरकारले निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बिमा गरिदिए प्रोत्साहन पुग्ने थियो । संस्थागत रूपमा भन्नुपर्दा अहिले धेरै अस्पतालमा आवश्यक मात्रामा अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन । सरकारले काठमाडौँ साथै बाहिरका हस्पिटलमा अक्सिजन पु-याउने जिम्मा लिनुपर्छ । निजी अस्पतालसँग संरचना छ । त्यसैले सरकार मातहत रहेका जनशक्ति परिचालन गर्ने हो भने धेरैभन्दा धेरै बिरामीलाई सेवा दिन हामी सक्षम छौँ ।
स्वस्थ्यकर्मी अभाव र दबाबमा काम गरिरहेका छन्
मे.सु. डा. पीताम्बर ठाकुर
मेची अञ्चल अस्पताल, भद्रपुर, झापा
कोभिड उपचारका लागि हामीसँग १ सय बेड छ । आजको दिनमा ६३ जना संक्रमित उपचार गराइराख्नुभएको छ । अहिलेसम्मको तथ्यांक हेर्ने हो भने हामीले ३ सय ५० भन्दा बढी संक्रमितलाई उपचार गराएका छौँ । त्यसमा पहिलो लहरमा चारजनाको मृत्यु भएको थियो भने दोस्रो लहरमा सात जनाको मृत्यु भएको छ । अहिले सबै बिरामीलाई आईसीयूमा राख्नुपर्ने अवस्था छ । हामीसँग अक्सिजन कम छ र खपत बढ्दो दरमा छ । पहिले एउटा अक्सिजन सिलिन्डरले आधा घण्टा काम गथ्र्यो भने अहिले १५÷२० मिनेटमात्र काम गर्छ । गर्मी बढेको र अक्सिजनको मात्रा घटेकाले पनि समस्या छ । अस्पतालमा कतिबेला अक्सिजन कम होला र बिरामी मर्ला भन्ने अवस्था आउने देखिन्छ । अक्सिजन स्टक सिस्टम पनि छैन ।
नन्कोभिड बिरामी पनि आउने क्रम बढेकाले हामीसँग बेड अभाव छ । अक्सिन प्लान्ट नभएकाले विराटनगर, बिर्तामोडबाट अक्सिजन भरेर ल्याउने गरेका छौँ । अस्पतालमा नै अक्सिजन प्लान्ट स्थापना गर्ने ठेक्का लागे पनि कोभिडका कारण भारतले निर्यातमा अवरोध गर्दा स्थापना हुन नसकेको हो । अहिले हाम्रा स्वास्थ्यकर्मी पनि संक्रमित भएर होम आइसोलेसनमा बस्नुभएको छ । त्यसैले जनशक्तिको पनि अभाव छ । हामी दबाब र अभावका बीच काम गरिरहेका छौँ । हामी दैनिक पीसीआर परीक्षण गरिरहेका छौँ । तर किट अभावले १-२ दिनमा परीक्षण नै बन्द हुने अवस्था आउँछ । होम आइसोलेसनमा रहेका बिरामीहरूलाई स्थानीय सरकारअन्तर्गत स्वास्थ्य शाखाले हेरिरहेको छ । स्वास्थ्य शाखाको सहकार्यमा होम आइसोलेसनमा रहेका बिरामीको अवस्था बुझ्न दैनिक दिउँसो ११ बजेदेखि १२ः३० सम्म जुममार्फत कार्यक्रम गर्दै आइरहेका छौँ । स्थानीय सरकारले संक्रमितलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा अझ गम्भीरताका साथ लाग्नुपर्छ । सरकारले घर–घरमा अक्सिजनको व्यवस्था, स्वास्थ्य परामर्शको व्यवस्था गरिदिए अस्पतालसम्म आउने बिरामीको मात्रा कम हुन्छ ।
प्रस्तुति : मनिषा चम्लागाईं