कालोबजारी रोक्न संयुक्त बजार अनुगमन «

कालोबजारी रोक्न संयुक्त बजार अनुगमन

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको बेला बजारमा हुन सक्ने कालोबजारी रोक्नका लागि संयुक्त रूपमा बजार अनुगमन सुरु गरेको छ ।
निषेधाज्ञाको बेला बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी, ठगी, मूल्यवृद्धि रोक्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रूपमा अनुगमन सुरु गरेको हो । विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग र स्वास्थ्य सेवा विभागले संयुक्त रूपमा अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा मेडिकल सामानमा अस्वाभाविक मूल्य बढाएको भन्ने गुनासो बढेपछि त्यसमा अनुगमन केन्द्रित गरिएको विभागले जानकारी दिएको छ ।
विभागका प्रवक्ता शिवराज सेढाईले निषेधाज्ञाको बेला हुन सक्ने मूल्यवृद्धि, कालोबजारी रोक्नका लागि संयुक्त रूपमा बजार अनुगमन सुरु गरिएको जानकारी दिए । पछिल्लो समय मेडिकल सामानमा मूल्य बढाएको गुनासो आएकाले त्यसमा अनुगमन केन्द्रित गरिएको उनले जानकारी दिए ।
“दैनिकजसो तीन–चारवटा टोलीले अनुगमन गरिरहेको छ,” उनले भने, “कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गरेका छांै ।”
चिनीमा कृत्रिम अभाव गराएर मूल्य बढेको गुनासो आएकाले मूल्य बढाउने चिनी उद्योगलाई अनुसन्धान गरिरहेको प्रक्रिया पूरा गरेर कारबाही गर्ने उनको भनाइ छ ।
पछिल्लो समय बजारमा मेडिकल सामानसँगै दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । पछिल्लो समय बजारमा मास्क, स्यानिटाइजर, पञ्जा, अक्सिजनमा व्यवसायीले कृत्रिम अभाव देखाएर कालोबजारी गरिरहेको अनुगमनका क्रममा फेला परेको छ । विभागले हालै मास्कको कृत्रिम अभाव गराएर कालोबजारी गर्ने तीन पसललाई कारबाही गरेको छ ।
ज्ञानेश्वरस्थित अनुज स्टोर, यू–एन्ड बी स्टोर्स र आरएन स्टोर्सलाई जरिवाना गरेको विभागले जानकारी दिएको हो । उपभोक्ता संरक्षण ऐनविपरीत मास्कको कालोबजारी गरेको पाइएकाले ती पसललाई ५÷५ हजार जरिवाना गरिएको विभागले जनाएको छ ।
ती पसलले मास्क खरिद–बिक्री गर्दा बिल बिजक जारी नगरेको र अधिक मूल्यमा बेचेको उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरेको विभागले जानकारी दिएको छ ।
यस्तै विभागले मूल्यसूची नराखेको र प्याकेटमा कम संख्या राखेको भन्दै भक्तपुरमा रहेको हिमालय लाइफ केयर नामक मास्क उत्पादन उद्योगलाई ५० हजार रुपैयाँ जरिवानासमेत गरेको छ । सो उद्योगले भने होलसेल मूल्य २ रुपैयाँ ४ पैसामा दिने गरेको पाइएको विभागले जनाएको छ ।
पछिल्लो समय उद्योगीहरूले होलसेल मूल्यमै मास्कको मूल्य बढाएका छन् ।
कृत्रिम अभाव देखाएर मास्कको मूल्य वृद्धि गराएका हुन् । यसअघि प्रतिपिस होलसेल मूल्य ३ रुपैयाँमा पाइने मेडिकल मास्क अहिले बढेर ४ देखि ५ रुपैयाँ पुगेको छ । कोभिडको संक्रमण बढ्दै गएपछि बजारमा मास्कको खपत बढ्दै गएकाले व्यवसायीले अभाव देखाएर मूल्य बढाएका हुन् । अभाव देखाएर बजारमा पसलपिच्छे मास्कमा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएर उपभोक्ता ठगेका छन् ।
होलसेल मूल्य ३ देखि ४ रुपैयाँमा पाइने मेडिकल मास्कको खुद्रा मूल्य भने प्रतिपिस १० रुपैयाँ रहेको छ । कोभिडको संक्रमणबाट जोगिनका लागि मास्क अनिवार्य रूपमा लगाउनुपर्ने भएकाले पनि बजारमा यसको खपत बढ्दै गएको छ ।
अघिल्लो वर्ष मास्क अभाव भएर प्रतिपिस २५ देखि ३० रुपैयाँसम्म बिक्री भएको थियो । व्यवसायीले खुद्रा मूल्यमा प्रतिमास्क १० रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।
उद्योगीहरूबाट २ रुपैयाँ ५० पैसामा किनेको मास्क खुद्रा बजारमा १० रुपैयाँमा बिक्री गर्दा उपभोक्ताले महँगो तिर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्