Logo

प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

–बाग्मतीको योगदान एक तिहाई
– कर्णालीको पाँच प्रतिशतभन्दा कम
–लुम्बिनीको एक प्रतिशतमा स्थिर
– प्रदेश–२ को ४३ अर्ब घट्ने


राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सकारात्मक हुने उल्लेख गर्दै अनुमानसहित विवरण सार्वजनिक गरेपनि निषेधाज्ञाका कारण पूरा नहुने भएको छ ।
गत वर्षको लकडाउनपछि आर्थिक गतिविधिमा सुधार आएको र १५ दिन मात्र निषेधाज्ञा हुने आंकलनसहित चालू वर्षमा आर्थिक वृद्धिदर बढ्ने अनुमान विभागले सार्वजनिक गरेपनि निषेधाज्ञा अवधि बढ्दै जाने अवस्थासँगै अनुमान पूरा नहुने भएको हो । सरकारले चालू वर्षमा जीडीपी ४२ खर्ब ६६ अर्ब पुग्ने र आर्थिक वृद्धिदर ४ दशमलब शून्य १ प्रतिशत हुने अनुमान गर्दै त्यसकै आधारमा सातै प्रदेशले चालू वर्षमा जीडीपीमा गर्ने योजना सार्वजनिक गरेको छ । गत वर्ष सात प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक थियो । तथ्यांक विभागका निर्देशक इश्वरी भण्डारी राष्ट्रिय रुपमा सार्वजनिक गरिएको जीडीपी र आर्थिक वृद्धिदरको आधारमा प्रदेशको पनि विवरण सार्वजनिक गरिउको बताउँदै बदलिँदो परिस्थितीले यसमा प्रभाव पार्न सक्ने बताउँछन् । ‘१५ दिनभन्दा बढी निषेधाज्ञा हुँदैन भन्ने आधारमा जीडीपी र आर्थिक वृद्धिदरको अनुमान गरेका थियौं र यो अवधि बढ्ने देखिएपछि यसले असर त निश्चित नै गछर्,’ उनले भने ।
२१ आर्थिक कृयाकलापलाई १८ कृयाकलापमा समावेश गरी नौ महिनाको आधारमा प्रस्तुत विवरण अनुसार प्रदेशहरुमध्ये जीडीपीमा सबैभन्दा बढी योगदान बाग्मती प्रदेशको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको छ । विभागका अनुसार, चालू वर्षमा सबैभन्दा बढी वाग्मती प्रदेशको जीडीपी आकारमा आधारमा १ खर्ब ५४ अर्ब बढ्दैछ भने प्रदेश २ को ४३ अर्ब घट्ने अनुमान छ । प्रतिशतको आधारमा भने विगत तीन वर्षदेखि लुम्बिनी प्रदेशको योगदान स्थिर १४ प्रतिशत छ । निर्देशक भण्डारी अन्य क्षेत्रको आर्थिक वृद्धिसँगै लुम्बिनी प्रदेश अघि बढेकोले स्थिर हुन सक्ने बताउँछन् ।
उत्पादन उपभोक्ताको मूल्यमा आर्थिक वर्ष २०७५÷०७६ मा जीडीपीमा १४ खर्ब ६२ अर्ब अर्थात ३७.९ प्रतिशत योगदान गरेको वाग्मती प्रदेशले चालू वर्षमा सबैभन्दा बढी १६ खर्ब ८ अर्ब अर्थात ३७.७ प्रतिशत योगदान दिने अनुमान छ । गत वर्ष जीडीपीमा १४ खर्ब ५४ अर्ब अर्थात ३७.२ प्रतिशत योगदान थियो । विभागका अनुसार, गत वर्ष ३.६ प्रतिशत ऋणात्मक रहेको बाग्मती प्रदेशको चालू वर्षमा सुधार आई ४.७ प्रतिशत हुने अनुमान गरिएको छ ।
बाग्मतीपछि जीडीपीमा सबैभन्दा धेरै योगदान प्रदेश–१ बाट हुने अनुमान विभागको छ । २०७५÷०७६ ५ खर्ब ९९ अर्ब अर्थत १५.५ प्रतिशत योगदान गरेको सो प्रदेशले गत वर्ष ६ खर्ब १२ अर्ब अर्थात १५.६ प्रतिशत गरेकोमा चालू वर्षमा ६ खर्ब ६४ अर्ब अर्थात १५.६ प्रतिशत योगदान गर्ने अनुमान छ । गत वर्ष १.२ प्रतिशत ऋणात्मक रहेकोमा वृद्धिदर सुधार आई ३.६ प्रतिशत कायम हुने अनुमान विभागको छ ।
विभागले प्रदेश–१ पछि लुम्बिनी प्रदेशको सबैभन्दा बढी योगदान हुने अनुमान गरेको छ । २०७५÷०७६ ५ खर्ब ४० अर्ब अर्थात १४ प्रतिशत योगदान गरेको लुम्बिनीले गत वर्ष पनि ५ खर्ब ५० अर्ब अर्थात (१४.० प्रतिशतनै योगदान दिएको विभागले जनाएको छ । चालू वर्षमा पनि जीडीपीको आधारमा केही वृद्धि ५ खर्ब ९६ अर्ब अर्थात प्रतिशतमा समान १४.० प्रतिशत योगदान रहने विभागको अनुमान छ । गत वर्ष १.८ प्रतिशत ऋणात्मक रहेको आर्थिक वृद्धिदर भने यस वर्षमा सुधार आई ३.९ प्रतिशत कायम हुने विभागको अनुमान छ ।
विभागका अनुसार, २०७५÷०७६ ५ खर्ब ०३ अर्ब अर्थात १३ प्रतिशत योगदान गरेको प्रदेश–२ ले गत वर्ष ५ खर्ब ६२ अर्ब अर्थात १३.३ प्रतिशत जीडीपीमा योगदान गरेको थियो । चालू वर्षमा भने जीडीपीको आकार घटेर ५ खर्ब १९ अर्ब हुने र वृद्धिदर पनि झिनो घटेर १३.२ प्रतिशत कायम हुने विभागको अनुमान छ । गत वर्ष १.६ प्रतिशत ऋणात्मक रहेको आर्थिक वृद्धिदर यस वर्ष सुधार भई ३.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
यसैगरी २०७५÷०७६ ३ खर्ब ४० अर्ब अर्थात ८.८ प्रतिशत योदान दिएको गण्डकी प्रदेशले गत वर्ष ३ खर्ब ४४ अर्ब अर्थात ८.८ प्रतिशतनै योगदान दिएको विभागले जनाएको छ । चालू वर्ष ३ खर्ब ७२ अर्ब अर्थात ८.७ प्रतिशत जीडीपीमा योगदान दिने अनुमान गरेको गण्डकीको गत वर्ष १.७ प्रतिशत ऋणात्मक रहेकोमा आर्थिक वृद्धिदर सुधार भएर ३.६ प्रतिशत पुग्ने अनुमान विभागको छ ।
चालू वर्षमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको योगदान जीडीपमिा ४ प्रतिशत रहने विभागको अनुमान छ । विभागका अनुसार, चालू वर्ष १ खर्ब ७२ अर्ब योगदान रहने अनुमान गरेको कर्णालीको २०७५÷०७६ १ खर्ब ५१ अर्ब अर्थात ३.९ प्रतिशत तथा गत वर्ष १ खर्ब ६१ अर्ब अर्थात ४.१ प्रतिशत योगदान थियो । गत वर्ष सकारात्मक ०.७ प्रतिशत आर्थिक वृद्धिदर रहेको यस प्रदेशको चालू वर्षमा भने बढेर ३.६ प्रतिशत पुग्ने अनुमान छ ।
२०७५÷०७६ २ खर्ब ६० अर्ब अर्थात ६.८ प्रतिशत योगदान रहेको सुदूरपश्चिम प्रदेशले गत वर्ष २ खर्ब ७४ अर्ब अर्थात ७.० प्रतिशत जीडीपीमा योगदान गरेकोमा चालू वर्ष २ खर्ब ९४ अर्ब अर्थात ६.९ प्रतिशत योगदान रहने अनुमान विभागको छ । विभागका अनुसार, गत वर्ष सकारात्मक ०.६ प्रतिशत आर्थिक वृद्धिदर रहेको यस प्रदेशको यस वर्षमा सुधार आई ३.४ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने अनुमान छ ।


प्रदेश आर्थिक वृद्धिदर (प्रतिशतमा)
बाग्मती ४.७
प्रदेश–१ ३.६
लुम्बिनी ३.९
प्रदेश–२ ३.६
गण्डकी ३.६
कर्णाली ३.६
सुदूरपश्चिम ३.४
स्रोतः राष्ट्रिय तथ्यांक विभाग

प्रदेश जीडीपी (खर्बमा)
बाग्मती १६.०८
प्रदेश–१ ६.६४
लुम्बिनी ५.९६
प्रदेश–२ ५.६२
गण्डकी ३.७२
कर्णाली १.७२
सुदूरपश्चिम २.९४
स्रोतः राष्ट्रिय तथ्यांक विभाग

प्रतिक्रिया दिनुहोस्