Logo

मालिकाको प्राथमिकता आर्थिक विकास

प्रदेश : लुम्बिनी
अध्यक्ष : रीतबहादुर थापा
उपाध्यक्ष : देवा अर्याल
प्रमुख प्रशासकीय अधिकृत : दीपक भण्डारी
जिल्ला : गुल्मी
गाउँपालिका : मालिका
वडा नं. : ८
गाउँपालिकाको क्षेत्रफल : ९२.४९ वर्गकिलोमिटर
घरधुरी : ५ हजार २ सय ४२ .
जनसंख्या : २१ हजार ७५
पुरुष : ९ हजार ६ सय ५४
महिला : ११ हजार ४ सय २१
सिमाना
पूर्व : इस्मा गाउँपालिका
पश्चिम : मदाने गाउँपालिका
उत्तर : बागलुङ
दक्षिण : मदाने गाउँपालिका

मालिकाको विकास र मालिकावासीको सेवा गर्न साढे तीन वर्षअघि निर्वाचनमा होमिएका उनको लक्ष्य ‘कृषि, पशु, स्वास्थ्य, शिक्षा र पर्यटन पूर्वाधारको रचना– सम्पन्न शाली सुन्दर मालिकाको रचना’ थियो । आफ्नो लक्ष्यअनुसार उनी विकासका पूर्वाधारहरूलाई साथमा राखेर अगाडि बढे । गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपुर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस मालिका मन्दिरको नामबाट ‘मालिका गाउँपालिका’ नामकरण गरिएको हो । आर्थिक विकासका क्षेत्रहरू प्राथमिकतामा राखेर अगाडि बढिएको छ ।
जिल्लाको सदरमुकामबाट ४० किलोमिटर टाढा गाउँपालिकाको केन्द्र मालिका निर्वाचन हुने वरिपरिको समयमा अत्यन्तै दुर्गम थियो । गाउँगाउँसम्म सडक थिएनन् । भएका सडकहरू वर्षायाममा चिराचिरा परेर गाउँ र सदरमुकामको सम्बन्धविच्छेद हुन्थ्यो । एक झर पानी परे सवारी चल्न मुस्किल पथ्र्याे । साँघुरा सडक थिए । दुवैतिरबाट सवारी एक ठाउँमा भेट भए गाडी पास गराउन घण्टौँ समय बिताउनुपर्ने बाध्यता मालिकावासीमा थियो । यस्तो अवस्था सिर्जना भएका कारण सडक फराकिलो बनाउँदै १२ महिना चल्ने गरी काम अगाडि बढाएका उनी अर्को वर्ष सफल भए ।
अहिले १२ महिना निरन्तर गाउँपालिकाका सबै वडामा सवारी मज्जासँग चल्ने गाउँपालिका अध्यक्ष थापाले बताए । गाउँपालिकाले यातायातको पहुँचका लागि मालिका रिङरोडको ट्र्याक खोलेको छ । यसले सबै वडामा यातायातको सहज पहुँच पु-याउनेछ, जसले तीनवटा राष्ट्रिय राजमार्गलाई छोएर वडा जोडेको छ । खुल्दै नखुलेको ठाउँमा सडकका ट्र्याक खुलेका छन् ।
मालिकाका केही वडामा केही वर्षपहिले फोनमा सहज कुराकानी र नेटको पहुँच थिएन । रेडियोबाहेकका सञ्चारमाध्यमसँग उनीहरू जोडिएका थिएनन् । यस्तो समस्या भोग्दै आएका मालिकावासीलाई उनको निरन्तर प्रयासले डेढ वर्षपछि नेपाल टेलिकमको टावर राख्न सफल भएपछि गाउँपालिकाका सबै वडामा अहिले सहज नेट र नेटर्वकको पहुँच पुगेको छ ।
गाउँपालिकाका केही भेगबाहेक प्रायः ठाउँमा केन्द्रीय बिजुली पुगेको छ । उज्यालोबाट वञ्चित भएका मालिकावासीलाई केन्द्र र प्रदेश सरकारसँग पहल गरी केन्द्रीय प्रशारणको लाइन ल्याएको अध्यक्ष थापाले बताए । अर्को वर्ष सबै ठाउँमा केन्द्रीय प्रशारणलाइनको बिजुली पुग्नेछ ।
स्वास्थ्यचौकीमा सिटामोल नपाउने अवस्था सिर्जना हुने मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मारेको उनी बताउँछन् । स्वास्थ्यचौकीमा कर्मचारी भर्ना, सामुदायिक स्वास्थ्य एकाइको स्थापना, स्वास्थ्यचौकीका सुविधासम्पन्न भवनहरू चुनावी प्रतिबद्धतासहित पूरा गरेको उनले बताए । आँखाको मोतियाबिन्दुको समस्या देखिएका बिरामीको पहिचान, अप्रेशन र उपचार शिविरमार्फत गरिएको जसमा १ सय ३६ जनाले पुनर्जन्म पाएका छन् । पाठेघर र मुटु रोगीहरूको पहिचान र उपचारका लागि शिविर चलाइएको छ ।
स्वास्थ्यको क्षेत्रमा हरेक नागरिकको स्वास्थ्य प्रत्यक्ष निगरानी गरी सहायता दिइरहेको गाउँपालिकाले चुनावी प्रतिबद्धतासहित काम पूरा गरेको अध्यक्ष थापाको भनाइ छ । २ वटा वडामा शून्य होम डेलिभेरी घोषण गरिएको छ । कुनै पनि वडामा गर्भवती महिला सुत्केरी हुन स्वास्थ्यचौकी पुग्नु अनिवार्य रहेको छ । कोभिड–१९ को महामारीमा मालिकावासीलाई बचाउनका लागि ५ बेड क्षमतामा निर्माण गरिएको वडा नम्बर ६ मा रहेको अस्पताललाई १३ बेडमा स्तरोन्नति गरिएको छ, जसमा अक्सिजनसहितको व्यवस्था मिलाइएको छ । गत वर्ष कोरोनाका कारण भएको लकडाउनमा २ हजार ७ सय २९ जनालाई राहत वितरण गरेको गाउँपालिकाले भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राखी कोभिड १९ फैलिनबाट रोक गरेको थियो ।
गाउँपालिकामा खरको छानामुनि बसेका नागरिकलाई जस्तापातामा बदल्ने चुनावी प्रतिबद्धतासहित काम गरिएको छ । अहिलेसम्म गाउँपालिकाभित्रका १ हजार ६ सय खरको छानो भएका घरलाई रूपान्तरण गरिसकिएको छ । यो आर्थिक वर्षमा थप ७ सय घरधुरीलाई खरको छानोबाट विस्थापित जस्तापातामा स्थापित गर्ने योजना गाउँपालिकाको रहेको छ । चुनावमा मुख्य नारा बनेको ‘एक घर एक धारा’ कार्यक्रममा २ हजार ५ सय ७३ घर समेटिएका छन् । बाँकी घरहरू यो आर्थिक वर्षमा समेटिने र छुटफुट अर्को आर्थिक वर्षमा पूरा गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाभित्रका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका सबै विद्यालयमा अनुदान कोटाको सिर्जना गरेर निजी स्रोतमा शिक्षक राख्नुपर्ने बाध्यताको अन्त्य गरिएको छ । चुनावी नाराअनुसार गाउँपालिकाभित्र प्राविधिक शिक्षाको व्यवस्था मिलाइएको छ । सबै विद्यालयमा केन्द्र र प्रदेश सरकारको सहयोग र गाउँ सरकारको सहकार्यमा विद्यालय भवन निर्माण गरिएको छ ।
गाउँपालिका कृषि र पशुपालनमा आत्मनिर्भर बन्नका लागि उद्यम गर्न चाहनेहरूका लागि ब्याज अनुदानमा ऋण उपलब्ध गराइएको छ । ५० हजारदेखि ७ लाखसम्म दिइएको ब्याज अनुदानमा ऋण लैजाने कार्यक्रममा ३० जना समेटिसकेका छन् । गाउँपालिकालाई बाख्रा विकास कार्यक्रम, आलु जोन, मकै जोन, कागती जोनका रूपमा अगाडि बढाइएको छ । गाउँपालिकाभित्र २२ हजारभन्दा बढी दाँते ओखरका बिरुवा रोपण गरिएको छ ।
पर्यटनको विकासका लागि गाउँपालिकाले देउराली डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरी १५ दिने महोत्सवसमेत सञ्चालन गरेको छ । तत्काल निजी क्षेत्रसँग समन्वय गरी प्याराग्लाइडिङलाई निरन्तर चलाएर पर्यटकीय क्षेत्रका रूपमा मालिकालाई अगाडि बढाउनेप्रति गाउँपालिका प्रतिबद्ध रहेको छ । प्रत्येक वडामा खेल मैदान बनेका छन्, बनिरहेका छन् । गाउँपालिकाको केन्द्रमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माण भइरहेको छ । केन्द्रमा हेलीप्याडको निर्माण भएको छ, जसको स्तरोन्नति हुने काम पनि अगाडि बढिरहेको छ । नौवटा झोलेङ्गे पुलको निर्माण गरिएको छ । एउटा आकाशे पुलको निर्माणका लागि टेन्डर आह्वान भएको छ ।
गाउँपालिकाको नेटा लिलिङमा प्रारम्भिक अध्ययनको समयमा तामा, सिसा, जिङ्क र कोबाल्ट खानीको सम्भावना देखिएकाले केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरी उत्खनन गर्ने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्