Logo

स्वास्थ्य संकटकाल घोषणा गर्न ध्यानाकर्षण


नेपाल नगरपालिका संघले स्वास्थ्य संकटकाल घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । देशभरका २ सय ९३ वटा नगरपालिकाको नेतृत्वदायी संस्था नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले मुलुकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी नागरिकको जीउज्यान सुरक्षाका उपाय अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।
संघले महामारीको अवस्था हेरी सम्पूर्ण स्थानीय तहमा स्वास्थ्य संकटकाल घोषणा गरी स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न र स्थानीय तहमा सोहीबमोजिमको अतिरिक्त बजेटको समेत व्यवस्था गर्न भनेको छ । संघका अध्यक्ष ब्याञ्जुले संक्रमण रोकथाम संघ सरकारको एकल अधिकार भए तापनि स्थानीय तह र प्रदेश सरकारबीच सहकारिता र समन्वय गरी अधिकार बाँडफाँट गर्न कानुन बनाउन माग गर्दै जिल्ला सदरमुकाममा रहेका स्थानीय तहमा सरुवा रोग नियन्त्रण अस्पतालको यथाशीघ्र स्थापना गरी प्रभावकारी सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन् । यसैगरी उनले स्थानीय तहहरूले कोभिड–१९ रोकथाम र नियन्त्रण कार्यमा समानीकरण अनुदानबाट खर्च गर्न नेपाल सरकारले परिपत्र गरेकाले सोबाट प्रभावित सेवा प्रवाह र विकास कार्यका लागि सोध भर्ना उपलब्ध गराउनसमेत उल्लेख गरेका छन् ।
सबै नागरिकलाई खोपको व्यवस्था सुनिश्चित गर्ने र सबैको पहुँचमा पु¥याउन तथा दिगोपनाका निम्ति तीनै तहको सरकारको आर्थिक साझेदारी गर्ने, नगर र गाउँपालिकामा नगरपालिकाको नेतृत्वमा स्वास्थ्य सेवामा सबै काम एकीकृत योजना तर्जुमा गरी साझेदारी रूपमा प्रभावकारी कार्यान्वयन गर्ने, उनले भनेका छन्, नेपाल र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत विनियोजन भई खर्च नभएको रकम कोभिड–१९ नियन्त्रणमा स्थानीय तहमार्फत खर्च गर्न, सबै नागरिकको कोभिड बिमा गर्ने व्यवस्था मिलाउन र स्वास्थ्य सेवाकर्मीलाई प्रोत्साहन स्वरुप विशेष सुविधा दिई उच्च मनोबलका साथ परिचालन गर्नुपर्छ ।
यसैगरी प्राथमिक स्वास्थ्य सेवा गुणस्तरयुक्त बनाउन स्थानीय तहले सबै स्थानीय तहमा स्वस्थ्य सहर, गाउँपालिकाको अवधारणा अनुरुप रणनीति बनाइ काम थालनी गर्ने, सेना प्रहरी र कर्मचारी एवं जनप्रतिनिधिको सेवा लिने आवश्यक संयन्त्र निर्माण गर्न संघले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल सरकार र स्थानीय तहले महामारी नियन्त्रणमा निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिदै संघले कोभिड–१९ व्यवस्थापनमा प्रभावकारी कार्ययोजना ल्याउन पनि ध्यानाकर्षण गराएको छ ।

चिकित्सक संघद्वारा रेड अलर्ट जारी
यसैगरी नेपाल चिकित्सक संघलेसमेत कोभिड–१९ महामारीको सम्बन्धमा रेड अलर्ट जारी गरेको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि चिकित्सक संघले नागरिकको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको निष्कर्षका साथ बुधबार देशभर रेड अर्लट घोषणा गरेको हो । बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै संघले सरकार, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र सर्वसाधारणलाई एकजुट भएर महामारीविरुद्ध लड्न अपिल पनि गरेको छ । संक्रमितहरू अस्पताल आउन नपाएको, आएकालाई अस्पतालले फर्काएको, बचाउन सक्ने अवस्था हुँदाहँुदै अक्सिजन अभावमा बिरामीको ज्यान जाने गरेकालगायत हृदयविदारक दृश्य देखिनु निकै पीडादायी भएको भन्दै संघले नागरिकको जीवन रक्षाभन्दा ठूलो अरु नभएको तर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
संघले कोभिडको पहिलो लहरमा नै आवश्यक स्वास्थ्य व्यवस्थाका तयारी नगर्ने हो भने भयावह अवस्था आउन सक्छ भनेर निरन्तर झकझकाइरहे पनि सरकार, राजनीतिक दललगायत सरोकारवाला गम्भीर नबन्दा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेको जनाएको छ । संघका महासचिव डाक्टर बद्री रिजालले महामारी भयावह बन्दै गएकाले राजनीतिक जोडघटाउलाई बन्द गरी सरकारसंँगै सबै वर्ग र तप्का महामारीविरुद्धको लडाइँमा एकजुट हुन आह्वान गरिएको बताए । उनले महामारीमा नागरिकको जीवन रक्षा गर्न संघले देशभर रेर्ड अलर्ट जारी गरी सबैलाई कोभिडविरुद्धको लडाइँमा एकत्रित हुन अपिल गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्