मानव सेवा आश्रमका बिरामीलाई खाना खुवाउन समस्या «

मानव सेवा आश्रमका बिरामीलाई खाना खुवाउन समस्या



पोखरामा रहेको मानव सेवा आश्रममा हाल करिब एक सयजना मानसिक रोगीका बिरामी छन् । विगत तीन वर्षअघि पोखरामा स्थापना भएको आश्रममा एक सयजना मानसिक रोगीका बिरामीसहित अन्य विपन्न र गरिब परिवारका गरी १ सय ५५ जना व्यक्ति आश्रित रहेको मानव सेवा आश्रम कास्कीका संयोजक राजन सापकोटाले बताए ।
आश्रममा ५५ महिला, ९७ जना पुरुष र ८ जना बालबालिका रहेको उनले जनाए । हरेक छाक खाना खुवाउँदा करिब १५ हजार मूल्य बराबरको व्ययभार हुने बताएका सापकोटाले मासिक आश्रम व्यवस्थापनमा ८÷९ लाख खर्च लाग्ने जनाए । आफूहरूले विभिन्न कारणले गर्दा सडक पेटिमा आएका र आर्थिक अवस्था निकै कमजोर भएका परिवारको सदस्यका लागि लक्षित गरी आश्रम सञ्चालन गर्दै आएको संयोजक सापकोटाले बताए । लागू औषधको कुलतमा लागेकालाई समेत पैसा तिरेर केहीले आश्रममा राख्न खोजेकाले उनीहरूलाई आफूहरूले राख्न नदिएको उनले जनाए । दुव्र्यसनमा फसेका युवा÷युवतीलाई आश्रममा राखेर सुधार पश्चात घर फर्काउने काम सफल भएको सापकोटाले जनाए ।
सडक पेटिमा आएकादेखि आर्थिक अवस्था कमजोर भएका र मानसिक रोगीका बिरामीसमेत भएकाले हाल आफूहरूले एकजना अहेव, एकजना स्टार्फ नर्ससहित दुईजना स्वाथ्यकर्मीलाई चौबिसै घण्टा रेखदेखका लागि राखिएको उनले बताए ।
दोस्रो लहरको कोरोना बढ्दै जाँदा बजारमा चहलपहल ठप्प जस्तै भएकाले सहयोगी दातासमेत निकै कम भएकाले आश्रममा रहेकाको व्यवस्थापनमा समस्या आउने होकि भन्ने संयोजक सापकोटाले चिन्त्ता व्यक्त गरेका छन् । उनले भने, “हिजो आज बजार प्रायः कोरोनाले गर्दा शून्यजस्तै भएको छ, यस्तो अवस्थामा केही दाताले अनलाइन र ईपेबाट सहयोग पठाउनु भएको छ, हामीसँंग करिब एक महिनालाई पुग्ने खाद्य सामग्री छ, यही अवस्थामा निषेधाज्ञाको समय सीमा बढे हामीलाई निकै कठिन हुनसक्छ ।” ३ वर्षअघि पोखरा छोरेपाटनमा स्थापना भएको उक्त शाखाको हाल पोखरा २५ हेमजा शाखामा हाल ४० जना आश्रित भएको उनले जनाए । आश्रमको पोखरामा शाखा विस्तार गरेसँंगै हालसम्म २ सय ५० जनाको पारिवारिक मिलनसमेत गराइएको सापकोटाले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्