सडकमा चाप बढेपछि अनुगमनमा निस्किए सीडीओ «

सडकमा चाप बढेपछि अनुगमनमा निस्किए सीडीओ

कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौंले विहिबार सवारी अनुगमन गरेको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका अधिकारी सहितको टोलीले सवारी आवागमनको स्थलगत निरीक्षण गरेको हो । निषेधाज्ञामा काठमाडौका सडकमा उल्लेख्य मात्रामा सवारी साधन सञ्चालन हुन थालेपछि सवारी पासको दुरुपयोगको अनुसन्धान गर्न टोली स्वयम्र सडकमा निस्किएको हो ।
अनुगमनको क्रममा सवारी पासको दुरुपयोग गरेको पाइएको महानगरिय प्रहरी परिषरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । सवारी साधनहरुले अस्पतालको पास अगाडि राख्ने र भित्र अरुनै सामग्री राखेर सुरक्षा निकायलाई झुक्याएको भेटिएको उनले बताए । उनले सुरक्षाकर्मीलाई झुक्याएर सवारी पासको दुरुपयोग गर्ने र अनावश्यक रुपमा आवागमन गर्नेहरुमाथि चेकजाँच गरी कारवाही गरिने बताए । उनले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई गरिने बताए ।
सुरक्षा निकायका अधिकारी सहितको जिल्ला प्रशासन कार्यालय काठमाण्डौको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, कोटेश्वर, नयाँबानेश्वर बबरमहल, सोह्रखुट्टे लगायत स्थानको अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्