सेनिटाइजरमा कालोबजारी गर्ने औषधी पसल कारबाहीमा «

सेनिटाइजरमा कालोबजारी गर्ने औषधी पसल कारबाहीमा

सुनसरी स्थित इटहरीका औषधी पसलमा जनगुनासो बढ्दै गएपछि इटहरीमा रहेका मेडिकल तथा औषधी पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले अनुगमन गरी कारबाही पनि गरेको छ ।
स्वास्थ्य सामग्री सेनिटाइजर र मास्कमा चरम कालोबजारी भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगर र इलाकाप्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले इटहरीका ३ मेडिकलमा अनुगमन गरेको हो । ३ वटा मध्ये दुइटा मेडिकल विविता सर्किजलहाउस र होम्ताङ आयुर्वेदिक औषधालय पोलिक्लिनिक कारबाहीमा परेका थिए ।

अनुगमनको क्रममाबजार मूल्यभन्दा बढी मूल्यमा स्यानिटाइजर बिक्री गरेको भन्दै अनुचित व्यापारिक क्रियाकलाप कसुरमा विविता सर्किजल हाउसलाई कारबाही गरिएको उपभोक्ता संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले कारेबारलाई जानकारी दिए ।
यो मेडिकल पसलले भारतमा उत्पादन भएको स्यानिटाइजर नेपाल ल्याएर १०० प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गरेको पाइएको उनले बताए । उनले फेरि भने खरिद गरेको बिलमा २० प्रतिशतमात्र नाफा लिएर बिक्री गर्न पाइन्छ ।

इटहरीमा रहेको स्यानिटाइजरको थोक बिक्रेता विविता सर्किजल हाउसले भारतीय बजारबाट ३९.३० रुपैयाँमा खरिद गरेको स्यानिटाइजर ८० रुपैयाँमा बिक्री गरेको फेलापारे पछि त्यस मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरी नगददुई लाख जरिवाना गरिएको पोखरेलले जानकारी दिए ।

यस्तै कम्पनीको नाम एउटा भए पनि फरक–फरक नाम राखेर बिलबिजक गर्ने गरेको, कम्पनी होलसेल तथा सप्तार्यस भने पनि खुद्रा मूल्यमा अधिकतम नाफा राखेर सेनिटाइजर बिक्री गर्ने गरेको भन्दै होम्ताङ्ग औषधालय पोलिक्लिनिकलाई कारबाही गरिएको छ । त्यस मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बिलबिजक जारी नगरेको कसुरमा कारबाही गरिएको उनले बताए ।

ऐनबमोजिम पोलिक्लिनकलाई ३० हजार जरिवाना गरिएको छ । यस्तै इटहरी मेडिकल हलले खरिद र बिक्री मूल्यबीचको अन्तर कानुनबमोजिम २० प्रतिशत राखेकाले कुनै कारबाही नगरिएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्