Logo

गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा



गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्बाइएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको प्रयासका लागि बैशाख ३१ गतेराती १२ बजेदेखी जेठ १५ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । गोरखा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले दुई साता निषेधाज्ञा थप गरेका हुन् ।
निषेधाज्ञाको अबधिमा निर्माण सामग्रीका पसल बेलुकी ७ बजेदेखि ९ बजेसम्म खोल्न दिइने भएको छ । बैठकले निर्माण सामाग्री ढुवानीका सवारी साधन बेलुकी ७ बजेदेखि विहान ५ बजेसम्म मात्र आवातजावात गर्न दिने पनि निर्णय गरेको छ । यस्तै, गोरखाका बैंक तथा वित्तीय संस्था बन्द गरिने भएको छ । गोरखा नगरपालिकाभित्रका बैंकहरू जेठ १ गतेदेखि ७ गतेसम्म सम्पर्कका आधारमा आकस्मिक सेवा बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय भएको छ । अन्य पालिकाका हकमा सम्बन्धित पालिकाले गरेको निर्णयअनुसार बैंक संचालन हुनेछन् । यस्तै, सहकारी, लघुवित्त, बिमा लगायतका वित्तिय संस्थाका सम्पूर्ण सेवा पनि जेठ १ गतेदेखी बन्द गरिने भएको छ । बैठकले निषेधाज्ञाको अबधिमा अन्य जिल्लाबाट हुने तरकारी ढुवानी रोक्ने पनि निर्णय गरेको छ ।
निषेधाज्ञाको अबधिममा दैनिक उपभोगय खाद्यान्न, कृषिजन्य र पशुपंक्षीको दाना पसल दैनिक ४ घन्टामात्र खोल्न पाइने भएको छ । औषधि पसल बाहेक अन्य अत्याबश्यक पसलहरू विहान ५ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भएकोे हो । दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दूध दही, माछा मासु, कृषिजन्य वउविजन, मल, पशुपन्छीको दाना विक्रि वितरण गर्ने पसल र वर्कसप दैनिक ४ घन्टामात्र खोल्न दिने निर्णय भएको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गरी ब्यबसाय सञ्चालन गर्नुपर्ने बैठकले निर्णय गरेको हो । निर्णय अनुसार औषधि पसल २४ घन्टा नै खुल्ला रहनेछ । अत्याबश्यक काम बाहेक घर बाहिर ननिस्कन बैठकले जिल्लाबासीलाई आग्रह गरेको छ ।
निषेधाज्ञा अबधिमा रोक लगाएका गतिविधी गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
गोरखा सदरमुकाममा आइसोलेसन निर्माणको जिम्मा गोरखा नगरपालिकालाई
गोरखा सदरमुकाम क्षेत्रमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र निर्माण, सञ्चालन र व्यवस्थापनको जिम्मा गोरखा नगरपालिकालाई दिइएको छ । गोरखा जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रले बिहीबार बसेको बैठकले विभिन्न राजनीतिक दल तथा संस्थाबाट आइसोलेसन निर्माणका लागि प्राप्त भएका भवनमा आवश्यकता, चिकित्सकीय एंव प्राविधिक उपयुक्तताको आधारमा आइसोलेसन निर्माण, सञ्चालन र ब्यबस्थापनको जिम्मा गोरखा नगरपालिकालाई दिएको हो ।
सो आइसोलेसनमा चिकित्सकिय सेवा गोरखा अस्पतालबाट र सुरक्षा जिल्ला सुरक्षा समितिका तर्फबाट हुनेछ । बैठकले आइसोलेसन केन्द्र बनाउनका लागि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशसँग ५० लाख रुपैयाँ माग गरेको छ । प्रदेशबाट रकम प्राप्त नभएसम्म आइसोलेसन निर्माण, सञ्चालन र ब्यबस्थापनको जिम्मा गोरखा नगरपालिकाले नै लिने भएको छ । जिल्ला सदरमुकाममा आइसोलेसन बनाउनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र गोरखा उद्योग वाणिज्य संघले आबश्यकता अनुसार आफ्नो भवन प्रयोग गर्न गोरखा जिल्ला स्तरीय कोभिड १९ संकट ब्यबस्थापन केन्द्रलाई अनुमति दिईसकेका छन् ।
बैठकले जिल्लाका निजी अस्पतालले कोभिडका विरामीको उपचारका लागि बनाएको आइसोलेसनमा आबश्यकता अनुसार जनशक्ति, मेशीनरी औजार, बेड तथा स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने पनि निर्णय गरेको छ । आइसोलेसन केन्द्रमा परिचालन हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अन्य कर्मचारीलाई जोखिम भत्ता ब्यबस्थापनका लागि गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्