टेलिकमले निषेधाज्ञाभरि रिचार्जमा डाटा बोनस उपलब्ध गराउने «

टेलिकमले निषेधाज्ञाभरि रिचार्जमा डाटा बोनस उपलब्ध गराउने

नेपाल टेलिकमले कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था विषम परिस्थितिलाई मध्यनजर गरी वैशाख ३१ देखि १ महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरका रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यस अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । दैनिक रुपमा एक पटक मात्र सो प्याक खरिद गर्न सकिनेछ । यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने भएकोले सो समयअघि पछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यु गो उपयोग हुने कम्पनीले जनाएको छ ।
यस अवधिमा एमपोस अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराइनेछ । २०० देखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराइने छ र सो डाटा २ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी ५ सय रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइने छ र सो डाटा ४ दिन भित्र प्रयोग गर्न सकिनेछ ।
यी अफरहरु फोरजी नेटवर्कमा प्रयोग गरी तीब्र गतिको डाटा प्रयोग गर्ने अवसरको सदुपयोग गर्न सकिने पनि कम्पनीले जनायो ।

प्रतिक्रिया दिनुहोस्