Logo

गोर्खा अस्पतालमा कोभिड आइसोलेसन सञ्चालन गर्ने

क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्बर १७ बीच सहमति भएको छ ।
कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालनसम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरले बिहीबार बिहान हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि उपस्थिति रहेको थियो ।
उक्त आइसोलेसन केन्द्र आगामी आइतबारबाट संचालनमा आउनेछ भने सेन्टरमा प्रारम्भमा जम्मा ५० बेड रहने छन् र आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय बेडसम्म पुर्याइने गोल्छाले बताए । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइसोलेसनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड विरामीहरूलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइसोलेसन सेवा प्रदान गरिने छ ।
केन्द्रअन्तर्गत आइसोलेसनमा रहेका बिरामीहरूलाई आपतकालिन रूपमा अक्सिन दिनुपर्ने भएमा अक्सिन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा बिरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्थासमेत हुनेछ ।
आपसी सहमतिअनुसार महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयम् सेवकको नियुक्ति एवं परिचालन गर्ने, आइसोलेसनमा रहेका बिरामीहरूको रेखदेख, स्याहार सुसार र स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइसोलेसनमा रहेका आपतकालिन वा आकस्किम उपचारको स्थितिमा रहेका बिरामीहरूलाई चिकित्सकको सिफारिसमा सम्बन्धित अस्पतालमा पठाइ उपचारको व्यवस्था मिलाउने छ भने महासंघले कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्रको संचालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने आर्थिक स्रोत रकम जुटाउनेछ ।
केन्द्रका लागि हुने खर्च एवं खर्च रकमलाई पारदर्शी, मितव्ययी र प्रभावकारी ढंगबाट व्यवस्थापन गर्नका लागि महासंघको स्वास्थ्य समितिका सभापति हेमराज ढकालको सभापतित्वमा खरिद एवं खर्च व्यवस्थापन समिति गठन गरिएको र उक्त समितिमा भक्तबहादुर हमाल, रविन श्रेष्ठ, बाबुकाजी कार्की र एक जना चिकित्सक सदस्य रहेको छ ।
सहमतीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीमा सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी संक्रमितहरूको सहयोगार्थ महासंघ र काठमाडौं महानगरपालिका–१७ बीच भएको यो सहमति र सहकार्य ऐतिहासिक हुने बताए । कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालनबाट कोभिड संक्रमित बिरामीहरूलाई ठूलो राहत हुने भन्दै अध्यक्ष गोल्छाले आपसी सहमतीलाई पूर्ण पालना गर्न महासंघको तर्फबाट प्रतिबद्धता जनाए ।
कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन गर्ने कार्यमा समन्वय गरिरहनु भएको महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालले काठमाडौं महानगरपालिका–७ लाई धन्यवाद समेत दि“दै केन्द्र सञ्चालनबाट कोरोना संक्रमण नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष मानन्धरले यो सत्कार्यमा स्वास्थ्य उपचार र दैनिक व्यवस्थापनका लागि महासंघसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै केन्द्रको प्रभवकारी सञ्चालनमा आफू र आफ्नो वडाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्