नेपाल लघुवित्त बैंकर्स संघद्धारा सचेत भई सेवा दिन आग्रह
नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए)ले ग्राहकहरूलाई सक्दो सेवा सुविधा दिन लघुवित्त संस्थाहरूलाई आग्रह गरेको छ । वैशाख २८ गते बसेको संघको कार्यसमितिको बैठकले हालको समयमा ग्राहक सदस्यलाई सक्दो सेवा दिनुपर्ने देखिएकाले संक्रमण जोखिमलाई न्यूनीकरण गर्दै आफ्नो कार्यक्रम सञ्चालन गर्न लघुवित्त संस्थालाई आग्रह गरेको हो ।
लघुवित्त संस्थाहरूलाई निर्देशन दिदै संघले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत नेपाल राष्ट्र बैंकको निर्देशनानुसार कर्मचारी तथा ग्राहक सदस्यको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सतर्कता एवं मापदण्डको पूर्णरुपमा पालना गर्ने गरी उच्च सतर्कताका साथ आवश्यक सेवा प्रवाह गर्न आग्रह गरेको छ ।
साथै, सम्बन्धित जिल्ला तथा स्थानीय निकायले बन्दाबन्दी÷निषेधाज्ञा घोषणा गरेका कुनै पनि स्थानमा केन्द्र बैठक, सदस्य भेटघाट जस्ता भिडभाड हुने तथा संक्रमणको जोखिम हुनेगरी गतिविधि नगर्न, ग्राहक सदस्यलाई चाहिएको आवश्यक सेवा आफु र ग्राहक सदस्यलाई पूर्णरुपमा सुरक्षित हुने गरी प्रदान गर्न तथा सम्भव भएसम्म विद्युतीय माध्यमबाट बचत एवं किस्ता असुली गर्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।
हालको जटिल संक्रमणकालीन अवस्थामा संस्थागत क्षमता अनुरुप ऋणी ग्राहक सदस्यलाई व्याजमा सहुलियत प्रदान गरी सुमधुर व्यवसायिक सम्बन्ध कायम गरि कोभिड १९ को दोस्रो चरणको जटिल अवस्थाका कारण अत्यन्त पिडित संस्थाका सदस्य लगायत निजका परिवार, सर्वसाधारणका घरपरिवार लगायत संक्रमितको उपचारमा संलग्न स्वास्थ्य संस्थाहरू तथा अन्य सम्बन्धित निकायहरूलाई सघाउन ग्राहक संरक्षण कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष लगायतको परिचालनमा प्राथमिकता दिन पनि संघले आग्रह गरेको छ ।