बैंकिङ सेवा स्थगित नहुने «

बैंकिङ सेवा स्थगित नहुने


नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा स्थगित नहुने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीहरूको निर्णयले काठमाडौं उपत्यकाभित्र बिमा, सहकारीजस्ता सेवा स्थगित भइसकेको समयमा बैंकिङ सेवा भने रोक्न नसकिने राष्ट्र बैंकले जनाएको हो । अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ सेवा स्थगित गर्ने विषयमा सोच्न नसकिने भन्दै बरु राष्ट्र बैंकले वैशाख १९ गते दिएको ७ बुँदे निर्देशनको अधिनमा रहेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सेवा सुचारु गर्न बैकहरूलाई निर्देशन दिएको छ ।
कोभिड संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइका साथ पालना गर्न गराउन आग्रह गर्दै राष्ट्र बैंकले प्रत्येक जिल्लामा २५ प्रतिशत शाखा खोल्ने तथा २५ प्रतिशत कर्मचारी बोलाएर सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । महामारीको समयमा उपचार गर्न तथा दैनिक खर्च चलाउन पनि रकम आवश्यक पर्ने भएकाले बैंकिङ सेवा बन्द गर्दा अन्य समस्या आउन सक्ने राष्ट्र बैंकको बुझाइ छ ।
यसैबीच, कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि दुईजना बैंकरको मृत्यु भइसकेको छ भने करिब ३ हजार कर्मचारी संक्रमित छन् । बुधबार माछापुच्छ्रे बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत बंैकर निरज श्रेष्ठको निधन भयो । उनको निधनपछि बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले अनौपचारिक छलफल गर्दै बिमा कम्पनीका शाखा बन्द, सहकारी बन्द, सरकारी कार्यालय पनि बन्द भएको बेलामा बैंकमा के गर्ने भन्ने बहस गरे ।
बढ्दो संक्रमित र मृत्यु दरका कारण अस्पतालहरूले सेवा दिन नसक्ने बताएका कारण पनि बैंकरहरू निराश भएका हुन्, एक बैंकरले बताए ।
हाल विकल्पमा अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, फोनपेका सेवा तथा एटीएम भएका हुनाले यस्तो बेलामा शाखा नै खोल्नु पर्ने बाध्यात्मक अवस्था भने छैन । तर, विदेशबाट पठाएको रेमिटेन्स झिक्नका लागि शाखा खोल्नु अनिवार्य जस्तै छ भने अत्यावश्यक कामका लागि पनि केही शाखा खोल्नै पर्ने बाध्यता पनि छ, उक्त बैंकरले बताए ।

प्रतिक्रिया दिनुहोस्