Logo

राजनीतिक दर्शन देखाउने दाँतमात्रै

कुनै पनि देशको सरकारले उक्त देशका जनताको आर्थिक जीवनस्तर कसरी माथि उठाउन सकिएला भनेर हरसम्भव प्रयास गरिरहेको हुनुपर्छ ।

राजनीतिक नेताहरू प्रायः जनताको कर र चन्दाबाट पालिने साथै सर्वसाधारण जनताको आर्थिक जीवनस्तरभन्दा अलि बढी विलासिताको जीवनशैली देखिने हुँदा प्रायः नेतालाई जनताले राम्रो नजरले हेर्दैनन् । यो स्वाभाविक पनि हो, किनकि नेताको जत्तिको विलासितायुक्त जीवन बिताउन आमजनताले निकै मेहनत गरेर काम गर्दा पनि असम्भव प्रायः हुने गर्छ । त्यसैको कारणले पनि नेताप्रति जनताको नकारात्मक भाव पैदा हुने गर्छ । यसका साथसाथै सरकारले आमजनताका लागि गर्न सक्ने धेरै कामहरू हुन्छन्, तर ती सामान्य कामहरू पनि पूरा गरेर जनताको हितमा काम गर्न नसक्दा पनि नेताप्रति नकारात्मक भाव पैदा हुनु स्वाभाविक मानिन्छ ।
हरेक नेतालाई आफ्ना जनताका लागि केही न केही राम्रो काम गर्न सक्न पाए हुन्थ्यो भन्नेचाहिँ अवश्य लाग्छ, तर अनेकौं समस्याको पहाडले गर्दा ती समस्याहरूको उचित पहिचान र समाधानका उपायहरू पहिल्याउन नसक्दा चाहना केवल चाहनामै सीमित हुन पुग्छन् र जनताबाट निरन्तर तिरस्कृत र गाली खाइरहनुपर्ने हुन्छ । कुनै पनि देशमा जनताका अनेकौं समस्या हुने गर्छन्, ती समस्याहरू आर्थिक रूपले सम्पन्न हुन नसक्नुलाई ठूलो समस्याका रूपमा हेरिने गरिन्छ, साथै जब आर्थिक रूपले कमजोर भइन्छ तब त्यसमा अनेकौं अन्य समस्याहरू थपिएर आउने हुन्छन् । त्यसैले कुनै पनि देशको सरकारले उक्त देशका जनताको आर्थिक जीवनस्तर कसरी माथि उठाउन सकिएला भनेर हरसम्भव प्रयास गरिरहेको हुनुपर्छ ।
यस लेखमा जनताको आर्थिक पाटोलाई कसरी माथि उठाउन सकिएला भन्ने विषयमा आफ्नो तर्क राख्ने कोसिस गरेको छु । कुनै पनि समस्याको उचित समाधान खोज्नुपूर्व उक्त समस्याको सही पहिचान गर्न सक्नुपर्छ, तब मात्र हामीले उचित समाधानका उपायहरू खोजी गर्न सक्छांै । आर्थिक रूपले सम्पन्न हुनु भनेको काम गरेर आएको पैसा चाहे कर्मचारी भएर काम गर्दा आएको होस् वा कुनै व्यवसाय गरेर आउने पैसा होस्, त्यस्तो पैसाले आफूलाई आवश्यक पर्ने सामान र सुविधा खरिद गर्न सक्ने अवस्था हुनु हो ।
अब यसका लागि आवश्यक सामान र सुविधाहरूको उत्पादन गर्नैपर्ने हुन्छ, सरल भाषामा भन्नुपर्दा हामीलाई जे–जे चाहिन्छ, त्यो–त्यो बनाउन सक्नु नै आर्थिक रूपले सम्पन्न हुनु हो । जब हामीलाई आवश्यक पर्ने सामान र सुविधाहरू देशभित्र बनाउन सक्दैनौं भने हामी बाध्य भएर आयात गर्नैपर्ने हुन्छ, जब देशभित्र उत्पादन नगरेर आयात गरिन्छ तब हाम्रो देशमा आवश्यक मात्रामा रोजगारी सिर्जना हुँदैन, साथै आयात गर्दा जनताको नेपाली पैसा राष्ट्र बैंकमा गएर थुप्रिन्छ अनि विदेशी मुद्रा पनि घट्ने हुन्छ, जसका कारणले हाम्रो अर्थतन्त्रको आकार आवश्यक मात्राले वृद्धि हुन सक्दैन र सानो आकारको हुने गर्छ ।
हाम्रो मुख्य आर्थिक समस्याहरू भनेको आफ्नो स्रोत र साधनको उचित प्रयोग गरेर आफूलाई आवश्यक पर्ने सामानहरू बनाउन नसकेर अलमलिनु हो । नेपालमा प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि हामीले वार्षिक रूपमा खर्बौं रुपियाँको कृषिजन्य सामग्री आयात गरिरहेका छांै । नेपालमा प्रशस्त जंगल छ, त्यसबाट व्यवस्थित तरिकाले पुराना काठहरू निकालेर नयाँ बिरुवा रोप्न सकिन्छ, तर त्यो नगरेर हामीले बर्सेनि अर्बौं रुपैयाँका काठहरू आयात गरिरहेका छौं । हामीसँग प्रशस्त जडीबुटी छ, त्यसको उचित प्रयोग गरेर आवश्यक मात्रामा औषधि नबनाएर ठूलो मात्रामा औषधि आयात गरिरहेका छौं, हामीलाई आवश्यक पर्ने धेरै कुराहरू नेपालमा बनाउन सम्भव हुँदाहुँदै पनि त्यस्ता अनेकांै कुरा आयात गरेर हामीले हाम्रो विदेशी पैसा खर्च गरिरहेका छांै, जसले गर्दा हाम्रो अर्थतन्त्रको आकार कहिल्यै राम्रोसँग वृद्धि गर्न सकेनौं, त्यसैले अब हामीले बुझ्नुपर्छ कि हामीसँग भएको साधन र स्रोतलाई प्रयोग गरेर आवश्यक कुरा बनाएर रोजगारी सिर्जना गर्न सक्दैनांै भने जनताको आर्थिक अवस्था सुधार्ने अर्को विकल्प के हुन सक्छ र ? त्यो हुनै सक्दैन, हुने भनेको केवल कामचलाउ विकल्प हो, त्यो भनेको नै युवा बेच्ने नै हो, त्यसैले अहिलेसम्म त्यही विकल्पमा हाम्रो अर्थतन्त्र चलिरहेको छ । अब यस्तो कामचलाउ विकल्पमा आमूल परिवर्तन गरेर युवा बेच्ने होइन, युवालाई स्वदेशमै रोजगारी सिर्जना गरेर सामान र सेवा बेच्ने अर्थतन्त्रको विकास गर्न आवश्यक छ ।
युवा बेच्ने होइन, युवालाई स्वदेशमै रोजगारी दिएर वस्तु र सेवा बेच्ने हो भन्ने कुरा प्रायः नेताहरूलाई थाहा नभएको पनि होइन, सबैलाई थाहा छ । यो काम गर्नका लागि सरकारले केही प्रयासहरू पनि गरेको हुन्छ, तर पनि अवस्था फेरि जस्ताको तस्तै हुने गरेको छ । यसको मुख्य कारण भनेको उत्पादन र बजारबीच तालमेल मिलाउन नसक्नु नै मुख्य कमजोरी हो । हाम्रा कृषि उत्पादनका वास्तविक समस्याहरू यस्ता छन्, धेरैजसो खेतीयोग्य जमिन भएका मानिसहरू विदेशमा छन्, उनीहरूले खेती लगाउँदा खर्च हुने लागत र खेतीबाट हुने आम्दानी लगभग बराबर हुने हुँदा अब जग्गावालाले आफ्नो जमिनमा खेती गर्नका लागि त्यति उत्सुकता देखाउँदैन र खेती नलगाई बाँझो नै छोडिदिन्छ ।
व्यक्तिगत रूपमा उसलाई त खासै घाटा लाग्दैन, किनकि उसले अब आफ्नो परिवारलाई आवश्यक पर्ने कृषिजन्य सामग्री भारतबाट आयात गरेकोबाट किन्ने गरेको हुन्छ, त्यसैले यस्तो अवस्थामा देशका लागि भने ठूलो नोक्सानी हुने गर्छ, किनकि उसले खेती नगर्नेबित्तिकै त्यहाँ रोजगारी गुम्यो, फेरि त्यति नै सामान आयात गर्दा हाम्रो विदेशी मुद्रा पनि घट्यो, जसले गर्दा हाम्रो अर्थतन्त्रमा ठूलो नोक्सान हुने गर्छ । यस्तो खालको समस्या कृषिमा र हाम्रो उद्योग क्षेत्रमा विकराल रूपले रहिरहनु नै हाम्रो आर्थिक अवस्था कमजोर हुनुको प्रमुख कारण हो । हामीलाई चाहिने हजारौं सामानहरू कृषि, वन र अन्य उद्योगहरूबाट प्राप्त हुने गर्छ, जब ती क्षेत्रलाई व्यवस्थित गरेर आवश्यक सामानहरू उत्पादन गर्न सक्दैनौं भने हामीले कहिल्यै हाम्रो आर्थिक अवस्था सुधार गर्न सक्दैनौं ।
अब सरकारले कृषि क्षेत्र र उद्योगलाई प्रोत्साहन गर्नका लागि व्यापक रूपले नीतिगत रूपमा सुधार गर्न आवश्यक छ, त्यसैले अब कृषिलाई व्यवस्थित गर्नका लागि सानो–सानो व्यवसायलाई अनुदान दिएर काम गरेर समाधान हुँदैन, साथै खाली जग्गामा खेती लगाउने र प्रयोग गर्ने पनि हुँदैन । त्यसैले अब सरकारले कृषि क्षेत्रका लागि ठूला–ठूला कम्पनीको निर्माण गरेर, आमजनताबाट सेयर उठाएर, जग्गा भाडामा लिएर, आवश्यक प्रविधि खरिद गरेर काम नगरेसम्म हामी कृषिमा माथि उठ्न सक्दैनौं । यी कम्पनीहरूलाई आवश्यक पर्ने बिजुली, पानी आदिको व्यवस्थापनमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने हुन्छ । अनि सरकारले नजिकबाट यस्ता कम्पनीहरूलाई नियमित रूपमा नियमन गरेर यदि सबै कुरा राम्रो हुँदाहुँदै पनि कम्पनी घाटामा गयो भनेचाहिँ अब यस्तो बेलामा सरकारले अनुदान दिएर भए पनि कम्पनीलाई निरन्तरता दिइरहनुपर्ने हुन्छ ।
यस्तो कम्पनीमा धेरै जनताको सेयर हुने हुनाले व्यक्तिगत जग्गा भाडामा लिएर खेती गर्छ भने सार्वजनिक प्रयोगविहीन जग्गामा आवश्यक मात्रामा खेती लगाउन सक्ने गरी माथिबाट नै अधिकार दिनुपर्छ । जस्तो कि कतिपय सामुदायिक वनहरूमा फलफूल लगाएर त्यहाँबाट उत्पादित फलफूल सीधै र जुस बनाएर पनि बिक्री गर्न सकिन्छ । यसले गर्दा ठूलो रोजगारी सिर्जना हुनुका साथै हाम्रो फलफूल आयात पनि रोकिन्छ । कुनै–कुनै खेती जस्तै अदुवा, बेसारजस्ता कुराहरू जंगलको रूखमुनि पनि राम्रोसँग उत्पादन हुने हुँदा त्यस्ता खाली जग्गाको प्रयोगबाट हामीले ठूलो आम्दानी गर्न सक्छौं । यसरी व्यक्तिको जग्गा भाडामा लिएर साथै सार्वजनिक खाली जग्गामा सरकारको स्वीकृति लिएर आवश्यक कुरा उत्पादन गरिसकेपछि त्यसको भण्डार, ढुवानी, आवश्यक प्याकेजिङ गरेर देश तथा विदेशमा निरन्तर बिक्री गर्ने संयन्त्र बनाउन कुनै ठूलो कुरा छैन, अरूले गरिरहेकै कुरा हामीले पनि गर्ने हो, हामीलाई कुनै नयाँ आविष्कार गर्नुपर्ने आवश्यकता नै छैन अहिलेलाई, अरूले आविष्कार गरेका कुराहरूलाई हामीले प्रयोग गरेर उत्पादन, भण्डार र बिक्री–वितरणको काम व्यवस्थित रूपले निरन्तर गरे मात्रै पनि पुग्छ ।
कृषिपछि हाम्रो अर्को प्रमुख समस्या भनेको उद्योगहरूमा छ । उद्योगहरूमा भएका अनेकौं समस्याले गर्दा नेपाली उद्योगहरू फस्टाउन सकेनन्, जसले गर्दा बजारमा प्रतिस्पर्धा गर्न नसकी बन्द हुन पुगे र नयाँ उद्योगहरू पनि खासै पर्याप्त मात्रामा खुल्न सकेनन्, जसका कारणले गर्दा हाम्रो अर्थतन्त्र आयातमुखी हुन पुग्यो । उद्योगलाई प्रतिस्पर्धी गराएर टिकाउनका लागि उत्पादित सामानहरू गुणस्तरीय हुनुका साथै मूल्य पनि प्रतिस्पर्धी हुन जरुरी हुन्छ । कुनै पनि वस्तुको लागतमा श्रमको मूल्य, ब्याज, कच्चा पदार्थको मूल्य र नाफाको भाग हुने गर्छ । जुनसुकै देशमा सामान उत्पादन गरे तापनि वस्तुको मूल्यमा समावेश हुने कुरा भनेको यी चार कुरा नै हुन् । यी चार कुरामध्ये श्रम हाम्रो छिमेकी देशहरूभन्दा सस्तो नै छ, ब्याजको प्रतिशत अलिकति बढी छ, जुन उद्योगका लागि मात्रै भए तापनि सरकारले केही सहुलियत दिएर सस्तो पार्न जरुरी छ । कच्चा पदार्थको हकमा सरकारी स्रोतबाट आउने हो भनेजस्तै जंगलको काठ त्यसलाई सस्तोमा निजी क्षेत्रलाई उपलब्ध गराउनुपर्ने हुन्छ, साथै स्वदेशमा नपाइने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्नेलाई भन्सार कर निःशुल्क गर्नुपर्ने हुन्छ, साथै पाएसम्म स्वदेशी कच्चा पदार्थको प्रयोगलाई जोड दिनुपर्छ, किनकि एउटाले खरिद गर्दा अर्कोको आम्दानी बढ्ने हुन्छ र देशभित्र नै ठूलो रोजगारी सिर्जना हुने गर्छ ।
हाम्रोमा जे पनि अलिकति सस्तो प-यो भन्दैमा विदेशबाट ल्याउने प्रचलन छ, जुन प्रचलन नै हाम्रो लागि घातक भयो । जस्तै नेपाली लेखकले किताब छपाउँदा अलिकति सस्तो हुने भन्दै भारतमा छाप्ने गर्छन्, तर यदि उनीहरू सबैले ती किताबहरू नेपालमा छपाएको भए ती किताबहरू छाप्दा थप नेपालीले रोजगारी पाउने थिए, साथै ती रोजगार पाएका नेपालीले पनि आफ्नो लागि आवश्यक सामान र सुविधा खरिद गर्दा थप रोजगारी सिर्जना हुनुका साथै व्यापारीहरूको पनि थप आम्दानी वृद्धि हुने थियो, जसले गर्दा निकै धेरै मानिसले ती लेखकका किताबहरू किन्न सक्ने अवस्था आउने थियो । यहाँ उनीहरूले अलिकति महँगो परे तापनि देशभित्र नै छपाएको भए त्यो पैसाले घुम्दै–घुम्दै प्रत्यक्ष र अप्रत्यक्ष रूपले अन्य तथा उनीहरूलाई नै अवसर प्रदान गरेको हुन्थ्यो, तर हामी क्षणिक फाइदाको पछि लाग्दा अन्त्यमा सबैलाई घाटा हुने अवस्था आएको हो । यो एउटा सानो उदाहरण मात्रै हो, यस प्रकारका हजारौं कारोबारहरू दैनिक रूपमा देशबाहिर भएर देशको ठूलो धन बाहिरिएको छ र देशभित्र रोजगारी बढ्ने अवसर गुमेको छ ।
हामीलाई थाहा छ, कुनै पनि देश सबै कुरामा आत्मनिर्भर हुन सक्दैन, वैदेशिक कारोबारहरूमा संलग्न हुनुपर्छ, तर जुन कुरा देशभित्र नै उपलब्ध छन्, त्यस्ता कुराका लागि पनि हामीले ठूलो धन खर्च गरेर आयात गरियो भने हाम्रो आर्थिक अवस्था कहिल्यै सुधार हुँदैन । त्यसैले सरकारले आफ्नो कच्चा पदार्थ, श्रम र तयारी वस्तु वा सेवाको प्रयोगमा जोड दिने नीति ल्याउनेबित्तिकै रोजगारी बढेर हाम्रो अर्थतन्त्रको आकार सजिलै ठूलो हुने हुन्छ ।
हामीलाई आवश्यक पर्ने हजारौं सामान सबै देशभित्र नै उत्पादन गर्न सम्भव त हुँदैन, तर जुन–जुन सामानहरू हामीलाई आवश्यक पर्ने हो, ती सामानहरू उत्पादन गर्दा आवश्यक पर्ने कच्चा पदार्थहरू सबै हामीसँग छन् भने अब त्यस्ता उद्योगहरूलाई हामीले पहिलो प्राथमिकता दिएर चलाउनुपर्ने हुन्छ, किनकि यसले रोजगारी सिर्जना गर्नुका साथै स्वदेशी कच्चा पदार्थको प्रयोग गर्दा हाम्रो अर्थतन्त्रको आकार ठूलो हुने हुन्छ । अब कुनै–कुनै सामानहरू उत्पादन गर्दा केही कच्चा पदार्थ स्वदेशमा पाइने र केही विदेशबाट आयात गर्नुपर्ने हुन्छ, त्यस्ता उद्योगलाई दोस्रो प्राथमिकता राखेर सञ्चालन गर्नुपर्ने हुन्छ, यस्तोमा रोजगारी सिर्जना गरेको हुन्छ, साथै केही मात्रामा स्वदेशी कच्चा पदार्थ प्रयोग हुने हुँदा अर्थतन्त्रको आकार वृद्धि गर्नका लागि सहयोग गरेको पनि हुन्छ ।
त्यस्तै कुनै–कुनै उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ देशभित्र पाइँदैन, तैपनि त्यस्ता कच्चा पदार्थलाई तयारी वस्तुमा परिणत गर्दा ठूलो मात्रामा रोजगारी सिर्जना भएर देशको अर्थतन्त्रको आकार बढेको हुन्छ, त्यसैले हाम्रो सम्पूर्ण मेहनत नै हामीलाई आवश्यक कुराको उत्पादन र बजारीकरणको व्यवस्थापनमा लगाउँदाबित्तिकै सबै जनताको जीवनस्तर माथि उठ्ने हो ।
नेपालमा आवश्यक स्रोत र साधनहरू प्रशस्त छन्, काम गर्ने मान्छेहरू यथेष्ठ छन्, पुँजीको कुनै अभाव छैन, विदेशबाट प्रविधि खरिद गर्नका लागि रेमिट्यान्स पुग्दो आएकै छ, अनि तिनै जनताबाट सेयर उठाएर तिनै जनतालाई काममा लगाएर तिनैले उत्पादन गरेका सामानहरू तिनैलाई बेचेर तिनीहरूको जीवनस्तर उकास्नका निम्ति हाम्रा नेताहरू किन अलमलिनुभयो, विचित्रको अवस्था हो यो ।
यहाँ अलमलिनुपर्ने कुनै कारण नै छैन, हामीलाई जति पनि आवश्यक पर्ने सामानहरू हुन्, ती कृषि र अन्य उद्योगहरूबाट उत्पादन हुने हुँदा अब तपाईंहरूले कृषिको आधुनिकीकरण र स्वदेशी उद्योगलाई प्राथमिकतामा राखेर ती उद्योगका समस्याहरू पहिचान गरेर त्यसलाई कसरी बचाउन सकिन्छ भन्ने उपायहरू निकालेर आर्थिक नीति बनाउँदा बित्तिकै देशले छोटो समयमा ठूलो आर्थिक फड्को मार्न सक्छ । किनकि अन्य सेवा क्षेत्रको विकास र वृद्धि हुने भनेकै कृषि र उद्योगको वृद्धिले हुने हो । हाम्रा अन्य सेवा क्षेत्र जस्तै बैंक, बिमा, मिडिया, होटल, रेस्टुराँ, यातायात, शिक्षा, स्वास्थ्य, विभिन्न पसलहरू आदि अहिले पनि केही हदसम्म अलि–अलि राम्रो गरेका छन्, अनि यही अवस्थामा जब कृषि र अन्य सामानहरू उत्पादन गर्ने उद्योगहरू स्वदेशमै प्रशस्त हुन्छन्, तब त्यहाँ बढेको रोजगारीले सेवा क्षेत्रको आर्थिक गतिविधि पनि स्वतः वृद्धि हुने गर्छ । जसका कारणले राजस्वमा पनि वृद्धि भएर सरकारले आफूले सञ्चालन गरेको शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्नुका साथै पुँजीगत खर्च गर्न र सामाजिक सुरक्षाका निम्ति आवश्यक पर्ने बजेट सजिलै उपलब्ध हुने हुन्छ ।
अन्त्यमा सम्पूर्ण आदरणीय नेतागणहरूमा विदेशी भूमिबाट मेरो विनम्र अनुरोध यो छ कि म जसरी आर्थिक बाध्यताका कारणले आफ्नो जन्मभूमि र जन्म दिने बुढेसकालका बेसहारा बुवाआमालाई छोडेर बिदेसिनुप¥यो, त्यस्तो अवस्था अहिले लाखौं नेपालीको छ । यो अवस्था सुल्झाएर नेपालीले पनि नेपालमा काम गर्न पाउने र काम गरेको तलबले सुविधाजनक जीवन बिताउन सक्ने अवस्था सिर्जना गर्नका लागि कुनै एक–दुई जनाको प्रयासले सम्भव हुने कुरा होइन, यो सारा जनताको सामूहिक प्रयासले हुने कुरा हो । त्यसैले ती सारा जनताको आर्थिक अवस्थामा सुधार गर्नका लागि सरकारको सकारात्मक प्रयासले मात्रै सम्भव हुने हुन्छ ।
त्यस कारण अब जोजो नेताहरू सरकारमा हुनुहुन्छ वा सरकारबाहिर हुनुहुन्छ, उहाँहरूले कृपया नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र अन्य सामानहरू उत्पादन गर्ने उद्योगहरूमा सकेसम्म प्रमुख लगानीकर्ताको कम सेयर र आमनेपालीको अधिक प्रतिशत सेयर उठाएर ती उद्योगहरूलाई निरन्तर चल्ने वातावरण बनाइदिनुभयो भने सारा नेपालीको आर्थिक जीवनस्तर सजिलै माथि उठ्ने थियो र तपाईंहरूको राजनीतिक दर्शनले पनि सार्थकता पाउने थियो, तर अहिलेसम्म तपाईंहरूको राजनीतिक दर्शन देखाउने दाँत मात्रै बनेको छ, कृपया यो सुधार गर्नका लागि सबैले एकपटक राम्रोसँग सोच्नुहोला । यो काम कम्तीमा १० वर्षजति कृषि क्षेत्र र उद्योगलाई व्यवस्थित गरेर आवश्यक मात्रामा सहुलियत र सुविधा दिएर निरन्तर टिकाइयो भने त्यसपछि सहुलियत दिनै नपर्ने गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम हुने थिए, नेपालबाट गरिबीको अन्त्य छिट्टै भएर हामी नयाँ–नयाँ कुराको आविष्कार गर्न लाग्ने थियौं ।

प्रतिक्रिया दिनुहोस्