Logo

इन्भेष्टमेण्ट र हिमालयन बैंक गाभिने

नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पु-याएपछि वाणिज्य बैंकहरुबीच पहिलो ‘बिग मर्जर’ हुने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभिनको लागि प्रारम्भिक समझदारी भएसँगै वाणिज्य बैंकहरुबीच बिग मर्जर औपचारिक रुपमा अघि बढेको हो ।
वाणिज्य बैंकको संख्या घटाउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले दुई वर्षअघि बिग मर्जरलाई प्रोत्साहन गर्ने नीति अघि सारेको थियो । तर, कोरोना महामारीका कारण गत वर्ष बिग मर्जरको विषय प्राथमिकतामा पर्न सकेन । बिहीबार इन्भेष्टमेण्टका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयनका अध्यक्ष तुलसीप्रसाद गौतमले दुई वाणिज्य बैक गाभिनेसम्बन्धी समझदारीमा हस्ताक्षर गरेका छन् ।
मर्जरपछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट हुने र अध्यक्षमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतमा अशोक शमशेर राणा रहने सहमति भएको छ । पाँडे हाल इन्भेष्टमेण्टका अध्यक्ष छन् भने राणा हिमालयनमा सीईओ रहेका छन् । मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३÷३ जना सञ्चालक नियुक्त हुने र नयॉ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति बन्ने समझदारी भएको छ ।
मर्जरपछि नयाँ बन्ने बैंक सबैभन्दा बढी चुक्ता पुँजी र कारोबार भएको बैंक बन्नेछ । मर्जरपश्चात बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड, जगेडा तथा कोष २१ अर्ब ७७ करोड, निक्षेप ३ खर्ब ११ अर्ब ९९ करोड र लगानी २ खर्ब ८८ अर्व १२ करोड हुनेछ ।
सम्झौतापत्रमा एकीकृत कारोबार गर्ने समय उल्लेख नगरे पनि चालू आर्थिक वर्षभित्रै मर्जर प्रक्रिया सम्पन्न गरी आगामी आवबाट संयुक्त रुपमा कारोबार सुरु गर्ने तयारी छ । स्रोतका अनुसार मर्जरका लागि सेयर स्वाप अनुपातमा अझै सहमति भएको छैन । बैंकहरुको सम्पत्ति तथा दायित्व मूल्यांकन सम्बन्धी प्रारम्भिक प्रतिवेदनमा दुवै बैंकको एक सय बराबर एक सय स्वाप रेसियो हुने उल्लेख गरे पनि यससम्बन्धी विस्तृत अध्ययन गर्ने र सोही आधारमा मर्जर गर्ने सहमतिसहित समझदारी भएको हो ।
नेपाल राष्ट्र बैंकले गाभ्ने÷गाभिने तथा प्राप्ति कार्यलाई सहज बनाउन बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली, २०६८ र बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७० जारी गरेकोमा उक्त दुवै विनियमावलीलाई एकीकरण तथा परिमार्जन गरी बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ बनाई लागू गरेको थियो । मर्जर प्रक्रिया सुुरु भएयता २०७७ चैत मसान्तसम्म कुल २१६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १६४ संस्थाहरुको इजाजत खारेज भई ५२ संस्था कायम भएका छन् ।
राष्ट्र बैंकका अनुसार २०७७ चैत मसान्तसम्ममा वाणिज्य बैंक २७, विकास बैंक १८, वित्त कम्पनी २०, लघुवित्त ७४ र पूर्वाधार विकास बैंक १ गरी बैंक तथा वित्तीय संस्थाको संख्या १४० छ ।
राष्ट्र बैंकबाट अनुमति लिएर ३२ वटा वाणिज्य बैंक सञ्चालन भएकोमा मर्जरका कारण पाँच वाणिज्य बैंकको संख्या घटिसकेको छ ।

कुन बैंक कहिले गाभिए ?
बैंक एकीकृत कारोबार
एनआईसी र बैंक अफ एसिया २०७० असार १६
ग्लोवल आइएमई र कमर्ज एण्ड ट्रस्ट २०७० चैत २६
बैंक अफ काठमाण्डू र लुम्बिनी २०७३ असार ३०
ग्लोबल आइएमई र जनता २०७६ मंसिर २०

प्रतिक्रिया दिनुहोस्