सगरमाथा आरोहणका क्रममा दुई विदेशीको मृत्यु «

सगरमाथा आरोहणका क्रममा दुई विदेशीको मृत्यु


सगरमाथा आरोहणका क्रममा २ विदेशी नागरिकको निधन भएको छ । बुधबार राति अमेरिकी नागरिक पुवे लियू र स्विस नागरिक अब्दुल वाराइचको निधन भएको सेभन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए । “उनीहरुको अल्टिच्यूट सिकनेसका कारण आरोहणको क्रममा निधन भएको हो,” शेर्पाले भने, “दुवै आरोहीको आरोहणका क्रममा हुने आरोहणको क्रममा हुने अल्टिच्युट सिकनेस अनि आरोहणको क्रममा हुने थकानको क्रममा निधन भएको हो ।”
आरोहणको व्यवस्थापन गरेको सेभन समिटका शेर्पाका अनुसार सेभेन समिटकै निर्देशक छाङ दावा शेर्पाले सामाजिक सञ्जालमा राखेको जानकारीको आधारमा आरोही लियूको मध्यरातमा निधन भएको बताए । उनले भने, “सगरमाथाको शिखर चुम्ने क्रम नजिकिँदै गर्दा बुधबार मध्यरातमा हिलारी स्टेप (७९०० मिटरमा) जानेक्रम आरोही लियूको निधन भएको हो ।” आरोहणमा लियूले थकान महशुस गरेको र स्नो–ब्लाइन्डनेसका कारण मृत्युवरण गरेको शेर्पाले बताए ।
यता स्विस नागरिक वाराइचको सगरमाथा आरोहण पूरा गरी फर्किने क्रममा बुधबार राति ८ बजे साउथ समिट आसपासमा निधन भएको अध्यक्ष शेर्पाले जानकारी दिए । मौसम एकदमै विग्रेकोले गर्दा शवलाई आधार शिविरसम्म ल्याउन र व्यवस्थापन गर्न ५ दिनभन्दा बढी समय लाग्ने शेर्पाको भनाइ छ । यो समयमा अन्य आरोहण समेत तत्काल नहुने उनको भनाइ छ ।
जारी सिजनमा सगरमाथासहित अन्य १६ हिमाल आरोहणको लागि ७ सय ४२ जनाले आरोहण अनुमति प्राप्त गरेको पर्यटन विभागले जनाएको छ । जसमा सगरमाथा आरोहणको लागि ४३ आरोहण दलमा ९२ महिला, ३१५ पुरुष सहित ४ सय ८ जनालाई अनुमति प्रदान गरिएको विभागको भनाइ छ ।
आरोहण टोलीबाट सरकारलाई जारी सिजनमा कुल ५७ करोड ३८ लाख रुपैयाँ रोयल्टी सरकारलाई संकलन भएको छ । सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ । नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिर्नुपर्ने छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको सम्म समूह बनाउन पाउने व्यावस्था रहेको विभागले जनाएको छ ।

बिहीबारसम्म १ सय ७० जनाले आरोहण गरे
कोभिड–१९का कारण सन् २०२०मा आरोहण हुन नसकेको भएपनि यो सिजनमा आरोहीको संख्या उल्लेख्य रहेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए । “बिहीबार सम्म १ सय ७० जनाले समगमाथा आरोहण गरेका छन् । अन्य हिमाल आरोहण गरेकाले पनि समगरमाथा आरोहण गर्नको लागि इच्छुक भएकाले गर्दा सगरमाथा आरोहणका लागि अनुमति प्राप्त गर्नेको संख्यामा बुद्धि हुने छ ।” महानिर्देशक तामाङले भने । हाल आरोहण पुरा गरेको आरोहीको संख्या प्रारम्भिक रहेको र आरोहण पुरा गरेको आरोहीको यथार्थ संख्या भने विभागमा प्राप्त विवरणको आधारमा मात्र हुने जनाइएको छ । विगतमा जस्तो भिड नहोस भनेर टोलीलाई कोटा प्रणाली र आरोहण अनुमतिको आधारमा चुचुरोमा जान नियमन गरिएको छ ।
विभागका अनुसार सगरमाथा आरोहण अनुमति लिएका आरोहीले एकै पटक आरोहणमार्गमा जादाँ लाम र हुल हुने गरेकाले गर्दा कोटा र अनुमति पत्रमको आधारमा आरोहणमा जाने महानिर्देशक तामाङको भनाई छ । अनुमति लिएका आरोहीले मौसमको अवस्था हेरेर आरोहाण दलको समन्वयमा एक पटकमा बढिमा १ सय ५० जना सम्म आरोहणको कोटा तोकिएको उनले बताए । यसले गर्दा एक टोली र अर्का टोली बीच सोसल डिस्टेन्स पनि हुने भएकाले गर्दा सुरक्षित आरोहण हुने विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्