Logo

एग ट्रे बेचेरै २० लाख!

भरतपुर-खेर गइरहेका कागज प्रशोधन गरी भरतपुर–१६, रामचोकका दण्डपाणी भट्ट लाखौँ आम्दानी गर्न सफल भएका छन् । फालिएका कागज बटुलेर पुनः प्रयोग गर्ने काममा भट्ट १६ वर्षदेखि सक्रिय छन् ।
चितवन ट्रे एन्ड प्याकेजिङ उद्योगका सञ्चालक भट्टले २८ जनालाई रोजगारीसमेत दिएका छन् । उद्योगमा कागज, कार्टुन, पुराना कापी तथा छापाखानाबाट निस्कने कागजका टुक्रालाई प्रशोधन गरेर एग ट्रे (अन्डा राख्ने) बनाउने गरिन्छ ।
पुराना र फालिएका कागजहरू कवाड व्यवसायबाट संकलन गर्ने गरिन्छ । कुखुरापालनमा १५ वर्ष काम गरेपछि उनी उद्योगतिर लागेका हुन् ।
चितवनलाई पोल्ट्रीको राजधानीसमेत भन्ने गरिन्छ । त्यसैले ट्रेको चितवनमा राम्रो बजार छ । भट्ट अण्डाको माग बजारमा बढी हुँदा ट्रेको खपत बढ्ने बताउँछन् ।
उद्योगको कमाइले आत्मसन्तुष्टि मिलेको भट्टको भनाइ छ । “फालिएका कागजबाटै कमाइ हुँदा खुसी लाग्छ नि,” उनी भन्छन्, “प्रतिस्पर्धा छ, तर गुणस्तरीय र सर्वसुलभ भएपछि बजार पाउन गाह्रो नहुने रहेछ ।”
उत्पादित ट्रे स्थानीय बजारबाहेक काठमाडौँ , लाहानसम्म समेत निर्यात हुने गरेको छ । दैनिक १५ हजार ट्रे उत्पादन हुने गर्छ । सुरुमा लगानी धेरै गर्नुपरे पनि पछि लगानी थप गर्नु नपरेकाले आयआर्जन राम्रै भएको उनले बताए ।
उद्योगमा हालसम्म साढे २ करोड लगानी भइसकेको छ । उद्योगबाट वार्षिक ४ करोड आम्दानी हुने गर्छ, जसमा औसत नाफा २० लाखसम्म हुने गरेको उनले बताए ।
केही वर्षपहिले ३ देखि ४ रुपैयाँमा फालिएका कागज खरिद गर्नुपर्ने अवस्था थियो । तर, आजकाल ३० रुपैयाँसम्ममा उद्योगले खरिद गर्ने गर्छन् ।
बजारमा महँगी बढेसँगै ट्रेको मूल्य पनि बढेको छ । प्रतिगोटा ४ रुपैयाँमा बिक्री हुने ट्रे आजकाल ६ रुपैयाँमा बिक्री हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्