निर्धारित समय अगावै राइनास सडक कालोपत्रे सकिने «

निर्धारित समय अगावै राइनास सडक कालोपत्रे सकिने


लमजुङको राइनास नगरपालिकाअन्तर्गत मुख्य सडक मानिएको नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक कालोपत्रे योजना निर्धारित समय अगावै सकिने भएको छ । कोभिड–१९ सँगै लकडाउनका कारण झण्डै नौ महिना काम ठप्प रहेको उक्त सडक सम्पन्न हुने मितिभन्दा अझै पाँच महिनाअघि सम्पन्न हुने भएको हो ।
गण्डकी प्रदेश सरकारको प्रादेसिक सडक योजनाअन्तर्गत नेपालडाँडा–राइनास–बोराङ सडकखण्ड अन्तर्गत १० किलोमिटर सडक कालोपत्रे योजना नौ महिना लकडाउन प्रभावका बाबजुद पनि निर्धारित समयभन्दा पाँच महिना अगावै सम्पन्न गर्न लागिएको सडक निर्माणको जिम्मा लिएको लामा कन्सट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर मधुसूदन साँखीले बताए । हाल पाँच किलोमिटर काम सम्पन्न भइसकेको सो सडक आयोजनामा आगामी जेठ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गरी सम्बन्धित निकायलाई बुझाउने लक्ष्य राखिएको साँखीको भनाइ छ । “हामीले आधाआधी काम सम्पन्न गरिसकेका छौँ, अव काम रफ्तारमा भएकाले निर्धारित समय अगावै काम सकिन्छ,” साँखीले भने, “जेठ महिनाभित्रै काम सकेर पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्छौ ।”
प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सो सडक २०७६ पुसबाट २०७८ मसिर महिनामा सम्पन्न हुने गरी निर्माण सुरु भएको हो । सडक निर्माणका लागि काठमाडांैको लामा कन्सट्रक्सन प्रालिले जिम्मा लिएको हो । निर्धारित समय अगावै सडक योजना सम्पन्न भए पनि गुणस्तरमा कुनै कमी कमजोरी नभएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरिले बताए । “राइनास सडकमा काम तीव्र गतिमा भइरहेको छ,” ई. गिरिले भने, “निर्धारित समय अगावै काम सकिए पनि गुणस्तरमा कुनै कमी छैन, हामी नियमित परीक्षणमा छौँ ।”
सडक कालोपत्रेका लागि प्रदेश सरकारले २८ करोड, ८४ लाख, ८३ हजार एक सय ८७ रुपैया ५५ पैसा विनियोजन गरेको थियो । राइनास नगरपालिकासँगै दूधपोखरी गाउँपालिकाको मुख्य मार्गको रूपमा रहेको उक्त सडक कालोपत्रे भएसँगै दुवै स्थानीय तह र छिमेकी जिल्ला गोरखाका नागरिकले पनि खुसी व्यक्त गरेका छन् । केही वर्ष अघिसम्म हिँड्न नसक्ने हिलाम्मे सडक अहिले कालोपत्रे भएपछि निकै सहज भएको स्थानीय क्षेत्रनाथ थपलियाले बताए ।
सडक निर्माणका क्रममा करिब पाँच सय मिटर सडकमा ढलान कार्य भएको छ भने नाली निर्माण, साना पुल र कालोपत्रे गरिएको छ । आगामी जेठ महिनाभित्रै सडक कालोपत्रेको काम सम्पन्न गर्नेगरी निमार्णकार्यले गति लिएको निर्माण पक्षले जनाएको छ । राइनास सडकसँगै जिल्लाका अधिकाँश सडक योजनाको काम तीव्र रुपमाअघि बढेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्