आइसोलेसन र कोभिड अस्पताल प्रयोगविहीन, घरघरमा संक्रमित
दोस्रो लहरको संक्रमण सुरु भएसँंगै जुम्लामा वैशाख ९ गतेदेखि हालसम्म पीसीआर र एन्टिजेनतर्फ गरी जम्मा १ सय ९९ जना संक्रमित भएका छन् । जसमध्ये बुधबारसम्मको विवरण हेर्दा २६ जनामात्रै कर्णाली प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका छन् भने, हालसम्म १७ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् । साथै अन्य १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
आठै स्थानीय तहमा कोभिड अस्पताल, आइसोलेसन सेन्टर हुँदाहँुदै पनि स्थानीय तहले व्यवस्थापन नगर्दा संक्रमित घरमा बस्न बाध्य भएका हुन् । लक्षण भएका तर अक्सिजन आवश्यक नपर्ने अधिकांश संक्रमित घरमै बसेपछि संक्रमणको जोखिम बढेको हो । घरमा गएर कसरी सुरक्षित बस्ने, खानपिनमा कसरी ध्यान दिने भन्ने कुनै जानकारी बिनै घर पठाइएका संक्रमितबाट गाउँमा संक्रमण फैलिएको छ ।
हालसम्म चन्दननाथमा नगरपालिकामा ५२ जना संक्रमित भएका छन् भने, पातारासीमा ३१ जना, गुठिचौरमा २४ जना, तातोपानीमा ४ जना, तिलामा १० जना, हिमा २ जना सिजामा ७ र कनकासुन्दरीमा ३२ जना र अन्य ३० जना गरी जम्मा १ सय ९९ जना संक्रमित भएका छन् । जम्मा संक्रमितमध्ये करिब ८५ प्रतिशत संक्रमित होम आइसोलेसनका नाममा गाउँगाउँमा डुलिरहेका छन् ।
स्थानीय तहमा लाखौं बजेट खर्च गरेर स्थापना गरिएका आइसोलेसन तथा कोभिड अस्पातल रित्तै छन् । तर अधिकांश लक्षण भएका संक्रमित घरमा बसेका छन् । संक्रमण दैनिक बढिरहँदा पनि आइसोलेसन व्यवस्थापनमा ध्यान दिएका छैनन् ।
मंगलबार कनकासुन्दरी गाउँपालिमामा १ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जनामा संक्रमण देखायो । तीमध्ये ३ जनाबाहेक सबैलाई घरमा पठाइएको छ । तर कनकासुन्दरी गाउँपालिकाको ५० बेड आइसोलेसन र ५ बेडको कोभिड अस्पताल रित्तै छन् । यता तातोपानी गाउँपालिकाका ५ जना संक्रमितमध्ये २ जना पनि घरमै बसेका छन् ।
साथै, तिला गाउँपालिका ४७ जनामा पीसीआर जाँच गर्दा १० जनालाई संक्रमण देखाएको स्वास्थ्य शाखा संयोजक गणेश शाहीले बताए । उनीहरू सबै होम आइसोलेसनमै बसेका छन् । जिल्लाका चन्दननाथ, पातारासी, गुठिचौर र कनकासुन्दरीमा सबैभन्दा बढी संक्रमित भए पनि गाउँमा फैलिने संक्रमणलाई रोकथाम गर्न आइसोलेसन र कोभिड अस्पाताल सञ्चालनमा स्थानीय तह मौन छन् । होम आइसोलेसनमा बसेका संक्रमितकै लापरबाहीले गर्दा जुम्लामा दैनिक संक्रमण बढ्दै गएको छ ।
१५५ आइसोलेसन बेड रित्तै
जुम्लाका आठै स्थानीय तह गरी १ सय ५५ आइसोलेसन बेड र ३५ कोभिड अस्पातल बेड रहेका छन् । तर वैशाख ९ गते यता जुम्लामा दैनिक संक्रमण बढिरहँदा हालसम्म आइसोलेसन रित्तै छन् । घरघरमा संक्रमित भरिएका छन् ।
नत कोभिड अस्पतालमा अक्सिजन छ । नत अहिलेसम्म एमबीबीएस डाक्टरको व्यवस्थापन हुनसकेको छ । जुम्लाका चन्दनाथ नगरपालिका र तिला गाउँपालिकाबोहक ६ स्थानीय तहमा ५÷५ बेडको कोभिड अस्पताल निर्माण भएको छ भने, हिमामा २० बेड, पातारासीमा ३० बेड, गुठिचौरमा ५ बेड, कनकासुन्दरीमा ५० बेड, तातोपानीमा २० र सिंजामा ३० बेड गरी १ सय ५५ बेडको आइसोलेसन तयार भएका छन् । तर सबै बेड रित्तै छन् । चन्दननाथ नगरपालिकाले नगर क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान रहेकोले कोभिड अस्पताल र आइसोलेसन नबनाएको बताएको छ ।
तर तिला गाउँपालिकाले मात्रै ५ बेडको कोभिड अस्पातलमा ३ वटा अक्सिजन सिलिन्डर र एमबीबीएस डाक्टरसहित संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहेको स्वास्थ्य शाखा संयोजक गणेश शाहीको भनाइ छ ।
यता तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागार्इंले कोभिड अस्पतालमा दुई पटक विज्ञापन गर्दा पनि एमबीबीएस डाक्टर नआएको र अक्सिजन ग्यास ल्याउने तयारीमै रहेको उल्लेख गरे ।
नागरिक समाजका अध्यक्ष राजबहादुर महतले विगतको जस्तो प्रशासन, स्थानीय तहको संक्रियता नभएकै कारण संक्रमण बढ्न थालेको उल्लेख गरे । आइसोलेसन कोभिड अस्पताल रित्तै राखेर होम आइसोलेसनमा संक्रमित पठाउने नीतिले कोरोना रोकथाम तथा फैलिने सम्भावना बढेकाले तत्तकाल आइसोलेसन सञ्चालनमा ल्याउनु पर्ने उनको सुझाव छ ।
संक्रमितलाई घरमा पठाएर कोभिड अस्पताल र आइसोलेसन रित्तै राख्नु स्थानीय तहको कमजोरी हो । संक्रमित सिंजाका चन्द्रवीर तिरुवाले भने, “गाउँमा संक्रमण फैलिइ सक्यो । प्रतिष्ठानमा पीसीआर जाँच गरेर पोजेटिभ भएपछि पालिकाको आइसोलेसनमा जानुभन्छ । पालिकामा आउँदा आइसोलेसन, कोभिड अस्पतालको अवस्था भद्रगोल छ । बाध्य भएर घरमा बस्छांै ।”
यता प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले संक्रमितलाई घरमा बसाल्दा संक्रमणको जोखिम बढेको र तत्काल स्थानीय तहका आइसोलेसन र कोभिड अस्पताल सञ्चालन गर्न आग्रह गरिने बताए । सबै स्थानीय तहले कोभिड रोकथामको नीति बनाएकाले चुस्त कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ ।