उद्योग परिसंघद्वारा सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । मंगलबार परिसंघका पदाधिकारीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेट गरी ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
कन्सन्ट्रेटर हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिषकुमार मोरले राष्ट्रको संकटका बखत नेपालको निजी क्षेत्र सधंै सरकारकै साथमा रहने बताउँदै कोभिड–१९को तीव्र संक्रमणकाबीच अक्सिजन अभावमा छटपटाई रहेका बिरामीलाई केही राहत पुग्ने बताए ।
सो अवसरमा अध्यक्ष मोरले अहिलेको आपतकालिन परिस्थितिसँग जुध्न परिसंघले यसअघि नै उद्योगहरूमा रहेका अक्सिजन सिलिन्डरहरू आवश्यकताका आधारमा सरकारलाई उपलब्ध गराउन सबै उद्योगीहरूलाई आह्वान समेत गरिसकिएको बताए ।
हस्तान्तरण गरिएका कन्सन्ट्रेटर परिसंघका सदस्य संस्था होङ्शी–शिवम् सिमेन्टमार्फत सयोग प्रदान गरिएको हो । उक्त कम्पनीले झण्डै २ करोड रुपैयाँ बराबरको सहयोग गरेको परिसंघले जनाएको छ ।