वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको मुर्तिलाई बुधबार रथारोहण गरिएको छ
रातो मच्छिन्द्रनाथको रथारोहण
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलननुसार बुधबार रथारोहण गरिएको हो । लोकेश्वर समेत भनिने रातो मछिन्द्रनाथको मुर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा पर्व सुरु भएको मनिन्छ ।
नेपालमा मनाइने जात्रा मध्यको लामो जात्रा मानिने मछिन्द्रनाथको जात्रा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि सांकेतिक हुनेछ । काठमाडौँ उपत्यकामा फैलिँदै गइरहेको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले तोकेको मापदण्ड अपनाउँदै मछिन्द्रनाथको रथ तयार गरिएको छ ।
मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन अनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ । पञ्चांग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ । मूर्तिलाई रथमा राखेको तीन दिनमा सक्खरको सर्वत खुवाएर पुल्चोकमा राखिन्छ । त्यसको भोलिपल्ट पुल्चोकदेखि गाःबहालसम्म रथ तान्ने गरिन्छ । मछिन्द्रनाथको रथ गाःबहालबाट मंगलबजार त्यस पछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ । जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने चलन छ ।