चीनमा हवाई यात्रा महँगो हुने «

चीनमा हवाई यात्रा महँगो हुने

चीनको उड्डयन नियामकले सरकारी स्वामित्वका विमान सेवा कम्पनीहरूमाथि लगाइँदै आएको यात्रुसँग लिइने भाडाको सीमा हटाएपछि चीनको हवाई सेवा महँगो हुने भएको छ । नियामक निकायले घरेलु चिनियाँ रुटमा यात्रुलाई लगाइने भाडाको सीमा हटाएको छ ।
यदि कुनै पनि रुटमा कम्तीमा पनि पाँच विमान सेवाले सेवा सञ्चालन गरे भने राज्य स्वामित्वको विमान सेवाले वर्षमा १० प्रतिशतसम्म भाडा बढाउन पाउनेछन् ।
यो नयाँ नियम तत्काल र ३ सय रुटमा लागू हुने चीनको नागरिक उड्डयन नियामकले विज्ञप्तिमार्फत जनाएको छ ।
“चिनियाँ विमान सेवासँग योभन्दा पहिलेको दाँजोमा बढी मूल्य निर्धारण शक्ति हुनेछ,” अनुसन्धान फर्म क्रुसियल पर्सपेक्टिभकाम विश्लेषक कोरिनले बताइन् । विमान सेवा कम्पनीहरूले ५ प्रतिशतको हाराहारीमा भाडा बढाउन सुरु गर्ने अनुमान उनको छ ।
प्रमुख राज्य स्वामित्को विमान सेवाले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । तर, उनीहरूको सेयरको मूल्य उकालो लागेको छ । योसँगै लगानीकर्ताहरूले खुकुलो नियमनले थप पैसा आकर्षित गर्ने अपेक्षा गरेका छन् ।
चिनियाँ निकायले योभन्दा पहिले विमानको भाडामा कसिलो अवस्थाको नियम लागू गर्दै आएका थिए ।
विश्वकै सर्वाधिक जनसंख्या र विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनमा हवाई यात्रामा वृद्धि भएसँगै यो परिवर्तन गरिएको हो ।
अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा) ले गत वर्ष विश्वकै ठूलो हवाई यात्रा बजारमा चीनले अमेरिकालाई आगामी २०२२ मा उछिन्ने जनाएको थियो ।
क्रुसियल पर्सपेक्टिभको तथ्यांकले विमान कति भरिभराउ हुन्छ भन्ने यात्रु लोड तत्व को मापनका आधारमा चीन कीर्तिमानी उच्च अवस्थाबाट अगाडि बढिरहेको देखाएको छ ।
चीनमा प्रत्येक वर्ष आन्तरिक रुटमा यात्रुको संख्यामा १० प्रतिशतको दरमा वृद्धि भइरहेको छ । यो परिवर्तनसँगै चाइना साउदर्न एयरलायन्सले आफ्नो आधारभूत लाइनको ठूलो वृद्धि गर्न सक्ने कोरिनले बताइन् । यो विमान सेवाको धेरैजसो आम्दानी आन्तरिक यात्राबाट हुने गरेको छ ।
समाचारलगत्तै सोमबार हङकङमा कम्पनीको सेयरमा ४.३ प्रतिशतले वृद्धि भएको छ । अर्को ठूलो राज्य स्वामित्वको विमान सेवा एयर चाइनको सेयरमा पनि ६.२ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्