निशेधाज्ञामा पनि धमाधम पर्यटन पूर्वाधार बन्दै
दोलखाको शैलुङ गाउँपालिका–८ कालापानीमा पर्यटकहरूका लक्षित गरी पर्यटक आवास गृह (गोलघर) निर्माण हुँदै छ । शैलुङ आउने पर्यटकहरूलाई लक्षित गरी निर्माण भइरहेको गोलघरको केही दिनअघि पहिलो तलाको ढलान भयो ।
कोभिड–१९ भाइरसको महामारीका कारण देशभर लकडाउन छ । महामारीकै कारण पर्यटकहरू बाहिर निस्कन सकेका छ्रैनन् । पर्यटकहरू लक्षित गोलघर निर्माण व्यवसायीले पूर्णस्वास्थ्य मापदण्ड अपनाउँदै धमाधम काम गर्दै आएको छ ।
शैलुङ महाभारत पर्वतको सबैभन्दा अग्लो डाँडो हो । सय वटा थुम्का भएकाले तमाङ भाषामा शैलुङ भएको हो । शैलुङसम्म पुग्नका लागि कालापानीसम्म शैलुङ गाउँपालिकाले सडक व्यवस्थित बनाएको छ । कालापानीबाट हिड्दा बढीमा आधा घण्टामा शैलुङको थुम्कामा पुगिन्छ ।
गोलघर निर्माणका लागि ३ करोड लागतमा दाप्चा–सिम्पानी जेभीले ठेक्का पाएर काम सुरु गरेको छ । निर्माण व्यवसायी तीर्थबहादुर केसीले बजारमा निर्माण सामग्रीको उपलब्ध भएसम्म काम नरोकिने बताए । सकेसम्म स्वास्थ्य मापदण्ड अपनाउँदै निर्धारित समयमै काम पूरा गर्ने गरी काम भइरहेको बताए ।
शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले शैलुङसम्म जानका लागि कालापानी र मनगाउँबाट सिंढी सहितको व्यवस्थित पदमार्ग तयार भएको छ । हरेक १० मिनेटको दुरीमा प्रतिक्षालय बनाइएको छ । जसले गर्दा यात्रामा हिउँपानी पर्दा ओत लाग्न सजिलो हुनेछ ।
शैलुङ भ्रमणमा आउने पर्यटकहरू लक्षित गरी कालापानीमा गाउँपालिकाले नै जग्गा व्यवस्थापन गरेर स्थानीयले होटल सञ्चालनमा ल्याएका छन् । अब गोलघर बनेपछि ५ सय जना सहजै बस्न सकिने अवस्था भएको उनले बताए । महामारीका बेला पर्यटक नआए पनि स्थिति सहज हुने वित्तिकै पर्यटकहरू आउने हुँदा पूर्वाधार निर्माण रोक्न नहुने उनले बताए ।
चाँदीका घेरा जस्तै सगरमाथादेखि गणेश हिमालसम्मका हिमालहरूको अवलोकन, दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, सोलुखुम्बु, ओखलढुङ्गा जस्ता आधा दर्जन जिल्लाका भुभाग एउटै विन्दुबाट अवलोकन गर्न सकिने भएकाले पनि शैलुङ आउने पर्यटकहरू बढ्दो क्रममा छन् ।
शैलुङ मात्र होइन पर्यटकीय क्षेत्रमा भ्यू टावर, वहुउद्देश्य भवनको काम तिब्र रुपमा भइरहेको छ । जिरी नगरापालिका–८ को खावाडाँडामा २ हजार ५ सय मिटर उचाइमा रहेको डाँडामा १२ मिटर अग्लो भ्यू टावरको काम भइरहेको छ ।
जिरीलाई सगरमाथाको प्रवेशद्घारका रूपमा पनि चिनिन्छ । सबैतिर सडक नखुल्दा जिरीसम्म बस चढेर आउने पर्यटकहरूले जिरीबाटै शिवालय हुँदै सगरमाथासम्म पदयात्रा तय गर्थे । तर सबैतिर सडक यातायात विस्तार भएसँगै जिरीको पर्यटन खस्कँदै गएको छ ।
जिरीको खावामा परम्परागत संस्कृति शैली झल्कने भ्यू टावरसँगै लिंकन बजारमा ५ सय जना क्षमताको बहुउद्देश्यीय सभा हल निर्माण हुने छ । दुवैको काम एकैसाथ सुरु भएको छ । सुस्ताउँदै गएको जिरीको पर्यटन क्षेत्रलाई फर्काउनका लागि पर्यटकीय संरचना निर्माणमा जोड दिएको बागमति प्रदेश सभाका सांसद विशाल खड्काले प्रष्ट पारे ।
आफैंमा अग्लो डाँडो त्यसमाथि १२ मिटरको भ्यूटावर निर्माण गर्दा सगरमाथा समेत प्रष्टसँग देख्न सकिने जिरी नगरपालिकाका मेयर टंक जिरेलले बताए । अहिले पछि खावाडाँडाबाट रोल्वालिङ हिमश्रृखला र नुम्बुर हिमालका साथै दोलखा, रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बुका पूर्वी भु–भागको अवलोकन गर्न सकिन्छ ।
बागमति प्रदेशको वन, पर्यटन तथा उद्योग मन्त्रालयको लगानीमा सुरु भएको यो भ्यूटावरको संरचनामा सिमेन्ट र डण्डी प्रयोग हुन्न । निर्माण व्यवसायी राजु केसीका अनुसार भ्यूटावरको छाना स्थानीय स्लेटलको प्रयोग हुन्छ । सिमेन्टको ठाउँमा सुुर्की, काठ, र ढुङ्गामाटो नै प्रयोग हुन्छ । बाहिरी भागमा आँखी झ्याल हुन्छ । टावर वरपर बगैंचा पनि हुन्छ । जिरीको भ्यूटावर र हल निर्माणका लागि कौशिल–सिम्पानी जेभीले ३ करोड ६ लाखमा ठेक्का पाएको छ ।
पर्यटन विकास आयोजना प्रमुख विष्णुबहादुर भण्डारीले पर्यटकहरू आकर्षित गर्न पर्यटकीय गन्तव्य बढाउने प्रदेश सरकारको योजना अनुसार काम अघि बढेको बताए । पर्यटकीय गन्तव्यका लागि प्रदेश सरकारले बनाएको गुरु योजना अनुसार पहिलो चरणमा भ्यूटावर र वहुउद्देश्यीय भवनको टेण्डर भएर काम सुरु भएको हो ।
पर्यटकहरूलाई आउँदा स्थानीय स्तरमा प्रयाप्त होटल र कार्यक्रम स्थल नहुने भएकाले नजिकै बहुउद्देश्यीय हल पनि निर्माण गर्न लागेको उनले बताए । काठमाडौंबाट सगरमाथा क्षेत्र जाने पर्यटकहरूलाई लक्षित गरेर सिन्धुपाल्चोक, दोलखा र रामेछापमा अग्लो ठाउँमा भ्यूटावर र हल निर्माण थालिएको बताए । गुरुयोजनाको डिपिआर अनुसार भ्यूटावरदेखि बहुउद्देश्यीय भवनसम्म पदमार्ग, पार्क लगायतका पर्यटकहरू भुलिने संरचना धेरै निर्माण हुने उनले बताए ।
सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाको मुडेमा भ्यूटावर पूरा भएको छ । त्यहाँबाट नुम्बुर, रोल्वालिङ, हिमश्रृखला, जुगल हिमश्रृंखला र लाङटाङ हिमश्रखलाका साथै दोलखा, र सिन्धुपाल्चोकका अधिकाँश भू–भागको दृश्यावलोकन गर्न सकिन्छ ।
काठमाडौंबाट जाने पर्यटकहरूका लागि पहिलो दिन मुडेको भ्यूटावरबाट अवलोकन गर्दै शैलुङ भ्रमणपछि त्यहाँको बास बस्ने । दोस्रो दिन शैलुङबाट खावा आसपास घुमेर जिरीमा बास बस्ने र अन्य कार्यक्रम गर्ने गरी संरचना तयार गरिएको सांसद खड्काले बताए । तेस्रो दिन जिरीबाट शिवालय गर्जाङ भ्रमण गरेर बास बस्ने गरी रामेछापको गोकुलगंगा गाउँपालिका–१ चाकेडाँडामा भ्यूटावर हल निर्माण हुनेछ ।
तिनै ठाउँमा एउटै डिजाइनमा निर्माण हुने भए तापनि भ्यूटावर जिरीको परम्परागत भए तापनि मुडे र चाकेडाँडाको एउटै डिजाइन हुने छ । मुडे र चाकेडाँडामा बन्ने भ्यूटावर भने आधुनिक डिजाइनमै निर्माण हुनेछन् । चाकेडाँडा भ्यूटावरबाट अवलोकनपछि एक रात बिताएर पर्यटकहरू सगरमाथा क्षेत्र प्रवेश गर्ने वा मन्थली हुँदै फर्कन सक्ने छन ।
सगरमाथा प्रवेश गर्ने यहीमार्ग परम्परागत पदमार्ग हो । चाकेडाँडाको संरचनाको ठेक्का समेत दाप्चा–सिम्पानी जेभीले लिएर काम सुरु गरेको छ । रामेछापकै खाँडादेवीमा पनि यस्तै प्रकारको संरचना तयार हुनेछ ।
आयोजनाका इन्जिनियर दिनेश कुँवरका अनुसार आयोजनामार्फत बागमति प्रदेशका १३ जिल्लाका ९ वटा उच्च पर्यटकीय क्षेत्रमा हिल स्टेशन निर्माण थालिएको छ । पर्यटन पूर्वाधारको रुपमा हिलस्टेसन निर्माणले पर्यटकहरूलाई आकर्षित गर्ने उनले बताए ।