Logo

जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुको विकल्प छैन

उपचार मात्रैले संक्रमण नियन्त्रण हुँदैन

साम्भाजीराव पाण्डव, नेपाल प्रमुख, विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको बताएका छन् । विश्वभर नै महामारी निरन्तर रूपमा बढ्दै गएको तथा मृत्युको संख्या पनि बढिरहेकाले उपचारभन्दा पनि स्वास्थ्यको मापदण्ड पालना गर्नेतर्फ सबै सचेत र इमानदार हुन आवश्यक रहेको उनले बताएका हुन् । संक्रमण नियन्त्रणका लागि खोप महत्वपूर्ण तथा शक्तिशाली उपाय भए पनि खोपको तत्काल सुनिश्चिता र पहुँचमा नरहेकाले स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा उनले जोड दिए । २ सय ७५ भन्दा बढी खोपहरू विकासको चरणमा रहेको र ९१ वटा खोपको चिकित्सकीय रूपमा प्रयोग भई नियामक निकायले कतिपयलाई आपत्कालीन प्रयोगका लागि पनि अनुमति दिइसकेकाले केही आशाका किरण पनि देखा पर्न थालेको उनले उल्लेख गरे । विश्व नै एकीकृत हुन सक्ने हो भने खोपको पर्याप्त उत्पादनमा अभूतपूर्व तीव्रता हासिल गर्न सकिने विश्वास पनि उनले व्यक्त गरे । तर, त्यसका लागि सबै सरकारबाट तत्कालै महत्वपूर्ण राजनीतिक तथा आर्थिक प्रतिबद्धता आवश्यक पर्ने उनको ठहर थियो । दक्षिणपूर्वी एसिया र विकासशील राष्ट्रहरूमा खोपको वितरणमा अत्याशलाग्दो असन्तुलन देखिएको पनि उनले बताए । साथै, बलियो स्वास्थ्य प्रणाली र जनस्वास्थ्यको क्षमता निर्माणमा लगानी गरेका देशहरूले कोभिड–१९ को सामना गर्न बढी सक्षम भएबाट अन्य देशले स्वास्थ्य प्रणालीको निर्माण तथा जनस्वास्थ्य क्षमताको सबलीकरणमा लगानी गर्नुपर्ने रहेछ भन्ने पाठ सिकेको बताए । विगतका दशकमा स्वास्थ्य प्रणालीमा गरिएको अपर्याप्त लगानीको प्रतिफल नै कोभिड–१९ को संकटका रूपमा दुर्भाग्यवश देखा परेको तर्क उनले गरे । यसै सन्दर्भमा प्रस्तुत छ, विश्वभर कोभिड संक्रमण, रोकथाम तथा उपचारको वर्तमान अवस्था, खोपको पर्याप्तता, नेपालमा संक्रमण वृद्धिको दर तथा नियन्त्रणका लागि सरकारले चालेको कदमका बारेमा नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवसँगको कुराकानीको सार :

अहिले विश्वमा फैलिएको संक्रमण कस्तो हो ?
विश्वभरि नै कोभिड–१९ को महामारी निरन्तर रूपमा चर्कंदो छ । अहिले संक्रमितहरूको संख्या बढिरहेको लगातार ९ हप्ता भयो र मृत्युको संख्या बढिरहेको ६ हप्ता । विश्वभर गत हप्ता पत्ता लागेका संक्रमणका घटनाहरू करिब–करिब महामारीको पहिलो पाँच महिनामा पत्ता लागेका घटनाहरूका बराबर थिए । गत हप्ता ५७ लाख संक्रमित पत्ता लागे भने ९३ हजारभन्दा बढी मानिसको मृत्यु भएको जानकारी विश्व स्वास्थ्य संगठनलाई प्राप्त भएको छ । महामारीको सुरुवातदेखि अहिलेसम्म संक्रमितहरूको संख्या १५ करोड नाघेको छ भने मृत्युको संख्या ३१ लाख । विश्वस्तरमा हेर्दा यो चिन्ताजनक स्थिति हो । अर्कातर्फ विश्वभर नै नयाँ–नया भेरियन्टको प्रभाव देखिएको छ, जुन तपार्इंले सुन्नुभएकै होला । वर्षभरिको लकडाउन र नियन्त्रणको अन्य उपायपछि धेरै मान्छे भेला हुने ठाउँ खुल्न थाले भने खोपको वितरण पनि अपर्याप्त रह्यो । त्यसैले उल्लेख्य प्रगति हुँदाहुँदै पनि संसारभरि, विशेषतः दक्षिण–पूर्वी एसिया र विकासशील राष्ट्रहरूमा खोपको वितरणमा अत्याशलाग्दो असन्तुलन छ ।

नेपाल, भारतजस्ता देश किन यसको मारमा पर्दै छन् ? अरू देशले कसरी यसलाई नियन्त्रणमा लिए ?
राम्रो प्रश्न गर्नुभयो । जुनजुन देशले यसलाई नियन्त्रण गरे वा महामारी नियन्त्रणमा केही प्रगति गरे, तिनीहरूमा जनस्वास्थ्य सुरक्षा मापदण्डको मेहनतपूर्वक कार्यान्वयन भएको छ । आधारभूत रूपमा भन्नुपर्दा, फराकिलो पहुँचसहितको परीक्षण, घटना अनुसन्धान र सम्पर्क पहिचान तथा मानिसहरू सबै जनस्वास्थ्य तथा सामाजिक उपायहरू अवलम्बन गर्छन् भन्ने सुनिश्चित गरिएको थियो । राम्रो गर्ने देशहरूले वैज्ञानिक प्रमाण र सबल तथ्यांकका आधारमा नीति निर्माणहरू अपनाएका छन् । तर, न्यून आय भएका देशहरूभन्दा उच्च आय भएका देशहरूको रोजाइ अत्यन्तै फरक छ । बलियो स्वास्थ्य प्रणाली, स्वास्थ्य स्याहार तथा जनस्वास्थ्यको क्षमता निर्माणमा लगानी गरेका देशहरू नै कोभिड–१९ का कारण उत्पन्न संकट चुलिँदा त्यसको सामना गर्न बढी सक्षम भए । अहिले देशहरूमा के बुझाइ बढ्दो छ भने विगतको दशकमा स्वास्थ्य प्रणालीमा गरिएको अपर्याप्त लगानीको प्रतिफल नै कोभिड–१९ को संकटका रूपमा दुर्भाग्यवश देखा परेको छ । तर, यहाँ अवसरहरू पनि छन् । कोभिड–१९ विरुद्ध लड्दै गर्दा अब हामीले बलियो स्वास्थ्य प्रणालीको निर्माण तथा जनस्वास्थ्य क्षमताको सबलीकरणबारे अत्यन्तै गम्भीर रूपमा सोच्नुपर्छ । ताकि आगामी वर्षमा यस्ता महामारीहरूको प्रभावकारी समाधान गर्न सकियोस् ।

नेपालको अवस्थाबारे विश्व स्वास्थ्य संगठनलाई पूर्वानुमान थियो ? सरकारलाई सुझाव दिएको थियो ? कि सरकारले सुझाव नै लिएन ?
विश्व स्वास्थ्य संगठन आधारभूत रूपमा एउटा प्राविधिक निकाय हो । हामी नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड–१९ सँग सम्बन्धित विभिन्न क्षेत्र तथा विषयमा विश्वव्यापी प्रमाण तथा सुझाव उपलब्ध गराउँछांै । हामीले दिएको जानकारीलाई के गर्ने भन्ने कुरा सरकारले निर्णय गर्ने हो । यद्यपि हामी सरकारले लागू गर्न सकोस् भनेर सुझावलाई नेपालका लागि सुहाउँदो बनाउने प्रयास गर्छौं । कोभिड–१९ महामारीको सुरुवातदेखि नै हामीले नेपाल सरकारलाई सुझाव, मानवीय स्रोत र सामग्रीको सहयोग दिँदै आएका छौं । हाम्रो निकट सम्बन्धका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग काँधमा काँध मिलाएर काम गर्छौं र प्राविधिक ज्ञान तथा सुझाव निरन्तर आदानप्रदान गर्छौं । चाहे ती सरकारी, निजी वा गैरसरकारी किन नहुन् । देशका सबै संस्थाले कोभिड–१९ विरुद्ध लड्नका लागि समग्र समाजको दृष्टिकोणबाट आफ्ना स्रोतसाधनलाई एकीकृत गरी प्रयोग गर्नुपर्छ । त्यसो भएमा मात्रै कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्ध हुने र वैज्ञानिक प्रमाणमा आधारित निर्णय लिने कुराको आशा गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले दिएका सुझावहरू सरकारका निर्देशिका, मार्गदर्शन, मापदण्ड तथा कार्यविधिका रूपमा परिणत भएका छन् । हामीले कोभिड–१९ विरुद्धको लडाइँमा प्राप्त अध्यावधिक सूचना तथा वैज्ञानिक प्रमाणहरू सदैव सरकारलाई उपलब्ध गराएका छौं । किनकि रोग बढ्दै जाँदा नयाँ भेरियन्टहरू आइरहेका छन् । अनि नयाँ प्रमाणहरू पनि । हामी तत्कालै तिनलाई सम्प्रेषण गर्छौं र सरोकारवालाहरूलाई यस विषयमा छलफल र निर्णय अगाडि बढाउनका लागि मनाउन हाम्रो शक्ति, विश्वसनीयता र भूमिकालाई प्रयोग गर्छौं । विश्व स्वास्थ्य संगठनका कर्मचारीहरू संघीय वा केन्द्रीय तहमा मात्रै नभएर प्रादेशिक तहमा पनि राखिएका छन्, जसले यस कठिन समयमा महत्वपूर्ण सहयोग उपलब्ध गराउँछन् । मूलतः विगत एक वर्षदेखि नेपालमा हामीले समग्र व्यावहारिक दृष्टिकोण अपनाएका छौं ।

हामीले संक्रमण फैलिन नदिनका लागि अख्तियार गरेको नीति ठीक छ ? कि अझै फरक नीति लिनुपथ्र्यो ?
हामीसँग जनस्वास्थ्यका विभिन्न कार्यक्रमहरू छन् । जस्तै घटना अनुसन्धान, सम्पर्क पहिचान, जोखिममा रहेकाहरूको क्वारेन्टाइन तथा संक्रमित तथा विरामीहरूको आइसोलेसन । संक्रमणको विस्तार रोक्न वा कम गर्न मास्क लगाउने, हातको सफाइ गर्ने तथा भौतिक दूरी कायम गर्ने उपाय पनि छन् । उपचारका लागि अक्सिजन र डेक्सामेथाजोन पनि छन् । कोभिड–१९ को रोकथामका लागि विभिन्न सुरक्षित तथा प्रभावकारी खोपहरू पनि छन् । अब हामीले गर्नुपर्ने जरुरी काम भनेको यिनमा पहुँच विस्तार गर्नु, संक्रमण रोक्नु र जीवन बचाउनु हो । नेपालले कोभिड–१९ विरुद्ध यी विभिन्न रणनीतिहरू अपनाएको छ । उपलब्ध साधनको निरन्तर र समतापूर्ण प्रयोग भएमा केही महिनामा नै यस महामारीलाई नियन्त्रण गर्ने विभिन्न साधनहरू हामीसँग छन् । खोप एक महŒवपूर्ण तथा शक्तिशाली उपाय हो, तर एउटा मात्र उपाय होइन । भौतिक दूरी, मास्क, हातको सफाइ, हावा सञ्चार अर्थात् भेन्टिलेसन, निगरानी, परीक्षण, सम्पर्क पहिचान, आइसोलेसन, क्वारेन्टाइन र स्नेहपूर्ण स्याहार–सुसार । यी सबैले संक्रमण रोक्न र जीवन बचाउन सहयोग गर्छन् । हामीले के बिर्सनु हुन्न भने सही नीति हुनु भनेको समाधानको एउटा पक्ष मात्रै हो । अर्को पक्षचाहिँ यसको पूर्ण कार्यान्वयन हो । मैले भनिसकेँ कि कोभिड–१९ विरुद्ध लड्नका लागि सरकार र समग्र समाज चाहिन्छ, अनि नेपालमा पनि यही कुरा लागू हुन्छ । कोभिड–१९ महामारी परास्त गर्न समाज तथा समुदाय, सञ्चारका माध्यम तथा पत्रकार, हामी सबै एक हुनुपर्छ ।

यो संक्रमण कहिलेसम्म रहला ? यसको फैलावटको अवस्था हेर्दा मानवसभ्यता नै सखाप हुने देखिन्छ नी ?
महामारीको रोकथाम सुनिश्चित गर्नका लागि हामीले भाइरस संक्रमणको श्रृंखला तोड्नुपर्छ । त्यसका लागि हामीले जनस्वास्थ्य व्यवहारका नयाँ मूल्य–मान्यताको पालना गर्नुपर्छ । त्यसैले अगाडिको बाटो सहज त छैन, किनकि हामी विश्वव्यापी आपूर्ति श्रृंखलाअन्तर्गत नै काम गर्दै छौं, जहाँ धेरै प्रकारका निर्भरताहरू छन् । तर संक्रमण दर डरलाग्दो हुँदाहुँदै पनि हामीले निको हुने दर पनि बिर्सनु हुँदैन, जसले हामीलाई आशा दिन्छ । हाल नेपालमा करिब ८३ प्रतिशत मानिस निको भएका छन् । हालसालै संक्रमितको संख्यामा तीव्र वृद्धि हुँदा निको हुने दर घटेको अनि सक्रिय संक्रमितको संख्या बढेको देखिन्छ, तर पनि आशावादी हुने कारण के छ भने २ सय ७५ भन्दा बढी खोपहरू विकास हुँदैछन् । जसमध्ये ९१ को चिकित्सकीय परिचालन सुरु भइसक्यो र विश्व स्वास्थ्य संगठन अनि सदस्य राष्ट्रका कडा नियामक निकायहरूले तीमध्ये कतिलाई आपत्कालीन प्रयोगका लागि बाटो खोलिदिइसके । विकास प्रक्रियाको चरणमा रहेका यी खोपहरूले विभिन्न प्रकारका खोपका विधि र प्रविधि अपनाएका छन् । यीमध्ये केही निष्क्रिय बनाइएका पूर्ण भाइरस, इनएक्टिभिटेट होल भाइरस र भाइरल भिक्टरजस्ता पुराना अनि एमआरएनए र डीएनएजस्ता पहिलोचोटि प्रयोग भएका नयाँ प्रविधि छन् । यिनले धेरै किसिमका सुरक्षित तथा प्रभावकारी खोप पाउने हाम्रो सम्भावनालाई बढाएका छन् ।

अहिले खोपको अवस्था कस्तो छ ? नेपालजस्ता देशले सहज रूपमा खोप पाउन किन सकिरहेका छैनन् ?
खोपको पर्याप्त उत्पादन राष्ट्रिय सहकार्यमा भर पर्छ । सर्वप्रथम त म के बताउन चाहन्छु भने खोप विकासको इतिहासमा कुनै पनि रोगको खोप यति छिटो विकास भएको छैन । त्यसैले अनुसन्धान, उत्पादन क्षमता, खरिद तथा ढुवानी प्रक्रियामा लगानी गर्न सम्पूर्ण विश्व एकीकृत हुने हो भने अभूतपूर्व तीव्रता हासिल गर्न सकिन्छ । कोभिड–१९ त एउटा उदाहरण मात्रै हो । सरकारहरूबाट तत्कालै महŒवपूर्ण राजनीतिक तथा आर्थिक प्रतिबद्धता चाहिन्छ । उनीहरूको सहयोगबिना विश्व स्वास्थ्य संगठनको विश्वव्यापी खोप सञ्जाल गाभी र महामारी तयारी नवप्रवर्तन गठबन्धन सेपीले यस महामारीको अन्त्यका लागि सबैतिर सबैलाई खोप पु¥याउन बनाएको कोभ्याक्सलाई विभिन्न सरकारहरूबाट ठूलो लगानी आवश्यक हुन्छ । नेपालजस्ता देशहरूमा खोपको सुनिश्चितताका लागि पनि यो आवश्यक छ । तर, हामीले सम्झनुपर्छ कि सुरक्षित र प्रभावकारी खोपले मात्रै समस्या हल हुँदैन । आरटीपीसीआर र एन्टिजिन परीक्षण तथा तीव्र निदानका उपाय र जीवनदायी औषधि–उपचारका उपाय पनि महामारी अन्त्य र विश्वभरका स्वास्थ्य लाभका लागि अत्यावश्यक छन् । यी जीवनदायी साधनहरू तब मात्र प्रभावकारी हुन्छन् जब सबैभन्दा जोखिममा रहेका अधिकांशका लागि समतापूर्ण ढंगले सबै देश एकैपटक यी उपलब्ध हुन्छन् । यसका लागि सबल स्वास्थ्य प्रणाली तथा सेवा सञ्चालन हुनुपर्छ । हालै देखिएका भेरियन्टहरू चिन्ताका विषय हुन् र तिनले सामूहिक कदमको महŒव दर्साउँछन् । किनकि भाइरसलाई फैलिन दिँदा वा संक्रमणको श्रृंखला तोड्न नसक्दा नै म्युटेसन हुन्छ र भेरियन्ट उत्पत्ति हुन्छन् । त्यसैले विद्यमान जनस्वास्थ्यका उपाय लागू गर्दै खोप उत्पादन र वितरणमा सकेसम्म छिटो अगाडि बढाउँदै भाइरसलाई परास्त गर्नु महŒवपूर्ण छ । विश्व स्वास्थ्य संगठनले सक्रियतापूर्वक भनिरहेको छ कि हामीसँग अझै धेरै खोप उत्पादक हुनुपर्छ । तिनमा बौद्धिक सम्पत्तिको सवाल सम्बोधन गर्नुपर्छ । नयाँ कम्पनीहरूलाई पनि खोप उत्पादनको अनुमति दिनुपर्छ ताकि ठूलो परिमाणमा खोप उत्पादन होस् । तपार्इंलाई थाहा छ कि निगरानी, यो कस्तो भाइरस हो ? आदि विषयमा उपलब्ध भएअनुसारका आनुवंशिक जेनेटिक सूचनाको आदानप्रदान, जिन सिक्वेन्सिङ क्षमता नभएका देशहरूको क्षमता विकास, खोप विकास गर्ने देशहरूबीचको सहकार्य, अनुसन्धान, खोप उत्पादन अनि सबैको तिनमा पहुँच । भाइरसलाई परास्त गर्न यी सबै कुरा जरुरी छ । यसमा धेरै तŒव संलग्न छन् र सबैको बलियो सहकार्य चाहिन्छ ।

नेपालले भारतको जस्तो अवस्था आउन नदिन के गर्नुपर्छ ?
मैले पहिले भनेजस्तै जनस्वास्थ्य सुरक्षाका उपायहरूको पूर्ण पालना हुनुपर्छ र उच्च तथा तीव्र गतिमा खोपको विकास हुनुपर्छ । म बुझ्छु कि नेपालमा खोप ल्याउन एउटा चुनौती हो । तर, हामीसँग देशभित्रै विभिन्न साधनहरू छन् । जुन अन्य देशहरूले पनि देखाइसकेका छन् । राम्रोसँग गरिने घटना अनुसन्धान, सम्पर्क पहिचान, संक्रमित बिरामीको आइसोलेसन अनि जोखिममा रहेकाहरूको क्वारेन्टाइन । यी नै संकट समाधानका मन्त्र हुन् । अहिलेसम्म आइपुग्दा यी उपायहरू परिचित भइसकेका छन् । सँगै एक वर्षभरि नै निरन्तर लकडाउन हुँदा मान्छे तनावमा परि थाके, त्यसपछि धेरै हदसम्म खुला गरियो । तर, मानिसहरूले सार्वजनिक स्वास्थ्य मापदण्ड पालना गर्छन् र आफूसँग भएका स्रोतसाधनको उपयोग गर्छन् भन्ने कुरा हामीले सुनिश्चित गर्नुपर्छ । विभिन्न देशले धेरैभन्दा धेरै खोप बनाउँदै गर्दा खोप त आउला, तर मुख्य कुरा तिनको निरन्तर र तीव्र प्रयोग कसरी सुनिश्चित गरिन्छ भन्ने पनि हो ।

निषेधाज्ञा छ अहिले । यो बेला सरकारले गर्नुपर्ने अनिवार्य काम पनि गरेन भन्ने गुनासो आइरहेको छ । प्राथमिकताको आधारमा केके काम गर्नुपर्छ ?
यस कोभिड–१९ महामारीका लागि संसारका कुनै पनि देश पर्याप्त मात्रामा तयार थिएन । यसका लागि तपाईंले अहिले सिंगो संसारको स्थिति हेर्न सक्नुहुन्छ । त्यसमा पनि अल्पविकसित स्वास्थ्य प्रणाली भएका गरिब राष्ट्र««हरूमा यसको असर बढी रह्यो । हुन त कोभिड–१९ बारे विज्ञानको विकास नि निरन्तर जारी छ । विगत एक वर्षमा क्षमता विकास र तयारीका लागि धेरै काम भएका छन् । तर, दशकौंसम्म स्वास्थ्य प्रणालीमा लगानी गर्न हामीले गुमाएको अवसरको क्षतिपूर्ति यो छोटो समयमा नै हुन्छ भन्ने आशा गर्नु कठिन छ । अहिले धेरैभन्दा धेरै मानिसले महसुस गरेका छन् र मैले मन्त्री, प्रधानमन्त्रीले पनि भनेको सुनेको छु कि जीवन नै पहिलो प्राथमिकता हो । स्वास्थ्य नै पहिलो प्राथमिकता हो । विश्व स्वास्थ्य संगठनका धेरै सिफारिसहरू सरकारले आफ्ना मार्गदर्शन, निर्देशिकाजस्ता दस्तावेजमा स्वीकार गरेकामा हामी खुसी छौं । सरकारका सबै तह र समुदायको स्तरमा पनि यसको निरन्तर कार्यान्वयन महत्वपूर्ण छ । समुदायको सशक्तीकरण र संलग्नता पनि जरुरी छ । कोभिड–१९ को जटिलताका कारण सरकार र समाजका सबै क्षेत्र र तहको एकीकृत प्रतिकार्य आवश्यक छ । साथै व्यक्तिगत प्रतिकार्यको महत्वलाई पनि कम आँक्नु हुँदैन । अहिले महामारीको बेलामा चाहिएको साहस भनेको सबै जनस्वास्थ्य तथा सामाजिक मापदण्डको पालना गर्नु हो । जस्तै ः मास्क लगाउनुप¥यो । नियमित हात धुनुप-यो । सामाजिक रूपमा नजिक रहे पनि भौतिक दूरी कायम गर्नुप¥यो । आफू पर्याप्त हावा बहने वातावरणमा भएको सुनिश्चित गर्नुप-यो र भीडभाडमा जान भएन । यस महामारीलाई अगाडि बढ्नबाट नियन्त्रण गर्ने हो भने यी उपायहरूलाई निरन्तर पालना गर्नुपर्छ ।

नेपाली जनताका लागि केही भन्न चाहनुहुन्छ ?
सम्झाउन चाहन्छु कि हामी सबै अगाडि बढ्नुपर्छ । आफू र अन्यलाई सुरक्षित राख्ने आफ्नो व्यक्तिगत जिम्मेवारी पूरा गर्नुपर्छ । सबैलाई आग्रह गर्न चाहन्छु कि कृपया जनस्वास्थ्य निर्देशिका पालना गरौं । मास्क लगाऔं । बारम्बार हात धोऔं । भौतिक दूरी कायम गरौं र उपलब्ध हुनासाथ खोप लगाउन आनाकानी नगरौं ।

प्रतिक्रिया दिनुहोस्