Logo

मेलम्ची दोस्रो चरण

पाइपलाइनको लागत २० अर्ब

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको पाइपलाइन विस्तारका लागि करिब २० अर्ब लाग्ने देखिएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयको अध्ययनले यो लागत निकालेको हो ।
खानेपानी मन्त्रालयका अनुसार, मेलम्ची खानेपानी वितरणका लागि बिछ्याइएको पाइपलाइनको पहिलो चरण अन्तर्गतको काम सम्पन्न भइसकेको छ र पाइपलाइन परीक्षणको क्रममा छ ।
दोस्रो चरणमा करिव १ हजार किलोमिटर पाइपलाइन विस्तार गरिने योजना छ । पहिलो चरण अन्तर्गत करिब १ हजार २० किलोमिटर पाइपलाइन बिछ्याइएको छ । पहिलो चरणको आयोजनाको लागि करिब साढे २६ अर्ब रुपैयाँ लागत रहेको आयोजनाले जानकारी गराएको छ । यसका लागि एडीबीले ऋण दिएको थियो । निर्देशनालयका अनुसार दोस्रो चरणमा पनि एडीबीले ऋण दिने भएको छ । एडीबीसँग सहुलियत ऋणका लागि छलफल चलिरहेको खानेपानी मन्त्रालयले बताएको छ ।
निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले आगामी जुलाईसम्ममा दोस्रो चरणको आयोजनाका लागि ठेक्का सम्झौता हुने गरी तयारी अगाडि बढेको जानकारी दिए । “अहिले दोस्रो चरणको पाइपलाइन विस्तारका लागि एसियाली विकास बैंकले नै ऋण दिने निश्चित छ । तर आवश्यक पर्ने लागत मध्ये ६२ प्रतिशत मात्र एडिबीको हुनेछ भने ३८ नेपाल सरकारको हुन सक्छ । यस विषयमा छलफलमै छौं,” उनले भने, “अहिलेसम्म प्रारम्भिक अनुमानमा २० अर्ब लागत लाग्ने भनिए पनि आयोजनाको काम लम्बियो भने लागत पनि बढ्न सक्छ । पछि पाइप कस्तो राख्ने भन्ने कुराले पनि निर्धारण गर्न सक्छ । नयाँ नयाँ प्रविधि आइरहेको छ । त्यो अनुसार अगाडि बढ्दा पनि लागत बढ्न सक्छ ।”
खानेपानी मन्त्रालयका अनुसार चक्रपथ बाहिरको पेप्सिकोला, गोठाटारको केही भाग, बौद्ध जोरपाटी, मध्यपुर ठिमी, भक्तपुरको पुरानो सहर, कटुन्जे क्षेत्रमा दोस्रो चरणमा पाइपलाइन विस्तारको काम हुनेछ । निर्देशनालयका अनुसार टेण्डर आह्वान भई ठेक्का दिएपछि निर्माण सम्पन्न हुन चार वर्ष लाग्नेछ ।
निर्देशनालयले अर्थ मन्त्रालयसँग प्रारम्भिक चरणको छलफल भएर अगाडि बढेको जानकारी दिएको छ । सम्झौता भएपछि मात्रै अन्य प्रक्रिया अगाडि बढ्ने निर्देशनालयका प्रमुख श्रेष्ठको भनाइ छ । मेलम्ची खानेपानी अयोजनाको १७ करोड लिटर पानी उपभोक्ताको धारामा आइपुग्दा पनि वितरणका लागि बिच्छ्याइएको नयाँ पाइपलाइन भने अझै प्रयोगमा आउन सकेको छैन । नयाँ पाइपलाइन परीक्षणको काम समयमा नै सम्पन्न गर्न नसक्दा मेलम्चीको खानेपानी पुरानै पाइपलाइनबाट वितरण गरिएको छ । पहिलो चरणको नयाँ पाइपलाइन परीक्षणको काम सम्पन्न गर्नका लागि अझै ४ महिना समय लाग्ने निर्देशनालयले जनाएको छ ।
दोस्रो चरणको अझै पनि ऋण सम्झौता हुन बाँकी नै छ । ऋण सम्झौता भएर ठेक्का सम्झौताको प्रक्रिया अगाडि बढेपछि मात्रै निर्माणको काम सुरु हुनेछ । निर्देशनालयका प्रमुख श्रेष्ठले चक्रपथ बाहिरको क्षेत्रलाई यांग्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गर्ने र मेलम्चीको पानी थप आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा रहने बताए । मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन मिलाउन नयाँ पाइपलाइन विस्तार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्