सीसीडी रेसियोमा लचक नहुन आइएमएफको सुझाव «

सीसीडी रेसियोमा लचक नहुन आइएमएफको सुझाव

कर्जाको वृद्धि हुनु अर्थतन्त्रका लागि सकारात्मक भए पनि आक्रामक हुँदा जोखिम आउन सक्ने भएकाले कर्जा विस्तारको गती केही कम गर्नसमेत आइएमएफले सुझाएको छ ।

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पुँजी, कर्जा तथा निक्षेप (सीसीडी) अनुपातमा लचकता नअपनाउन सुझाव दिएको छ । बैंकहरूले आक्रामक रूपमा कर्जा प्रवाह गरेकाले जोखिम बढ्न सक्ने भन्दै आइएमएफले सीसीडी रेसियो खुकुलो नबनाउन सुझाव दिएको हो ।
बैंकहरूले अक्टोबर महिनामा २५ प्रतिशतले कर्जा प्रवाह वृद्धि गरेका छन् । तर, केन्द्रीय बैंकको चालू आर्थिक वर्षको मौद्रिक नीतिअनुसार नीजि क्षेत्रको कर्जा विस्तार २० प्रतिशतको लक्ष्य छ । बैंकहरूले आक्रमक रूपमा कर्जा प्रवाह गर्दा खराव कर्जाको मात्रा बढ्ने तथा त्यसका लागि प्रोभिजनिङ पनि गर्नुपर्ने भएकाले पूँजी वृद्धि गर्नसमेत आइएमएफले सुझाव दिएको छ ।
आइएमएफको आर्टिकल फोरअन्तर्गतको टोलीले नेपालको आर्थिक अवस्थाका सन्दर्भमा सम्बन्धीत निकायका अधिकारीहरूसँग छलफल गरेर बिहीबार पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षको आर्थिक वृद्धि पनि ६.५ प्रतिशतमा सिमित रहने जनाएको छ । कर्जाको वृद्धि हुनु अर्थतन्त्रका लागि सकारात्मक भए पनि आक्रामक हुँदा जोखिम आउन सक्ने भएकाले कर्जा विस्तारको गती केही कम गर्नसमेत आइएमएफले सुझाएको छ । मुद्रा कोषको आर्टिकल फोर टोलीका संयोजक गिर्ट अल्मेकिन्डसका अनुसार कर्जा विस्तार उच्च भएकाले त्यो गती नियन्त्रणका लागि भए पनि सीसीडी रेसियोमा लचकता अपनाउनु हुँदैन । “कर्जाको गतिअनुसार प्रोभिजनिङ पनि बढ्ने भएकाले पूँजी कोष बलियो बनाउन आवश्यक हुन्छ,” उनले भने, “कर्जाको आक्रामक विस्तारले सबै सुरक्षित छ भन्न सकिँदैन ।”
बैंकहरूलाई थप पुँजीको व्यवस्था गर्न उत्साहित गरिनुपर्ने कोषको भनाइ छ । त्यसका साथै सम्भावित नोक्सानीका लागि प्रोभिजनल बफरको पनि व्यवस्था गर्नु राम्रो हुने कोषले सुझाएको छ । केन्द्रीय बैंकका अनुसार बैंकहरूले पूँजी कोष अनुपात ११ प्रतिशत कायम गर्नुपर्छ ।
मुद्रा कोषले नेपाली बैंकहरूको खराब कर्जालाई अविश्वास गरेको छ । दक्षिण एसियामै सबैभन्दा कम खराब कर्जा रहेको भन्दै उसले सानातिना ऋण मात्रै तलमाथि हुँदा पनि बैंकमा समस्या आउने जनाएको छ । तर, नेपाली बैंकिङ क्षेत्रको खराव कर्जाको अंश छिमकी मुलुकको तुलनामा निकै कम भएको भन्दै थोरै हुनु बैंक वित्तीय संस्थाको स्वास्थ्यको अवस्थालाई जनाउने समेत कोषले जनाएको छ । यस विषयमा गम्भीर भएर सोच्नुपर्ने पनि कोषका अधिकारीहरूले औंलाएका छन् ।
आइएमएफले वित्तीय प्रणालीको नियामक निकाय स्वायत भएर काम गर्नुपर्ने जनाएको छ । वित्तीय क्षेत्रको जोखिम न्यूनीकरणका लागि पनि नेपाल राष्ट्र बैंक स्वायत्त रूपमा नियमन सुपरीवेक्षण गरेर वित्तीय सवलताका लागि काम गर्नुपर्ने जनाएको छ । बैंकहरू आक्रामक भएको अवस्थामा नियामक निकाय पनि चनाखो हुनुपर्ने कोषको भनाइ छ । त्यसका साथै आर्थिक समृद्धिका लागि प्रभावकारी व्यवसायिक वातावरणमा थप सुधार गर्न तथा लगानीसम्बन्धी नीतिहरूको समीक्षा पनि गर्नुपर्ने आइएमएफले औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्