घर फर्किने रोकिएनन् «

घर फर्किने रोकिएनन्


कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या रोकिएको छैन । छिमेकी मुलुकमा कोरोना महामारीको नयाँ भेरियन्टसहित प्रवेश गरेको दोस्रो लहर सुरु भएपछि गत वर्षको फागुन महिनादेखि सुरु भएको घर फर्कने क्रम वैशाख महिनाको अन्तिमसम्म पनि रोकिएको छैन ।
दुई महिना अघिबाट सुरु भएको घर फर्कने क्रम अहिले पनि पुरानै अनुपातले चल्दै गएको छ । जिल्लाको गड्डाचौकी नाकाबाट दैनिक रूपमा नेपाल प्रवेश गर्ने नेपाली नागरिकको संख्या कम भए पनि सरदर कुनै दिन बढी कुनै दिन कम भएको गड्डाचौकी हेल्थ डेस्कका सामान्य चिकित्सा प्रेम सिंह भण्डारीले बताए । उनका अनुसार गड्डाचौकी नाकाबाट हाल दैनिक सरदर दुई तीन सयजना नेपाल प्रवेश गर्ने गरेका छन् । “गएको महिनाको दिनमा धेरै नेपाली नागरिक भारतबाट फर्किने गरेका थिए । बिहान सीमाक्षेत्रमा निकै भीड लाग्ने गरेको थियो,” भण्डारीले भने, “अहिले भने कोरोना महामारीको कारणले मुलुकभित्र तथा बाहिर बन्द भएको अवस्था पनि छ, तर पनि भारतबाट नेपाल फर्किने नेपालीको संख्या कुनै दिन धेरै कुनै दिन थोरै हुँदै आएका छन्, फर्किने क्रम भने रोकिएको अवस्था छैन ।” छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो महामारी सुरु भएपछि फागुन महिनाको २४ गतेबाट गड्डाचौकीमा नेपाल आउने नेपाली नागरिकको सामान्य स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको थियो । फागुन महिनाको अन्तरालमा भने गड्डाचौकी नाकाबाट दैनिक रूपमा एक हजारदेखि १५ सय नेपाली नागरिक स्वदेश फर्किने गरेको अवस्था थियो । तर अहिले स्वदेश फर्कने नेपाली नागरिको संख्यामा कमी आए पनि दैनिक आउने क्रम जारी रहेको उनले बताए । यसैगरी यस हप्ताको आइतबारमात्रै गड्डाचौकी नाकाबाट १ सय ६१ जना नेपाली नागरिक स्वदेश फर्किएका थिए । यसैगरी सोमबार ६१ जना स्वदेश फर्केका छन् ।
“भारतमा कोरोना महामारीको बढ्दो प्रभावबीच रोजगारी गुमेपछि नेपालीहरू घर फर्किने क्रम चलिरहेको छ । सामान्य रोजगारी भए पनि गरौंला भनेर भारत पसेका नेपाली नागरिक दिनप्रतिदिन गड्डाचौकी सीमानाका हुँदै स्वदेश फर्किरहेका छन्,” सामान्य चिकित्सा भण्डारीले भन । गड्डाचौकी नाकाबाट कोरोना महामारी सुरु भएयता हालसम्म झण्डै २८ हजार नेपाली नागरिक स्वदेश फर्किसकेका छन् । मुख्य गरेर भारतको कोरोना ग्रस्त क्षेत्र राजधानी नयाँ दिल्ली, हरियाणा, पञ्जाब महाराष्ट्रलगायत भारतका ठूला सहरबाट नेपाली नागरिक घर फर्किरहेका छन् । कोरोना महामारीको संक्रमण बढ्दै जाँदा भारतका विभिन्न क्षेत्रमा पनि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञापछि रोजगारी गुमेपछि सामान्य खाना खान पनि समस्या हुने अवस्था आएपछि कोरोना संक्रमण तथा बेरोजगारीका कारण घर फर्किरहेको उनीहरू बताउँछन् ।
कञ्चनपुरको पश्चिमी सीमानाकास्थित गड्डाचौकी नाका भएर घर फर्किने नेपालीहरू । तस्बिर ः कारोबार

प्रतिक्रिया दिनुहोस्