Logo

पर्वत अस्पतालमा २० वटा आइसोलेसन बेड थप

कोभिड–१९ का संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि पर्वत अस्पतलामा बेड थप गर्न थालिएको छ ।
जिल्ला अस्पतालको कोभिड–१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी अस्पतालवाट आवश्यक कपडा लगायतका सामग्री लगेर २० बेड थप गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । अस्पतालले सञ्चालनमा ल्याएको १० बेड क्षमताको कोरोना संक्रमित उपचार कक्ष सोमबार नै भरिएको छ । अस्पतालमा रहेका सबै कोभिडका बिरामीले अस्पतालकै अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन तथा शिलिन्डरबाट अक्सिजन लिएर उपचार गरिरहेका छन् । उनीहरूको अवस्था भने सामान्य छ ।
कोरोना संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राखेर पर्वत अस्पतालमा नै थप २० बेड विस्तार गर्न थालिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । अस्पतालमा बेड व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गरेको उनको भनाइ छ । थपिएका बेडमा समेत स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीको उपचार गरिने भएको छ ।
स्वास्थ्यकर्मी बिना अक्सिजनमात्र दिएर बिरामी ठिक हुने अवस्था नभएको र अहिले अस्पतालमा रहेको जनशक्ति अपुग हुने अवस्था आएको अस्पतालका अध्यक्ष पहाडीले जानकारी दिए । उनका अनुसार थप हुने बिरामीको उपचारका लागि थप बजेट र जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकार र पर्वत जिल्लाका नगरपालिका तथा गाउँपालिकाबाट आवश्यक सहयोगका लागि आह्वान गरिएको छ ।
पर्वतमा पछिल्लो साता कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । सोमबार एकैदिन ८१ जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म पर्वतमा ३ सय ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए । उनका अनुसार २ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी २८ जनाको जिल्ला अस्पताल र गाउँ÷नगरपालिकाका अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको छ ।
जिल्लामा मंगलबार रातीदेखि निषेधाज्ञा जारी गरिएको छ । सीसीएमसी पर्वतको सोमबारको बैठकले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्