खोटाङका स्थानीय तहमा कर्मचारी अभाव

जिल्लाका स्थानीय तहमा कर्मचारी अभाव भएपछि काम प्रभावित भएको छ । जन्तेढुंगा गाउँपालिकाका सबै वडामा वडासचिव नभएपछि त्यस पालिकाकाको काम प्रभावित भएको छ । गाउँपालिकामा कार्यरत सबै सचिव सरुवा भएर अन्यत्र गएपछि गाउँपालिका नै सचिवविहीन बनेको हो ।
सचिव नभएपछि दैनिक कामकाज सञ्चालन गर्न अप्ठ्यारो परिरहेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईको भनाइ छ । सचिव अभाव भएपछि ती वडाको काम प्राविधिक भीम कार्कीमार्फत सञ्चालन भइरहेको गाउँपालिका प्रमुख राईले बताए ।
यस्तै, बोपुङ र डम्बर्खुशिवालयको वडासचिवको काम कार्यालय सहायक कृष्ण कटवालमार्फत सञ्चालन भइरहेको छ । “वडामा सचिव छैनन्, सेवाका लागि आएका जनताको काम रोक्नु पनि भएन,” गाउँपालिका प्रमुख राईले भने, “सचिव नभएपछि कुनै वडाको काम प्राविधिक र कुनै वडाको काम कार्यालय सहयोगीकै भरमा सञ्चालन गरिरहेका छौं ।” काहुलेमा कुनै पनि कर्मचारी छैनन् । गाउँपालिकाका अनुसार चिसापानी, देविस्थान, बोपुङको काम गर्दै आएका सचिव ढुण्डीराज दुलाल काठमाडौं र डम्बर्खुशिवालयमा कार्यरत लक्ष्मी फुयाँल सुनसरी सरुवा भएका छन् ।
खोटेहाङ गाउँपालिका–३ सावाकटहरे, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी र खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी वडा सचिवविहीन बनेको हो । दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ गाउँपालिका–५ छितापोखरी पनि वडा सचिवविहीन बनेको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पा र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छामा पनि सचिव छैनन् ।
यस्तै, बराहपोखरी गाउँपालिकाका ६ वडामध्ये ५ वडामा सचिव छैनन् । बराहपोखरी गाउँपालिका–४ फाक्टाङबाहेकका वडा सचिवविहीन बनेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए । बराहपोखरी गाउँपालिकाको बराहपोखरी, सुन्तले, साउनेचौंर, पौवासेरा र मौवाबोटे सचिवविहीन बनेको छ । जिल्ला समन्वय समितिका अनुसार खोटेहाङ गाउँपालिकाको ९ वडामध्ये तीन वडा सचिवविहीन छ ।
कार्यरत वडासचिव सरुवा भए पनि ऐसेलुखर्क गाउँपालिकाको माक्पामा कर्मचारी आएका छैनन् । कार्यरत वडासचिव मनोज खतिवडा सरुवा भएको लामो समय बित्दासमेत डाँडागाउँमा अर्को सचिव आउन नसकेको दिप्रुङ गाउँपालिकाले जनाएको छ ।
स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको कडाइका कारण पनि कतिपय सचिव सरुवा मिलाउँदै अनुकूल कार्यालयमा जान थालेको बताइएको छ । जनप्रतिनिधिका कारण वडामा आपूmखुसी चल्ने वातावरण बन्द भएकाले पनि कतिपय वडासचिवले काम गर्न अप्ठ्यारो मान्ने गरेको पाइएको छ । गाविस परिषद् र सामाजिक सुरक्षा भत्ता बाँड्नका लागि मात्र गाउँ पुग्ने सचिवलाई वडामै बसेर काम गर्नुपर्दा अप्ठ्यारो महसुस भएकाले सरुवा भएको जनाइएको छ ।