सेयर बजारमा सामान्य अवस्थामा झैं कारोबार «

सेयर बजारमा सामान्य अवस्थामा झैं कारोबार


कोभिड–१९ को संक्रमण फैलिन नदिनका लागि सरकारले निषेधाज्ञा जारी गर्दै अत्यावश्यक सेवाबाहेक अन्य क्रियाकलाप बन्द गरे पनि सेयर बजारमा भने सामान्य अवस्थामा जस्तै कारोबार भइरहेको छ । बजारमा अनलाइनमार्फत नै सेयर किनबेच र भुक्तानी गर्न सकिने सुविधाका कारण लगानीकर्ताहरुले घरैबाट सेयर कारोबार गर्ने सूविधा पाएका छन् ।
सामान्य अवस्थामा झैं सेयर बजारमा दैनिक ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भइरहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सरकारले वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञामा पनि नियमित रुपमा सञ्चालन भइरहेको बजारमा निषेधाज्ञा अघिकै तुलनामा कारोबार भइरहेको छ ।
गत वर्ष चैतमा लकडाउनको अवधिमा भने चैत ११ गतेदेखि ५१ दिन सेयर बजार नै बन्द गरियो । वैशाख ३० गतेबाट दैनिक २ घण्टा कारोबार गर्ने गरी बजार संचालन गरिए पनि लगानीकर्ताहरुको दवावका कारण दुई दिनमा बन्द गरियो । लकडाउनको अवस्थामा सेयर बजार सञ्चालन गर्ने नगर्ने विषयमा लगानीकर्ता र नियामकहरुको विवादका कारण बजार राम्रोसँग सञ्चालन हुन सकेन ।
यस वर्ष भने निषेधाज्ञाको अवधिमा पनि बजार नियमित रुपमा सञ्चालन भइरहेको छ । बजार नियमित रुपमा सञ्चालन हुँदा लगानीकर्तालाई घरैबाट लगानी गर्ने अवसर सिर्जना भएको छ । लगानीकर्ताहरुले अनलाइनमार्फत नै ब्रोकर कम्पनीलाई सेयर खरिद र बिक्रीको अर्डर दिन सकिने सुविधा नेप्सेले उपलब्ध गराएको छ । सेयर खरिदबिक्रीपछि भुक्तानीसमेत खातामार्फत नै गर्न सकिने व्यवस्था छ ।
कतिपय ब्रोकर कम्पनीहरुले सेयर बिक्री गरेकै दिन खातामा रकम उपलब्ध गराउने सेवा समेत दिइरहेका छन् । वैशाखमा निषेधाज्ञा हुनुभन्दा अघि बजारमा एक दिनमा साढे आठ अर्ब रुपैयाँ भन्दा बढिको सेयर कारोबार भएको थियो । निषेधाज्ञा जारी भएपछि पनि वैशाख २० गते बजारमा एकैदिन साढे सात अर्बरुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १.०४ प्रतिशतले वृद्धि हुँदा पौने ६ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्से २७.४७ अंकले बढेर २६७३.३१ अंकमा पुगेको छ । यसदिन कारोबार भएका सबै समूहगत परिसूचक पनि उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्