धरानका दुई फार्मेसी कारबाहीमा «

धरानका दुई फार्मेसी कारबाहीमा

सुनसरीस्थित धरानमा दुई फार्मेसी पसलहरू मास्क र स्यानिटाइजर बिल (बिजक ) बिना खरिद तथा बिक्री गरेर राजश्व छली गरेपछि कारबाहीमा परेका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आज गुनासोका आधारमा बजार अनुगमन गरी कारबाही गरेको वाणिज्य आपूर्ति तथाउपभोक्ता संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान अगाडि सुजिता सुनुवारले संचालन गरेको सुनौलो मेडिकल हललाई सुगर टेस्टको मेसिन महँगोमा बिक्री गरेको गत १३ गते उपभोक्ता संरक्षण कार्यालय विराटनगरले खरिद गरेको बिल मागेको तर हालसम्म नदेखाएको र बिक्री मूल्यभन्दा २७ प्रतिशत नाफालिएको पाइएको थियो ।
सुनौलो मेडिकल उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ ङ को दफा ५४ को उपदफा दुई बमोजिम आधारमा सोही ऐनको दफा ३९ क बमोजिम क्रमशः २० हजार जरिवाना गरी सम्झाई बुझाई गरेको कार्यालयका प्रमुख पोखरेलले जानकारी दिए ।
सरिता साह र किशोर साहले संचालन गरेको टाटा फार्मेसीले पनि बिलबीजक नराखी मास्क तथा सेनिटाइजर खरिद बिक्री गरेकाले २०७५ को दफा ३९ क बमोजिम २० हजार जरिवाना गरेको पोखरेलले बताए।
गुनासो धेरै ठाउँमा आइरहेकाले गुनासोका आधारमा पसल अनुगमन तथा अनुसन्धान कार्यलाई थप प्रभावकारी, परिमाणमुखी बनाउने पोखरेलको भनाइ छ । उनले उपभोक्तालाई सामान किन्दा बिल पनि माग्न अनुरोध गर्दै भने सामान महँगो लागेमा अनलाइनबाट पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरलाई उजुरी गर्न मिल्ने बताएका छन् ।
इटहरी उपमहानगरले इटहरी क्षेत्रमा सर्जिकल मास्क पाँच रुपैयाँभन्दा बढीमा मूल्यमा नबेच्न निर्देशन दिएको छ । बिहान बजार अनुगमनका क्रममा दुई देखि तीन रुपैयाँमा खरिद मूल्य रहेको मास्क पाँच रुपैयाँभन्दा बढी मूल्यमा नबेच्न निर्देशन हो ।
जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी र सञ्चारकर्मी सहितको टोलीले अनुगम नगर्दा मास्कका मनपरी मूल्य राखेपछि उपमहानगरले यस्तो निर्णय गरेको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नवीन भट्टराईले जानकारी दिए ।
पाँचवटा औषधी पसलको अनुगमन गर्दा चार वटाले त सर्जिकल मास्क खरिद गरेको विल समेत देखाएनन् । ९० रुपैयाँ खरिद मूल्य रहेको स्यानिटाइजर १ सय ६५ रुपैयाँमा बेचेको पाइएको थियो ।
राजश्व प्रशासन शाखा प्रमुख नवीन भट्टराईले तत्काललाई बढी मुनाफा राखेर नबेच्न सचेत गराइएको सर्किजल मास्क पाँच रुपैयाँभन्दा बढीमा नबेच्न वा खरिद बिलको रकममा २० प्रतिशत मात्र नाफा लिन निर्देशन भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्