Logo

कोरोना संक्रमणसँग जुँध्न गोल्छा ग्रुपद्वारा रु १ करोडको सहयोग

गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई रु १ करोड सहयोग हस्तान्तरण गरे । कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो । अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै हाल दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले गोल्छा गु्रपले उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ ।
गोल्छा गु्रपद्वारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरुद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरुको संख्या बढाउने लगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने बताएको छ ।
अहिले देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेको छ र कोरोनाको यो दोस्रो लहरले हामी सबैलाई एकदमै अफ्ठ्यारोमा पारेको छ भन्दै गोल्छा गु्रपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “यस महामारीको घडीमा हामीले पाटन अस्पताललाई सहयोग गर्न पाउँदा हामी निकै नै खुसी छौँ ।“

प्रतिक्रिया दिनुहोस्