Logo

संक्रमितभन्दा मृत्यु हुने बढे


कोरोना महामारीको नयाँ भेरियन्टसहितको सुरु भएको दोस्रो लहरमा संक्रमित हुने मानिस दिनप्रतिदिन बढ्दै गएका छन् । संक्रमित हुनेको संख्या बढ्दै जाँदा निको हुनेको संख्या पनि बढ्दै गएको छ । कञ्चनपुर जिल्लाको अवस्था हेर्ने हो भने दैनिकरूपमा संक्रमित थपिनेको संख्याभन्दा महामारीबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । जिल्लाको सोमबारको संक्रमित तथ्यांकलाई हेर्ने हो भने आइतबारसम्म संक्रमित हुनेको संख्याभन्दा सोमबार संक्रमित हुनेको संख्या घटेको छ । सोमबार जिल्लामा १ सय ८४ नयाँ संक्रमित थपिएका छन् । यस्तै सोमबार नै ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
“आइतबार नयाँ कोरोना संक्रमितको संख्या २ सय ९३ जना थियो, त्यसै गरेर संक्रमितबाट मृत्यु हुनेको संख्या ५ जना थियो,” स्वास्थ्य कार्यालय कञ्चनपुरकी कम्प्युटर अपरेटर महिन्द्रा भट्टले भनिन्, “सोमबार आएर संक्रमितको संख्या घटेर १ सय ८४ नयाँ संक्रमित थपिएका छन्, यस्तै सोमबार संक्रमितबाट मृत्यु हुनेको संख्या पनि ७ जना रहेको छ, यसले गर्दा दैनिक संक्रमित हुनेको संख्याभन्दा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।” जिल्लामा हालसम्म ३ हजार ७६ जना पीसीआर टेस्ट र १ हजार १ सय ४२ जना एन्टिजेन टेस्ट गरेर जम्मा ४ हजार २ सय १९ जना कोरोना संक्रमित भइसकेको अवस्था छ । जसमध्ये हालसम्म पीसीआर र एन्टिजेन गरेर १ हजार ९७ जनामा भने सक्रिय संक्रमित बिरामी रहेका छन् ।
यस्तै सक्रिय संक्रमित बिरामीमध्ये जिल्लाको विभिन्न ठाउँका अस्पतालमा उपचार भइरहेको छ । “जिल्लाको महाकाली अस्पतालमा हाल ६६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने २१ जना संक्रमितको सामुदायिक स्वास्थ्य इन्स्टिच्युटमा उपचार भइरहेको अवस्था छ । यसैगरी थप अन्य संक्रमित बिरामीमध्ये १५ जना बेलौरी र ७ जना पुनर्वास नगरपालिका क्षेत्रमा संक्रमितको उपचार भइरहेको छ ।” कम्प्युटर अपरेटर भट्टले भनिन् । यसैगरी सक्रिय संक्रमित मध्येबाट हालसम्म जिल्लामा ७४ जनाको मृत्यु भएको छ । जसमध्ये अन्य होम आइसोसनमा घरमा बसेका छन् भने बाँकी संक्रमित निको भएको उनको भनाइ छ ।
स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले कोभिड संक्रमितभन्दा मृत्यु बढी नभएको दाबी गरे । स्वास्थ्य कार्यालयका प्रमुख सुनारले कोरोना महामारी समुदायस्तरमा फैलिएको अवस्था भएका कारण संक्रमितभन्दा मृत्यु बढी नभएको उनको भनाइ छ ।
“कोरोना महामारी समुदायस्तरमा फैलिएको अवस्था छ, तर संक्रमण समुदायस्तरमा फैलिएको भए पनि कोरोना चेकजाँच गराउने मानिसको संख्या भने एकदमै थोरै छ, त्यसकारण संक्रमितको संख्या बाहिर डाटामा कम आएको हो ।” स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “संक्रमितको आशंका भएका मानिसले पनि कोरोना टेस्ट गर्ने हो भने अत्यधिक रूपमा कोरोना संक्रमित भएको पाइने अवस्था भएको छ, त्यसकारण संक्रमण भएर पनि महामारीलाई सामान्य महसुस गरेर अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्दा संक्रमित बिरामीको मृत्यु हुने गरेको अवस्था छ ।” उनका अनुसार संक्रमित भएको बिरामी महामारीको अन्तिम चरणमा मात्रै अस्पताल आइपुग्ने र अस्पताल आउँदा अक्सिजनलगायत बेडको उपलब्धता नपाउँदा संक्रमित बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको प्रमुख सुनारले बताए । छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गरेको नयाँ भेरियन्टसहितको कोरोना महामारीले प्रभाव पारेको उनको भनाइ छ । यस्तै सीमाक्षेत्रमा भारतबाट नेपाल आउने नेपाली नागरिकको संख्या घटेको भए पनि संक्रमण दर भने उच्च हुँदै गएको उनको बुझाइ छ ।
यसैगरी सोमबार गड्डाचौकी नाकाबाट पनि २ सय ४४ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् । कोरोनाको दोस्रो लअर सुरु भएपछि फागुन २४ गते यता हालसम्म उक्त नाका भएर २७ हजार ५ सय ४३ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्