Logo

नगरपालिकाले नै संचालन गर्यो रक्सी उद्योग !

रुकुम-रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले नै रक्सी उद्योग संचालन गरेको छ । नगरपालिकाको वडा नम्बर १२ सिमचौरमा उद्योग संचालन गरेको हो । संघिय सरकारले मदिराजन्य बस्तु सेवन तथा बिक्रिलाई झनै कडाई गर्ने तयारी गरिरहेको बेला रुकुम पश्चिम स्थित स्थानीय सरकारले भने उद्योग नै संचालन गरेको हो । संघिय सरकारले ‘मदिरा उत्पादन र विक्री वितरणको नियन्त्रण तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धि कार्यकारी आदेश २०७५’ जारी गरी पहिलेको भन्दा कडा कानुनी प्रावधान राख्न लागेको छ । जसमा मदिरा उद्योगमा सरकारी प्रोत्साहन नगर्ने देखि नयाँ मदिरा उद्योग संचालनका लागि अनुमति नदिने र अनुमति लिई ५० प्रतिशत सम्म पुर्बाधार बनाएका उद्योगहरुको समेत ईजाजतपत्र खारेज गर्ने व्यवस्था ल्याउन लागेको छ । गृह मन्त्रालयले मन्त्रीपरिषदमा पेश गरेको उक्त मस्यौदा जारी भएपछि कानुन कार्यन्यवनमा आउने छ । तर आठबिसकोट नगरपालिका र नीजि क्षेत्रको सहकार्यमा संचालन हुन लागेको मदिरा उद्योगको काम भने धमाधम भैरहेको छ । कोटकिङ्ग डिस्टलरी प्रालिको नामबाट संचालित उक्त उद्योगबाट अबको ९ महिना भित्रै उत्पादित मदिरा बजारमा आउने छ । फलफुलमा आधारित रक्सी उद्योगमा हाल फलफुट कुहाउने काम भैरहेको बताईएको छ ।
स्थानीय डिम्मुरको फलबाट रक्सी
उद्योग मार्फत बजारमा आउने सबै रक्सी फलफुलमा आधारित हुने कोटकिङ्ग डिस्टलरी प्रालिका अध्यक्ष दलबहादुर शाहले दाबी गरे । उनका अनुसार पहिलो पटक उद्योगमा स्थानीय डिम्मुरको फलबाट वाईन उत्पादन गरिने छ भने दोस्रो चरणमा चिउरीको फलबाट उत्पादन हुने छ । डिम्मुर त्यस क्षेत्रको जंगलमा पाईने एक प्रकारको फल हो । यसअघि उक्त फल जंगलमा त्यसै खेर समेत गैरहेको थियो । ‘अन्य बजारमा पाईने जस्तो वाईन हामीले उत्पादन गर्दैनौं, हामीले उत्पादन गर्ने वाईन स्पेशल फलफुलमा आधारित वाईन हो’ अध्यक्ष शाहले भने, ‘सायद बिश्वकै पहिलोपटक होला, हामी डिम्मुरबाट वाईन उत्पादन गर्दै छौं ।’ वाईन उत्पादनका लागि करिब ३ सय क्लिन्टल बढी डिम्मुर जंगलबाट टिपेर उद्योगमा ल्याईएको छ । प्रतिकिलो १५ देखि ३० रुपैयाँ किलोमा स्थानीयबाट खरिद गरिएको डिम्मुरको मुल्य मात्र करिब ३० लाख बढीको भैसकेको छ । ‘हामीले करिब ४० लाखको डिम्मुर खरिद गर्ने लक्ष्य हो, ३०÷३२ लाख जतिको त स्थानीयबाट खरिद नै गरिसकेका छौं’ अध्यक्ष शाहले भने, ‘डिम्मुर हाम्रो नगरपालिकाको माथीमाथी जंगलका साथै डोल्पा, जाजरकोट र रोल्पाका बिभिन्न ठाउँहरुबाट समेत संकलन गरेर हामीलाई स्थानीयहरुले बेच्ने गरेका छन । उद्योग संचालन समितिले डिम्मुर, चिउरी सगै महबाट हुने हनी वाईन समेत उत्पादन गर्ने सोच बनाएको छ ।
वाईन खाँदा स्वास्थ्यलाई पनि फाईदा हुने दाबी
उद्योग संचालक संस्थाले आफ्नो उद्योगबाट उत्पादित वाईन मनोरञ्जनका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि फाईदा हुने दाबी गरेको छ । आफुहरुको वाईन उच्च पहाडमा पाईने फलफुल र प्राकृतिक स्वादमा हुने भएका कारण स्वास्थ्यका लागि हानीकारण नभएर फाईदाजनक हुने दाबी गर्दै आएको छ । ‘हाम्रो वाईन जति पायो त्यति नै खाने हो भने त फरक कुरा भयो तर दैनिक थोरथोरै खाने हो भने स्वास्थ्यको लागि पनि लाभलायक हुने चिकित्सकहरुले पनि हामीसंग बताएका छन’ अध्यक्ष शाहले भने, ‘तर हाम्रो उत्पादन अलि महंगो हुन्छ, हामीले देशमा भन्दा बिदेशमा बढी बजार बिस्तार गर्ने योजनामा छौं ।’
४ करोड बढीको लगानी, स्थानीयलाई रोजगारी
उद्योगमा आठबिसकोट नगरपालिका र कोटकिङ्ग डिष्टिलरी प्रालिको सहकार्यमा लगानी गरिएको छ । जसमा नगरपालिकाको ४० प्रतिशत र स्थानीय व्यवसायीहरुको ६० प्रतिशत लगानी छ । उद्योगमा भारतको सोला वाईनले प्रयोग गरेको प्रबिधी भित्र्याइएको बताईएको छ । हालसम्म करिब ३ करोड खर्च भैरहेको छ भने वाईन बजारमा आउनेबेला सम्म ४ करोड बढी खर्च हुने अनुमान गरिएको छ । स्थानीयलाई रोजगारीको साथै नगरक्षेत्रको समग्र आम्दानीको लागि उद्योग संचालन गरिएको नगरपालिकाले बताएको छ । उद्योग संचालन शुरु भएपछि त्यहाँ स्थित स्थानीयहरुलाई रोजगारीको अवसर भने प्राप्त भएको छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ संकलन देखि पुर्बधार निर्माणको काममा स्थानीयले नै रोजगार पाएका छन । उद्योगमा वाईन उत्पादनका लागि आवश्यक डिम्मुर स्थानीयहरुले नै संकलन गरेका छन । डिम्मुरको संकलन र ग्रेडिङ सम्म महिलाहरुकै सबैभन्दा बढी सहभागीता छ । वाईन उत्पादनको लागि डिम्मुर ग्रेडिङ गर्न उद्योग परिसरमा दैनिकजसो एक दर्जन बढी महिलाहरुले काम गर्दै आएका छन । आफुहरुले दैनिक ७ सय सम्म कमाउने गरेको स्थानीय महिला कमला बिकले बताईन ।
नगरमा सेवन कडाई गछौं, बिदेशमा बेच्छौं
संघिय सरकारले मदिरा बिक्रि बितरण र उत्पादनमा रोक लगाउने तयारी गरिएको बेला आठबिसकोट नगरपालिकाले किन मदिरा उद्योग नै संचालन गरेको भन्ने प्रश्नका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले नगरमा मदिरा सेवन कडाई गर्ने र उत्पादित वाईन बिदेशमा बेच्ने प्रतिक्रिया दिए । नगरपालिकाले मदिरा बिक्रि बितरण र सेवनको बिषयमा कडा कानुन समेत बनाएको भन्दै यहाँ उत्पादन भएको मदिरा सेवन गरेर नगरमा होहल्ला र बिकृति मच्चाउन नदिने उनको भनाई छ । ‘हाम्रो एकदमै फलफुलमा आधारित वाईन हो, जसमा अल्कोहलको मात्र निकै कम हुन्छ’ प्रमुख प्रशासकीय अधिकृत केसीले भने, ‘हामीले यहाँ वाईन मात्र होईन, बिभिन्न जुस पनि उत्पादन गछौं, फेरी हामी यहाँ उत्पादन भएको वाईन जिल्लामा भन्दा बिदेशमा निर्यात गछौं ।’ देश तथा बिदेशमा मदिरा उत्पादन भैरहेको भन्दै आठबिसकोट नगरपालिकाले पनि वाईन उद्योग संचालन गरेको कुरा कुनै अनौठो नभएको बताए । तर आठबिसकोट नगरपालिकाले यसअघि नै मदिरा सेवनलाई जिल्लाका अन्य स्थानीय तहको भन्दा कडाईको नियम बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्