मौज्दात सिलिन्डर अस्पताललाई उपलब्ध गराउन महासंघको अपिल
नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको दोस्रोे लहरबाट देशभर संक्रमित भएका बिरामीको उपचारका लागि मौज्दात सिलिन्डर तत्काल उपलब्ध गराउन माग गरेको छ ।
अक्सिजनको चरम अभाव भइरहेको स्थितिमा पुल, हाइड्रो, ट्रस्ट, स्टिललगायतका निर्माणकार्य गर्दा वेल्डिङका लागि प्रयोग हुने आफूसँग मौज्दात अक्सिजन सिलिन्डर संक्रमितको उपचारका लागि उपलब्ध गराउन महासंघका महासचिव रोशन दाहालले अपिल गरेका छन् । त्यस्ता सिलिन्डरको लगत राखी सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमार्फत नजिकका अस्पताललाई तत्काल उपलब्ध गराई सहयोग गर्न महासंघले आफू मातहतका सम्पूर्ण सदस्य, प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट सदस्य तथा वस्तुगत संघहरूलाई अपिल गरेको हो । देशभर हाल सञ्चालित साढे ६ हजार परियोजनामध्ये लगभग दुई हजारमा अक्सिजन सिलिन्डरको प्रयोग भइरहेको अवस्थामा ती सिलिन्डरहरू कोभिड संक्रमितको उपचारमा प्रयोग गर्न सके मानवीय क्षति केही कम गर्न सकिने महासंघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । गत वर्ष कोरोना भाइरसको पहिलो लहरबाट मुलुक आक्रान्त हुँदा महासंघले संघीय सरकार तथा प्रदेश सरकारहरूलाई आर्थिक सहयोग गरेको थियो । त्यस्तै विगतमा भूकम्प, बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको समयमा आफ्नो ठाउँबाट गर्नसक्ने अधिकतम सहयोग गरी महासंघले पीडितहरूको घाउमा मल्हम लगाउन कार्य गरेको विज्ञप्तिमा जनाइएको छ ।