पेट्रोलियम डिलर्स एसोसिएसनद्धारा १० बेडको आइसोलेसन स्थापना
गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनले १० बेडको कोभिड उपचार केन्द्र (आइसोलेसन सेन्टर) स्थापना गरेको छ । कोरोनाको दोस्रो लहरको संक्रमण अत्याधिक बढेसँगै अस्पतालहरूमा कोरोनाका बिरामीहरूको उपचार गर्न कठिनाई भएकाले गर्दा आफूहरूले थोरै भए पनि केहीलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त सेन्टर स्थापना गरिएको एसोसिएसनका अध्यक्ष राजन गंगजुले बताए ।
आफूहरूले हाल एसोसिएसनको भवनमै पहिलो चरणमा १० बेडको आइसोलेसन सेन्टर स्थापना गरे पनि पछि कोरोनाका बिरामीको थप चाप र माग भएबमोजिम पुनः थप १० बेड विस्तार गर्न सकिने भएको उनले जनाए । सामाजिक उत्तरदाहित्वअन्र्तगत आफुहरूले करिब ४८ घण्टामा २ लाखभन्दा बढीको लागतमा उक्त सेन्टर स्थापना गरिएको अध्यक्ष गंगजुले बताए । सेन्टरमै खाना बस्नको लागि आवश्यक पर्ने सामानदेखि स्वास्थ्य सामग्रीहरूसमेत उपलब्ध गराएको उनले जनाए । इच्छाअनुसार आफैं पकाउन चहानेका लागि र मेनमा खानका लागि समेत प्रबन्ध गरिएको गंगजुले जनाए ।
एक दिन बिराएर डा. देव थापाले सेन्टरका बिरामीको रेखदख गर्ने भएका छन् । अनिवार्य अक्सिजन लगाउनुपर्ने बिरामी र गम्भीर प्रकारका कोरोनाका बिरामी बाहेक एसोसिएसनका सदस्य एवं गरिब तथा विपन्न वर्गका व्यक्तिको निःशुल्क उपचार गर्ने उद्देश्यले उक्त सेन्टरको स्थापना गरिएको अध्यक्ष गंगजुले जनाए । उनका अनुसार उक्त सेन्टर मंगलबारदेखि संचालन हुने भएको छ ।
कोरोनाका बिरामीलाई त्यहाँ बस्ता आवश्यक पर्ने खाने कुराको साथमा मनोरन्जन समेत दिने उद्देश्यले खेल सामग्रीको समेत जोहो गरेको गंगजुले जनाए । एन्टीवाइटिक औषधिदेखि बाफ लिने मेसिन, ज्वरो मापन गर्ने थर्ममिटर, मास्क, सेनिटाइजर लगायतको हरेक वेडमा उपलब्ध गराएको उनले बताए । बिहान–बेलुका खाना तथा बिहान र दिउँसोको खाजाको समेत प्रबन्ध गरिने भएको गंगजुले जनाए ।