अक्सिजनको माग धेरै, उत्पादन कम
कोरोना महामारीको दोस्रो भेरियन्ट सुरु भएपछि अस्पतालमा बिरामीको चाप बढ्दो छ । उपचारका लागि आउने बिरामीमध्ये ८० प्रतिशतलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था छ । देशैभरि अक्सिजनको हाहाकार हुँदा खासगरी कोरोनाका बिरामीको उपचार हुने बाँकेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरलगायत विभिन्न आइसोलेसनमा अक्सिजन खपत बढेको छ । यतिबेला बाँकेमा मात्र दैनिक नौ सय सिलिन्डर अक्सिजन ग्यासको माग रहेको छ । मागको तुलनामा जिल्लामा रहेका दुईवटा अक्सिजन उद्योगबाट दैनिक १ हजार ३ सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन हुन्छ । विभिन्न जिल्लाबाट अक्सिजन ग्यासको माग भएका कारण उत्पादनभन्दा माग बढी आइरहेको एचओ अक्सिजन उद्योगका सञ्चालक अजयकुमार पाठकले बताए । उद्योगले हाल दैनिक ५ सय सिलिन्डर भेरी अस्पतालमा, २ सय ५० सिलिन्डर मेडिकल कलेजमा, दाङमा २ सय ३०, सुर्खेतमा सय र बाँकेका विभिन्न होम आइसोलेसनमा सय सिलिन्डर अक्सिजन आपूर्ति गर्दै आएको छ । दैनिक हजार सिलिन्डर उत्पादन क्षमता भए पनि उत्पादनको तुलनामा दैनिकरूपमा माग बढी हुन थालेकाले यसपछिका दिनमा समस्या हुनसक्ने उनको भनाइ छ ।
दैनिक साविकमध्य तथा सुदूरका विभिन्न जिल्लाबाट जनप्रतिनिधिदेखि मन्त्रीसम्म अक्सिजन उपलब्ध गराउन माग गर्ने गरेको उद्योगले जनाएको छ । तर आफूहरूले सिडियोको सिफारिसमा मात्र दिने गरेको सञ्चालक पाठकले बताए ।
गतवर्ष यसवर्ष जस्तो माग नभएको उद्योगले जनाएको छ । गतवर्षको साउनसम्म उद्योगले मासिक ९ हजार १ सय २० सिलिन्डरका दरले ८२ हजार ८६ सिलिन्डर ग्यास मात्र उत्पादन गरेको थियो । उद्योगका अर्का सञ्चालक महेश कुर्मी त्यतिबेला ७० प्रतिशत विभिन्न उद्योगमा र ३० प्रतिशत अस्पतालमा खपत हुने गरेको बताउँछन । तर, यसवर्ष उद्योगबाट माग खासै नआएको आएका उद्योगमा पनि नदिएको उनी बताउँछन् । “सबै सिलिन्डर अस्पताललाई उपलब्ध गराउँदा पनि आपूर्ति गर्न हम्मेहम्मे भएको छ,” उनले भने ।
अक्सिजन ग्यासको खपत बढेपछि उद्योग हाल २४ सै घण्टा सञ्चालन हुने गरेको छ । हाल दैनिक करिब ८ सयभन्दा बढी सिलिन्डर अक्सिजन ग्यास उत्पादन भइरहेको उद्योगले जनाएको छ ।
यता कोरोनाका उपचार हुने भेरी अस्पतालमा संक्रमितमध्ये ८० प्रतिशत बिरामीलाई अक्सिजनको आवश्यक्ता पर्ने बिरामी छन् । यस्तो अवस्थामा क्षमताभन्दा दोब्बर बिरामीलाई अक्सिजन दिनुपर्दा समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ । १ सय ४२ बेड क्षमताको कोरोना वार्डमा अढाइ सय बढीलाई राखेर अक्सिजनसहित उपचार गर्नुपर्ने भएपछि अक्सिजन ट्रान्सपोर्ट सिस्टमले नधान्ने भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए । अक्सिजन आपूर्तिमा समस्या हुन थालेपछि भेरी अस्पतालले लिक्विड अक्सिजन ट्यांक खरिद गरेको छ । तर भारतबाट लिक्विड अक्सिजन आई नपुगेकाले ट्यांक ठड्याउने कार्यसमेत हुन नसकेको जनाउँदै लिक्विड अक्सिजन आपूर्ति भए निकै सहज हुने डा. पाण्डेको भनाइ छ । अस्पतालले ८२ लाख रुपैयाँको लागतमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक निर्माण गरिरहेको छ ।