थाहा नगरका किसानको बारीमै कुहिन थाल्यो तरकारी «

थाहा नगरका किसानको बारीमै कुहिन थाल्यो तरकारी


तरकारी उत्पादनको पकेट क्षेत्रको रूपमा परिचित मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरका किसानहरू कोरोना महामारीसँगै भएको निषेधाज्ञाको कारण तरकारी बिक्री नुहँदा चिन्तित बनेका छन् । मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर त्यसकै आम्दानीमा निर्भर हुने गरेका किसानहरूलाई पछिल्लो समय उत्पादित तरकारी बिक्री नहुँदा बारीमै कुहाएर मल बनाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।
निषेधाज्ञाका कारण थाहामा उत्पादित तरकारीको खपत घटेको छ । थाहा नगरमा उत्पादित तरकारीको प्रमुख बजार नै काठमाडौं हो । तर, बिगत १५ दिनयता तरकारी खपत प्रायः ठप्प नै छ । थाहा नगरमा उत्पादित तरकारी हेटौंडादेखि पोखरासम्म पुग्ने गरेकोमा सबैतिर निषेधाज्ञा भएपछि व्यापारीहरू गाउँमा जान छाडेका छन् ।
निषेधाज्ञाका कारण बजार नपाएपछि अहिले किसानको खेतमै काउली, बन्दालगायतका तरकारी कुहिन थालेको छ । ‘हामीले काठमाडौंलाई नै तार्गेट गरेर तरकारी फलाउने गर्छौं । अहिले त्यहाँ निषेधाज्ञा भएपछि तरकारी किन्न व्यापारीहरू पनि आएका छैनन् । यसपाला ठूलो घाटा लाग्ने भयो ।’ पालुङ शिखरकोटका किसान अञ्जन गोपालीले भने । उनको अहिले करिब दुई रोपनी खेतमा काउलीसहित अन्य तरकारी फलेका छन् । तरकारी किन्न व्यापारी नै नआएपछि खेतमै कुहिने अवस्था आएको उनले सुनाए । ‘खेतभरी काउली छन्, बिक्री भएको छैन, अब यसलाई धेरैदिन राख्न पनि मिल्दैन । खनजोत गरेर अर्को तरकारी लगाउने बेला हुन लागिसक्यो । केही दिन बाटो हेर्छौ । नबिके खेतमै मल हुन्छ,’ उनले भने ।
गोपालीले अघिल्लो ववर्ष पनि तरकारीमा घाटा बेहोरेका थिए । कोरोना महामारीका कारण गत वर्ष चैतदेखि भएको लकडाउनका कारण उनले लाखौंको तरकारी कुहाएर फालेका थिए । शिखकोटकै सुरज भुजेलले पनि खेतमा लगाएको काउली र बन्दा निकालेर खेत नजिकै थुपारेका छन् । खेतमा अकबरे खुर्सानी रोप्न थालेका छन् । थुपारिएको काउली र बन्दा लिनको लागि दुइदिनदेखि उनी व्यापारीको गाडी कुरिरहेकी छन् । ‘अझै १–२ दिन त बिग्रँदैन होला, त्यतिबेलासम्म पनि बिकेन भने यो काउली र बन्दा यहिँ कुहिन्छ ।’ .उनले भने । निषेधाज्ञा भएपछि निकै कमै मात्र व्यापारी तरकारी खरिदका लागि आउने गरेका छन् । आक्कलझुक्कल व्यापारी आइहाले पनि मूल्य भने निकै कम दिने गरेको किसानहरूको गुनासो छ । ‘निषेधाज्ञा अघिसम्म किलोमा ५० रुपैयाँमा बेचेको काउनी अहिले व्यापारीले ३० रुपैयाँमा पनि लिन छाडे । हुँदाहुँदा व्यापारी नै आउन छाडेपछि त त्यही पनि बारीमै कुहिएर जान थाल्यो ।’ बज्रबाराहीका बिरबल रुम्बाले भने ।
स्थानीय तरकारी संकलक व्यापारी राजेन्द्र बिडारीका अनुसार थाहा नगरमा यस सिजनको अन्तिम बालीको रुपमा मूला, काउली र मटरकोसा उत्पादन भएकोमा काउली र मूला उत्पादक किसान निषेधाज्ञाको मारमा परेका छन् । निषेधाज्ञा अघि ४० रुपैयाँ किलोमा बिकेको मूला हाल ७ रुपैयाँमा झरेको उनले बताए । बेमौसमी तरकारीको हबको रुपमा रहेको बज्रबाराही, पालुङ क्षेत्रका किसानहरूले लाखौं रुपैयाँ घाटा बेहोर्न परिरहेको थाहा नगरका प्रमुख लवशेर विष्टले बताए ।
कोरोना महामारीका कारण तरकारीको खपत घटेपछि उत्पादित तरकारी बिक्री नै नहुने अवस्था आएपछि किसानहरू निराश बनेको उनले बताए । कम्तीमा पनि किसानले उत्पादन लागतसम्म उठाउन मात्रै सके पनि राहत हुने भन्दै उनले तरकारीको बजार व्यवस्थापनमा नगरपालिकाले पनि कुनै योजना बनाउनेबारे सोचिरहेको नगर प्रमुख विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्