सिरीजंघा र सिदिङ्मा गाउँपालिकाद्वारा अतिआवश्यक बाहेकका सेवा बन्द
ताप्लेजुङमा बैंक तथा वित्तीय संस्था बन्द
जिल्ला प्रशासन कार्यालयले वैशाख २४ गते सूचना प्रकाशित गरेर वित्तीय संस्थाहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । बैंकहरूले १ जना मात्र कर्मचारी राखेर अतिआवश्यक सेवाग्राहीको हकमा मात्र सेवा प्रवाह गर्न निर्देशन दिएको हो । फुङलिङ नगरपालिकामा ३ जनाको मृत्यु र १ सय ७ जना सक्रिय संक्रमित भएसँगै बन्दको निर्देशन जारी गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
यसैबीच प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङवुहाङको समन्वयमा पठाइएको स्वास्थ्य सामाग्री शुक्रबार जिल्ला अस्पताललाई प्रदान गरेको छ । जिल्ला अस्पतालका प्रमूख डा. सोनिङ लामाका अनुसार वेड १० सेट (स्टेन, टुल बक्स), पीपीई २ सय थान, स्वाब संकलन गर्ने किट बक्स ३ सय थान र २० लिटर सेनिटाइजर उपलब्ध गराएको छ । अस्पतालमा अक्सिजन सिलिन्डर २२ वटा मात्र मौज्दात भएकाले प्रदेश, संघ सांसद तथा मन्त्री आङवुहाङले अग्रिम तयारी बारे जानकारी गरएको छ । यसैबीच वैशाख २४ गते एन्टिजेन परीक्षणमा १ जनामा कोरोना संक्रमण देखा परेको छ ।
अस्पतालस्थित फिवर क्लिनिकमा ८ जना र कोविड आइसोलेसनमा ३ जना उपचारमा छन् । जिल्लाबाट वैसाख २३ गते १ सय २ जनाको स्वाव संकलन गरेर पठाएकाको रिपोर्ट सम्भवत शनिबार मात्र आउने भएको छ । यसअघि पनि स्वाब संकलन गरेको ३ दिनमा मात्र रिपोर्ट आउने गरेको थियो ।
उता जिल्लाको सिदिङमा र सिरीजंघा गाउँपालिकाले वैशाख मसान्तसम्म अत्यावश्यक वाहेक सवै सेवा वैशाख २४ गतेदेखि बन्द गरेको छ । सिरीजंघा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ र सिदिङ्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनद्वारा हस्ताक्षरित सूचनामा सेवा बन्द गरेको उल्लेख छ । दुवै पालिकाहरूले गाउँपालिकामा सवारी साधन आवत–जावतमा समेत रोक लगाएको छ । प्रशासनले एक हप्तासम्म लागू हुनेगरि बैसाख २० गते जारी गरेको निषेधाज्ञा पूर्णरूपमा पालना भएको प्रशासनले जनाएको छ ।