गण्डकी प्रदेशसभाको विषेश अधिवेशन अन्त्य «

गण्डकी प्रदेशसभाको विषेश अधिवेशन अन्त्य

गण्डकी प्रदेश सभामा निर्णायक मत भएको राष्ट्रिय जनमोर्चाले हालसम्म कुन पार्टीलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय लिन नसक्दा गण्डकी प्रदेशमा नयाँ सरकार गठन हुन सकेको छ्रैन । नेकपा एमाले नेतृत्वसँग एक स्वतन्त्र सहित २८ मत रहेको छ भने प्रतिपक्ष दल नेपाली कांग्रेस (१५), माओवादी केन्द्र (११) र जनता समाजवादी पार्टी (जसपा) (२) गरी उनीहरुसँग समेत २८ मत रहेको छ ।
पहिलाको एमाले नेतृत्वको सरकार बन्दा होस् वा गठबन्धन सरकार बन्दा नै किन नहोस् उनीहरुलाई जनमोर्चाकै साथ र सहयोग आवश्यक परेको छ । जनमोर्चाले हाल पर्ख र हेरको अवस्थामा आफूहरु रहेको राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले बताए ।
नयाँ सरकार बनाउन कम्तिमा ३१ सांसदहरुको हस्ताक्षर आवश्यक पर्छ । मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) लाई आफ्नो पक्षमा पार्न युवा तथा खेलकुद मन्त्री समेत दिएर आफ्नो पोल्टामा पारेका थिए भने कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउने प्रस्ताव सहित सदनमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव समेत पेश भएको थियो । विषेश अधिवेशसन वैशाख २७ गते बस्ने तय भएपछि एक दिनअघि नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् ।
गण्डकी प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र दलहरुलाई नयाँ सरकार बनाउन आइतबार आह्वानसमेत गरेकी छन् । आफूहरुसंग २८ जनाको हस्ताक्षरसहित नयाँ गठबन्धन सरकार बनाउने योजनाका साथ तयारी अवस्थामा रहेको कांग्रेस सांसद बिन्दुकुमार थापाले बताए । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले आफ्नो टिम समेत नयाँ सरकारको गृहकार्यमा लागेको बताए ।
नेकपा एमाले नेतृत्वमा मुख्यमन्त्री बनेका गुरुङको सरकारविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ गते २८ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेका थिए । विगत १३ दिनदेखि स्थगित भएको सदनको विषेश अधिवेसन अन्त्य भएको छ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले गण्डकी प्रदेश सचिवालयमा एउटा पत्र मार्फत प्रदेशको विषेश अधिनेवन अन्त्य भएको जानकारी सचिवालयमा गराएको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्