मूर्ति कुदेर चलेको जीवन «

मूर्ति कुदेर चलेको जीवन

दाङ-जिल्लाका एक व्यक्तिले मूर्ति कुँदेर गरेको आफनो जिवन चलाउने गरेका छन् । घोराही उप महानगरपालिका वडा नं १४ वसपार्क कल्लु नेपाली मूर्ति निर्माण गरेर आफनो जिवीका चलाउने गरेका हुन् । औपचारिक कक्षा नलिएका नेपालीे विगत ४० बर्षदेखि घोराहीमा ‘भगवान’का मूर्ति बनाउँदै बेच्ने गरेका छन् । नेपालीले मूर्ति बनाएर आएको रकमबाटै घर व्यवहार चलाउने गरेका छन । २०१४ सालमा भारतको कानपुरमा जन्मिएका नेपालीको बाल्यकाल कानपुरमै बित्यो । घर घोराहीकै बनगाउँ सेवारमा रहेपनि रोजगारीको सिलसिलामा कानपुर बसाईका क्रममा उनी कानपुरमै जन्मिए । रोजगारीमा बुबा कानपुरमै बस्ने भएकाले उनी पनि उतै बसे । कानपुरमा उनका बुबा लालमोहन नेपालीले मूर्ति बनाउने काम गदर्थे । बाबुले मूर्ति बनाएको सानैदेखि देखेका उनले पनि त्यही सिप सिके । कानपुरबाट २०१८ सालमा घर फर्किए । घर फर्किएका नेपाली बुबासँगै घोराहीमा घर बनाउनेदेखि मूर्ति बनाउनेलगायतका विभिन्न काम गर्न थाले ।
घोराहीको मुख्य केन्द्रमा रहेको बालमन्दिर स्कुल उनका बुबाले बनाएका थिए । स्कुल बनाउदा मैले बुबालाई गारो लगाउन सहयोग गरेको थियो । त्यो समयमा बनाएको ठुलो काम भएकाले कल्लुका लागि त्यो काम अहिलेपनि सम्झनाका रुपमा छ । घर बनाउन सक्ने भएपनि कल्लुले आफनो मुख्य पेशा मूर्ति कलालाई बनाए । विभिन्न देवीदेवताका मूर्ति बनाउन सिपालु नेपालीले एक बर्षको अवधिमा चारपाँच सय मूर्ति बनाएर बिक्री गर्ने गरेका छन । त्यही मूर्ति बेचविखन गरेरै घर चलाउने गरेको उनले बताए । ‘म २०१४ सालमा जन्मिएको हु, अहिले ६१ वर्षको भए, अहिले पनि विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेको छु ’ उनले भने ‘करिव ४० बर्षको अवधिमा चार हजार बढी मूर्ति बनाइसकेको छु । मैले बनाएका मूर्तिहरू दाङसँगै विदेश समेत पुगेका छन ।’ उनका अनुसार मूर्ति दुई सयदेखि ८,९ हजारसम्मको मुल्यमा बिक्रि हुने गरेका छन । नेपालीका अनुसार उनले बनाएका मूर्तिहरू घोराही उपमहानगरपालिका–१३ बाह्राकुने दहको मुख्य मन्दिरमा राखिएको बह्राको मूर्ति हो । त्यस्तै मसिनामा रहेको गणेश मन्दिरमा गणेश भगवानको, घोराहीको लखन थापा पार्कमा लखन थापा मूर्तिसँगै मालपोत कार्यालय र नापी कार्यालयमा समेत आफुले बनाएका मूर्तिहरू राखिएको उनले बताए । उनले बनाएका मूर्तिहरू दाङ जिल्लासहित सल्यान, रोल्पा, प्युठान, रुकुम, काठमाण्डौ, नेपालगंजलगायतका स्थानहरूमा जाने गरेका छन् ।
पछिल्लो समय उनी मूर्ति बनाएर बेच्नेभन्दा पनि अडर अनुसार मूर्ति बनाउने गरेको बताउछन । ‘पछिल्लो समय मूर्ति किन्ने मानिसहरूको संख्या घट्दै गएको छ, । मन्दिरहरूमा राख्नका लागि मात्र किन्न आउने गरेका छन’, उनले भने,‘त्यसैले पछिल्लो समय कमै मूर्ति बनाउने गर्दै आएको छु ।’ उनका अनुसार चाडपर्वको समयमा धेरै मूर्तिहरूको अडर आउने गरेपनि अन्य समयमा खास्सै बिक्रि नहुने गरेको बताउछन ।
सुरुका दिनहरूमा माटो र काठबाट विभिन्न देविदेवताहरूको मूर्ति बनाउने गरेका नेपालीले पछिल्लो समय क्रंकिटबाट मूर्ति बनाउने गरेका छन । माटो र काठबाट बनेका भन्दा बढि क्रंकिटबाट बनेका मूर्तिहरू टिकाउ हुने र बिक्रि हुने भएकाले विगत केही वर्षदेखि माटो र काठबाट मूर्ति बनाउने काम छोडेको उनले बताए । मूर्ति बनाउन सिमेन्ट, बालुवा, गिट्टी, छडलगायतका सामाग्रीहरूको प्रयोग गर्ने गरेको बताए । नेपालीले गणेश, शिव, पावर्ती, दुर्गादेवी, सरस्वती, महाकाली, वनदेवी, बुद्धलगायत विभिन्न शहिदहरूको समेत मूर्ति बनाउने गरेका छन् । साथै उनले कसैले चाहेमा सर्वसाधारण नागरिकहरूका समेत मूर्ति बनाउने गरेको बताए । आफ्नो पुर्खेउली पेशाका रुपमा रहेको मूर्ति बनाउने पेशाले अहिले आफुलाई जीउन सहयोग पुर्याएको नेपालीले बताए । ओम मूर्ति कला केन्द्रका रुपमा मूर्ति बनाउदै आएका नेपालीले आर्थिक आम्दानीसँगै आफनो धर्म संरक्षणमा समेत सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्