Logo

सगरमाथा र अरू नेपाली हिमालका कमाइ

सन् २०२१ को वसन्त ऋतु नेपालको पर्वतारोहण क्षेत्रमा फलिफाप सिद्ध भएको मान्न सकिन्छ । किनभने यो वर्षको वसन्त ऋतुमा नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूले केही हदसम्म पर्वतारोहणबाट राम्रै आम्दानी गरेका छन् भन्न सकिन्छ । हुन पनि यो वर्षको हिउँद र वसन्त याम दुवै सिजनमा विभिन्न देशका विदेशी पर्वतारोहीहरूले ८ हजार ८ सय ४८.८६ मिटर अग्लो सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्न आएका छन् । चोमोलुङ्मा चढ्ने क्रम त सुरु पनि भइसकेको छ ।
जस्तै यसको सुरुवात विगतमा २४ औं पटक विश्वकै अग्लो सगरमाथा अर्थात् चोमोलुङ्मा (जुन समुद्र सतहदेखि नाप्दा ८ हजार ८ सय ४८.८६ मिटर अग्लो छ) चढिसकेका नेपालको सोलुखुम्बु जिल्ला स्थायी घर भएका कामीरिता शेर्पाले गत शुक्रबार २५ औं पटक चोमोलुङ्मा चढेका छन् । पर्वतारोहणको भाषामा भन्नुपर्दा कुनै पनि हिमाल आरोहण गर्ने क्रममा आवश्यक ठाउँ अर्थात् बाटामा हिँड्दा चाहिने क्लाइम्बिङ रोप अर्थात् डोरी टाँग्ने टोलीको नेतृत्व गरेर उनले यो सिजनको प्रथम आरोही बन्न सफल भएका छन् ।
हुन त विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) ले केही महिनाअघि प्रकाशित गरेको एक अध्ययन–प्रतिवेदनअनुसार सन् २०२० मा विश्व पर्यटन उद्योगले पर्यटनबाट हुने कुल आम्दानीमध्ये १० खर्ब ३ अर्ब अमेरिकी डलरबराबरको आम्दानी गुमाएको थियो । यूएनडब्लूटीओका अनुसार यो भनेको सन् २००९ मा विश्वव्यापी रूपमा छाएको आर्थिक मन्दीको समयमा विश्व विश्व पर्यटन उद्योगले पर्यटन क्षेत्रबाट गुमाएको आम्दानीभन्दा ११ पटकले बढी रहेको थियो । त्यसो त नेपालमा हाल दोस्रो लहर चलिरहेको छ, कोभिड–१९ को महामारी ।
कोरोनाको पहिलो लहरका कारण सन् २०२० मा विश्वमा ७४ प्रतिशतले पर्यटकहरू कमी आएको थियो भने नेपालमा त सन् २०२० मा केवल २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेका थिए । यसरी सन् २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको कोरोनाको महामारीसँगै सन् २०२० मा पर्यटकले गति लिन सकेन ।
तर, हालै सहयोगी ‘दैनिकी डट कम’ ले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागलाई आधार मानेर लेखेअनुसार सन् २०२१ को वसन्त ऋतुमा नेपालमा रहेको विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङ्मा, ल्होत्चे÷से, नुप्चे÷से, पुमोरी, मकालु, धौलागिरी, मनास्लु, हिमलुङ, तिलिचोलगायत हिमाल आरोहणका लागि लगभग ७ सय जनालाई आरोहणका लागि अनुमति दिएको छ, नेपाल सरकारले । हुन पनि यो वर्ष सहरबजार (काठमाडौंलगायत) मा कोरोना कहरको दोस्रो लहर चलिरहेको गम्भीर अवस्था छ भने उता सगरमाथाको आधार शिविरमा भने इतिहासकै धेरै (सन् २०१९ मा भन्दा बढी, सन् २०१९ मा ३ सय ८२ जनाले सगरमाथा चढ्नका लागि अनुमति लिएका थिए, त्यहाँ पनि १७ जनालाई कोरोनाले गाँजेको छ । उनीहरू पनि काठमाडांै आएर हस्पिटलाइज भइसकेका छन् ।) अर्थात् विश्वका विभिन्न देशका ४३ वटा आरोहण दलका ४ सय ८ जना पर्वतारोहीहरूले विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्नका लागि कोही बेस क्याम्पबाट माथि प्रस्थान गरिसकेका छन्, कोही उत्साहका साथ प्रतीक्षारत छन् ।
यसरी यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिम पर्वतहरू चढ्न आएका पर्वतारोहीबाट नेपाल सरकारले जम्मा ७१ करोड ४८ लाख आरोहण दस्तुरबापत नगद आम्दानी गरेको छ । त्यस्तै यो वर्षको वसन्त ऋतुमा नेपाल सरकार सगरमाथा हिमालको सलामी दस्तुर मात्रै करिब ६६ करोड रुपैयाँ उठाएको छ । नेपालका पर्यटन व्यवसायी र पर्वतारोहण क्षेत्रका मजदुरहरूले पनि केही हदसम्म पर्वतारोहणबाट राम्रै आम्दानी गरेका छन् भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्