कोरोना मृत्युदर सातामै दोब्बर «

कोरोना मृत्युदर सातामै दोब्बर

सरकारले कोरोना संक्रमण रोकथाम र उपचार नियन्त्रणमा रहेको दबी गरे पनि पछिल्लो २४ घन्टामा हालसम्मकै उच्च संक्रमण र मृत्यु भएको छ । सो अवधिमा ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३९ जनाको मृत्यु भएको छ ।
संक्रमित र मृत्यु हुनेको संख्याले रेकर्ड राख्न थालेपछि अस्पताल गएका पनि उपचार नपाई मृत्यु हुने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण र यसको उपचार नियन्त्रणमा रहेको बताए पनि गत बिहिबारदेखि संक्रमण र मृत्युको तथ्यांकले दैनिक नयाँ रेकर्ड राख्दै आएको देखिन्छ । विगत १ हप्ता यतामात्र १ लाख ३५ हजार ७९६ पीसीआर परिक्षण भएकोमा ६१ हजार १२४ संक्रमित भएका छन् । यसैगरी यो अवधिमा लगभग ५ सय संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो अवधिमा २० हजार ७ सय ७९ संक्रमित निको भएका छन् । गत हप्ताको मंगलबार ५५ जनाको मृत्यु भएकोमा हिजो सोमबार १३९ जनाको मृत्यु भएको छ । आइतबार ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल निको हुने दर ७६ प्रतिशत छ भने हालसम्म ३ हजार ८५९ जनाको मृत्यु भएको छ । तथ्यांकले हालसम्म ३० देखि ३९ वर्ष उमेर समूहमा धेरै संक्रमण देखिएको छ । २९ भन्दा बढी जिल्लामा ५०० भन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।
सरकारले कोरोना नियन्त्रणका लागि बनाएका नियम पालना गराउने सम्बन्धमा कडा कदम नचाल्दा संक्रमण गत हप्ताको तुलनामा साढे २ गुणा बढेको छ । सरकारले कोरोना नियन्त्रणका लागि पर्याप्त रकम खर्च गरेको भए पनि संक्रमण नियन्त्रण बाहिर गइसकेको छ । सरकारले विगत १ वर्षमा कोरोना नियन्त्रणका लागि पूर्वाधार र उपचारमा ठूलो रकम लगानी गरे पनि अहिले अस्पतालमा शैया र अक्सिजनको चरम अभाव देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आइतबार सूचना जारी गर्दै संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलँदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म नहुने भन्दै नियन्त्रण बाहिर जाने संकेत गरेको थियो । गत वर्षको चैतदेखि चालू आर्थिक वर्षको पुषसम्मको खर्च हेर्ने हो भने कोरोना उपचार, नियन्त्रण र रोकथाममा २० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

रेम्डिसिभिर औषधी दुई हजार भाइल आयो
कोरोना संक्रमितको वैकल्पिक औषधीका रूपमा प्रयोग हुँदै आइरहेको ‘रेम्डिसिभिर’ थप २ हजार भाइल नेपाल आएको छ । औषधी व्यवस्था विभागले सोमबार अस्पतालको सिफारिसमा गुगल फर्ममा आवश्यक जानकारी भरेर बिरामीको पूर्ण विवरण सहितको कागजात लिएर मात्र औषधी (रेम्डिसिभिर) उपलब्ध हुने जनाएको छ ।
संक्रमित व्यक्तिले चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गर्नुपर्ने विभागले जनाएको छ । बिरामीको पूर्ण विवरणसहितको सिफारिस लिएर जाने व्यक्तिको परिचयपत्र अनिवार्य हुनुपर्ने समेत विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्