निषेधाज्ञामा सरकारी कम्पनीको सेवा निष्प्रभाव «

निषेधाज्ञामा सरकारी कम्पनीको सेवा निष्प्रभाव

कोरोना भाइरसको संक्रमण कम गर्न गरिएको निषेधाज्ञाको बेला सरकारी कम्पनीको सेवा भने प्रभावकारी बन्न सकेको छैन ।
सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनले अत्यावश्यक वस्तुको बिक्री खुला गरे पनि ग्राहकको आकर्षण हुन नक्सदा सेवा प्रभावकारी बन्न नसकेको हो । निजी क्षेत्रका पसलमा सामान खरिद गर्ने उपभोक्ताको भीड लागे पनि सरकारी कम्पनीका बिक्री कक्षमा फाट्टफुट्टमात्र ग्राहक आउने गरेका छन् । बजार मूल्यभन्दा सस्तोमा सामान बिक्री गर्दा पनि सामान खरिद गर्न ग्राहक नआएपछि सेवा प्रभावकारी बन्न नसकेको हो ।
कम्पनीले आफ्ना बिक्री कक्षबाट चामल, दाल, तेल गेडागुडी बिक्री खुला गरेको छ । कम्पनीले अनलाइन पोर्टल नेपाल फुड डट जीओभी डट एनपीमार्फत चक्रपथभित्र होम डेलिभरी सेवा सुरु गरेको छ । यस्तै सस्तो डिल डट कममार्फत उपत्यकामा होम डेलिभरी सेवा सुरु गरे पनि खासै प्रभावकारी हुन सकेको छैन । कम्पनीले विभिन्न प्रकारका चामल, कर्णालीको सिमी, जुम्ली मार्सी चामल, खाने तेल, घिउ, स्यानिटाइजर आदि बिक्री सुरु गरेको छ । कम्पनीले काठमाडांैको थापाथली र ललितपुरको नक्खुमा बिहान ७ बजेदेखि बेखुका ७ बजेसम्म बिक्री कक्ष खुला गरेको छ । त्यसैगरी काठमाडौंको रामसाह पथ र भक्तपुरको सूर्यविनायकमा बिहान ७ देखि १० बजेसम्म बिक्री कक्ष खुला हुने गरेको छ । बिक्री कक्ष खुला भए पनि ग्राहकको आकर्षण बढ्न सकेको छैन । फाट्टफुट्टमात्र ग्राहक आउँदा अत्यावश्यक वस्तुको बिक्री बढ्न नसकेको कम्पनीको भनाइ छ ।
कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बिहानदेखि बेलुकासम्म अत्यावश्यक वस्तुको बिक्री कक्ष खुला गरे पनि ग्राहक त्यति आउन नसकेको बताए । कम्पनीले अनलाइन सेवा सुरु गरे पनि खासै ग्राहकको माग आउन नसकेको उनको भनाइ छ । दैनिक चार÷पाँच जनाको मात्र अनलाइन अर्डर आउनाले प्रभावकारी बन्न नसकेको उनी बताउँछन् । गत वर्षको वैशाखदेखि अनलाइनमार्फत होम डेलिभरी सेवा शुभारम्भ गरिएको थियो । सुरुसुरुमा अनलाइनमार्फत होम डेलिभरी सेवा नियमित रूपमा भए पनि पछिल्लो समय त्यति प्रभावकारी भएको थिएन ।
कम्पनीले बजार मूल्यभन्दा सस्तो मूल्यमा अत्यावश्यक वस्तुको वितरण गरिरहेको छ । कम्पनीले भटमासको तेल प्रतिलिटर २२५, सनफ्लावर तेल ३३५, तोरीको तेल २२५ मा बिक्री गरेको छ । यस्तै कर्णालीको सिमी प्रतिकेजी १२० रुपैयाँ, वास्तमती चामल प्रतिकेजी ११०, सोना मन्सुली चामल ५३ रुपैयाँ र स्टिम जिरा ६३ रुपैयाँमा बिक्री गरेको छ ।
यस्तै, साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेडले उपत्यकामा रहेका ५ वटा बिक्री केन्द्रबाट अत्यावश्यक वस्तुको वितरण सुरु गरे पनि खासै सामान बिक्री हुन सकेको छैन । कम्पनीका सूचना अधिकारी कुमारराज राजभण्डारीले अत्यावश्यक वस्तुको बिक्री खासै हुन नसकेको बताए । “दिनमा २÷४ जनामात्र आउने गर्छन्,” उनले भने, “अघिल्लो वर्षमा व्यापार राम्रो भए पनि यसपटक हुन सकेको छैन ।” बिहान ७ देखि ९ बजेसम्म पसल खुला हुने हुँदा नजिकैको पसलमा ग्राहकले सामान खरिद गर्ने गरेकाले पनि खासै व्यापार हुन नसकेको उनको भनाइ छ ।
उपभोक्तालाई सेवा दिनका लागि निषेधाज्ञा सुरु भएपछि तीन÷चार दिन मोबाइल भ्यानमार्फत अत्यावश्यक वस्तुको वितरण गरिए पनि माग नै नआएकाले अहिले रोकिएको उनले जानकारी दिए । कम्पनीले चिनी, नुन, खाना पकाउने एलपीजी ग्यास, दाल, चामल, गेडागुडीलगायतका अन्य अत्यावश्यक वस्तुको वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्