जलवायु परिवर्तनमा सचेतना जरुरी «

जलवायु परिवर्तनमा सचेतना जरुरी

वनविनाश, मानवबस्तीको विकास, सहरीकरण तथा हरित ग्यासको अधिक उत्सर्जनले जलवायु परिवर्तनमा तीव्रता आएको हो ।

नेपालको अधिकतमतापक्रम हरेक वर्ष औसत ०.०६ डिग्री सेल्सियसले बढेको छ । अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा यसको दर बढी छ । विश्व जनसंख्याको ०.४ प्रतिशतमात्र नेपालमा बस्छन्, विश्वको कुल हरितगृह ग्यासको करिब ०.०२५ प्रतिशतमात्र नेपालले उत्सर्जन गर्छ तथापि वायुमण्डलमा नेपाल उच्च जोखिममा छ ।
विगत एक शताब्दीमा नेपालको उच्च भूभाग हिमाली क्षेत्र सगरमाथाको हिमभाग ३ सय ३० फिट गलेको छ । फलस्वरूप नयाँ हिमतालको निर्माण हुन गएको छ भने यसै शताब्दीको अन्त्यमा नेपालको नदीनालाहरूमा पानीको बहाव भारी मात्रामा घट्नेछ । पानीको बहावको कमीकै कारण भोलिको दिनमा ऊर्जा संकट थपिने सक्भावना बढी छ ।
नेपालको वार्षिक वर्षा क्रममा पनि व्यापक हेरफेर भइसकेको छ । लामो समय खडेरी पर्ने वा तीव्र वर्षा हुने क्रम देखा परेको छ । अहिले रात र दिन दुवैमा चिसो कम छ । १ सय मिमि वा सोभन्दा बढी परिमाणमा पानी पर्ने दिनहरूको संख्या पनि बढ्दै छ । यता मुसलधारे वर्षा यसै वर्ष पनि धेरै देखिए । खण्डवृष्टि, अतिवृष्टि र अनावृष्टिले हाम्रो मुलुक आक्रान्त भएको छ । पानी पर्ने समय र यसको अवधिमा परिवर्तन भएको छ । एकातिर हिमनदीहरू पातलिएका छन् भने अकोतिर हिमतालको आकार बढ्दै गएको छ हाम्रासामु अहिले ।
जलवायु परिवर्तनकै कारण कृषि, जलस्रोत, वन, जैविक, विविधता, मानव स्वास्थ्य, पर्यटन र समग्र पूर्वाधारमै प्रभाव पारेको छ । हिजोआज भूस्खलन, बाढी, पहिरोजस्ता प्राकृतिक दुर्घटनाबाट धनजनको ठूलो विनाश भएका उदाहरणले हाम्रा आँखा गलेका छन् । अतीतदेखि वर्तमानसम्म आइपुग्दा तराई, पहाड र हिमाली क्षेत्रमा सबैतिर परेको असर र प्रभावको यकिन तथ्यसमेत हामीकहाँ छैन भन्दा हुन्छ । जलवायु परिवर्तनबारेको चेतना, अनुकूलनका अभ्यास र नवीकरणीय ऊर्जाको प्रयोग र प्रवद्र्धन गर्न जानेनौं हामीले ।
यससम्बन्धी प्रगति धीमा गतिमा छ हामीकहाँ । सन् २००९ देखि मात्र मुलुकले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय एजेन्डा प्रयोगमा ल्याएको देखिन्छ । अन्तरिम योजना २०६४ ले मात्रै वातावरण व्यवस्थापन एवं जलवायु परिवर्तनको विषयलाई प्रत्यक्ष सम्बोधन गरेको पाइन्छ । दिगो विकास एजेन्डा २०५९ र सहस्राब्दी विकास लक्ष्य २०५८ ले पनि सम्बोधनसम्मचाहिं गरेको देखिन्छ ।
वायुमण्डलमा जल वायु परिवर्तन नियमित प्रक्रिया हो । तथापि उद्योग क्षेत्र र यातायातमा खनिज इन्धनको अधिक प्रयोगले यसको प्रक्रिया थप बढेको हो । वनविनाश, मानवबस्तीको विकास, सहरीकरण तथा हरित ग्यासको अधिक उत्सर्जनले जलवायु परिवर्तनमा तीव्रता आएको हो । सन् १९९२ मेमा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि तयार भएको र यसैको जुनमा रियो द जेनेरियोमा वातावरण र विकास सम्बन्धी संयुक्त राष्ट्र संघ सम्मेलनमा हस्ताक्षर खुला भई १२ जुन १९९२ मा नेपालले हस्ताक्षर गरी सन् १९९४ देखि नेपाल यसको पक्षमा आएकाले यतिबेलादेखि नेपालमा यसबारे चासो बढ्न थालेको हो ।
जलवायु परिवर्तनमा मानव क्रियाकलाप नै मुख्य कारण हो । हरित गृह ग्यासको उत्सर्जनमा वृद्धि हुँदा वायुमण्डल तात्ने हुनाले स्थान विशेष रूपमा जलवायु परिवर्तनबाट प्रभावित हुन्छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टिको बढोत्तरी र ऋतुकालको छिटो छिटो परिवर्तन हुने गर्छ । बेमौसममा गुुराँस फुलेका उदाहरण हामीले देखिसकेका छौं । मानव जीवन प्रकोप प्रभावित हुने कारण पनि बेमौसमी प्रभाव नै हो । यसको प्रत्यक्ष प्रभाव गरिब, विकासोन्मुख, भूपरिवेष्टित र पर्वतीय मुलुकहरूमै बढी पर्ने गर्छ । हाम्रो इकोसिस्टममा परेको प्रभावबाट पनि यसलाई सहजै अनुमान लाउन सकिन्छ । जलवायु परिवर्तनको जोखिमबाट बच्ने उपाय भनेको जन चेतना नै हो, अनुकूलनका अभ्यासहरूको प्रवद्र्धन हो, नवीकरणीय ऊर्जाको प्रयोग हो । जलवायु परिवर्तनको प्रभावले खाद्यान्नमा संकट त आउँछ नै । खाने मुख थपिने तर उत्पादनहरू भने कम हुने कारण भागदौड प्रतियोगिताले समग्र सर्भाइभल सिस्टममै असर पर्छ भविष्यमा । यस अर्थमा हाम्रो भपिष्य थप जोखिममा छ ।
हामीकहाँ जलवायु पविरर्तनले आर्थिक र समग्र सामाजिक विकासका क्षेत्रमा परेको प्रभाव असर पर्न सक्ने प्रभाव असरबारे यकिन गर्ने संयन्त्र अझ भनौं वैज्ञानिक संयन्त्रको कमी छ । जोखिम क्षेत्रहरूको पहिचानको समस्या छ । हरितगृह ग्यास उत्सर्जन न्यून गर्ने संयन्त्रको विकास हुन सकेको छैन । सामाजिक र आर्थिक विकासलाई जलवायुमैत्री बनाउनु कम कठिन छैन । साथै उपल्लो र तल्लो तटीय भूभागमा परेको र पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यून गर्ने रणनीति तय गर्न सकिएको छैन ।

विकास निर्माण, बसाइँसराइ, औद्योगीकरण, सहरीकरणजस्ता पूर्वाधार विकासका लागि हुन्, विनाशका लागि होइनन् । प्राकृतिक क्षेत्रले भरिपूर्ण हाम्रो मुलुकले जलवायु परिवर्तनबाट हुन सक्ने लाभलाई लिन सक्नुपर्छ, हानिलाई होइन ।

जलवायु परिवर्तनसम्बन्धी स्थलगत कार्यक्रमहरू गर्दा अत्यधिक खर्च स्थानीयकै लागि गर्नु बेस हुन्छ । प्राकृतिक स्रोतको व्यवस्थापन जलवायुमैत्री हुनुपर्छ । पूर्वाधार विकासलाई जलवायु समयानुकूल बनाउन जरुरी छ । स्वच्छ र नवीकरणीय ऊर्जा विकास, कार्बन व्यापारमा कटौती र दिगो विकासतर्फ अग्रसर हुन जरुरी छ । स्रोत व्यवस्थापन गर्दा भोलिको पुस्तालाई बिर्सनु हुन्न । स्वच्छ ऊर्जा जलविद्युत्का सम्भावना धेरै छ हामीकहाँ । पुनर्नवीकरणीय र वैकल्पिक ऊर्जा, सोलार ऊर्जा वृद्धि गरी हतिरगृह ग्यासको उत्सर्जन न्यून गर्नुपर्छ । हिमाल, पहाड, चुरे, तराई क्षेत्र प्राकृतिक सम्पदाले भरिपूर्ण छन्, तिनको सन्तुलित र गतिलो दोहन गर्न सकिन्छ । कुखुराको अन्डा दोहन गर्दा कुखुरै मर्ने गरी भने कतै दोहन गर्नु हुँदैन । बाँझो, छोडेको जमिन, पर्ती, बाढीपहिरोग्रस्त, भिरालो जमीनमा लाभदायक रूखबिरुवा रोप्न सकिन्छ । प्रकोप व्यवस्थापन गर्न बिमा नीतिहरू तय गर्न सकिन्छ । वर्षाको पानी संकलन, मुहानको भरपूर संरक्षण, पर्यावरणीय सरसफाइ, डढेलो नियन्त्रण, वनक्षयीकरणमा रोक, नदी किनारामा बस्ती विकासमा रोक, फोहोरमैलालाई स्रोतका रूपमा व्यवस्थापन गर्ने, प्रकोप नियन्त्रणका लागि पूर्वतयारी र समग्रमा इच्छाशक्ति नै आजको आवश्यकताको विषय हो । सबैलाई चेतना भए । ्
अच्युतप्रसाद पौडेल

प्रतिक्रिया दिनुहोस्