कोरोनाले कर्णालीमा पदयात्रा बन्द
कोरोना महामारीको संक्रमणसँगै कर्णालीमा पदयात्रा फेरि ठप्प भएको छ । झण्डै एक वर्षपछि फागुन चैत महिनामा सुरू भएको पदयात्रा वैशाख लागेसँगै रोकिएको हो । भर्खरै पुरानै लयमा फर्किन थालेको पर्यटन क्षेत्र फेरि कोरोनाका कारण बन्द भएको हो ।
जुम्लाका पर्यटन व्यवसायी नोर्बु लामाले कोभिडपछि पहिलो पदयात्राका रुपमा फागुनमा भारतीय पर्यटकलाई जुम्ला हुँदै हुम्लाको सिमकोटसम्म ३० दिनको पदयात्रा गराए । त्यसबाट उनले करिब ४ लाख रूपैयाँ आम्दानी गरेका थिए । हुम्ला जाँदा पर्यटककै रोजाई अनुसार घोडा र खच्चड प्रयोग गरिएको थियो ।
त्यस्तै चैत महिनामा फ्रान्सको ५ जना टोलीलाई ८ दिनका लागि जुम्ला हुँदै मुगुको रारा तालसम्मको पदयात्रासमेत नोर्बुले गराए । दुई समुहको सफल पदयात्रा पछि पर्यटन व्यवसायी लामा निकै खुसी थिए । कोभिडले एक वर्ष थलिएको पर्यटन व्यवसाय लयमा फर्किएपछि उनी जस्तै दर्जनौ व्यवसायी खुसी थिए ।
एक दिनमा करिब डेढ सय आन्तरिक पर्यटकले होटल भरिभराउ हुन्थ्यो । माथिल्लो कर्णालीमा पदयात्रा गराउने एकमात्र पर्यटन व्यवसायी नोर्बुले दुई समुहको सफल पदयात्रापछि वैशाख महिनाका लागि करिब ४÷५ समुहसँग पदयात्रामा जाने तयारी गरेका थिए । “आन्तरिक तथा बाह्य पर्यटकको ४÷५ समुह कर्णाली पदयात्राका लागि आउन तयार थिए” उनले भने, “पर्यटक कर्णालीमा आउन आतुर हुँदा पनि कोरोना संक्रमण बढ्दा पदयात्रा रोकिएको छ ।”
पदयात्रा गर्ने पर्यटकहरुको रोजाइमा डोल्पाको से–फोक्सुण्डो, हुम्लाको मानसरोवर, मुगुको रारा ताल जुम्लाको पातारासी क्षेत्र पहिलो रोजाइमा पर्ने गरेको व्यवसायी लामाले बताए । पछिल्लो समय कर्णाली राजमार्गको स्तरोन्नती गरेसँगै पर्यटक आवागमन सहज भएको छ । कोरोनाका कारण एक वर्ष घरमै थुनिएका आन्तरिक पर्यटक फागुन र चैतमा जुम्लाका होटल भरिभराउ भएका थिए ।
होटलमा फाटफुट आन्तरिक पर्यटक आइरहेपनि कर्णालीमा पदयात्रा भने रोकिएको छ ।
कोभिडले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले अघि सारेका विभिन्न प्याकेजलाई पालना गर्नसमेत जुम्लाका पर्यटन व्यवसायीको माग छ ।