Logo

संक्रमण रोकथाममा धादिङका स्थानीय तह सक्रिय


कोरोना भाइरस (कोभिड–१९) को दोसो लहरबाट जिल्लामा संक्रमितको संख्या बढ्न थालेदेखि नै धादिङका स्थानीय तह संक्रमण रोकथाममा सक्रिय छन् । समाचार तयार पार्दासम्म १३ स्थानीय तहमध्ये १२ स्थानीय तहका छ सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये जिल्लाभित्र चार सय ४१ र जिल्ला बाहिर बसोवास गर्ने तथा नमुना परीक्षण गराउने पोजेटिभको संख्या दुई सय दुई रहेको । हालसम्म निको हुनेको संख्या जिल्लाभित्र एक सहित २४ पुगेको छ । कोभिड–१९ पोजेटिभ भई मृत्यु हुनेको संख्या दुई पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोभिड–१९ को दोस्रो लहरबाट सबैभन्दा बढी नीलकण्ठ नगरपालिका र नेत्रवती दवजोङ गाउँपालिका प्रभावित छ । नीलकण्ठ नगरपालिकामा एक सय ९०, नेत्रावती गाउँपालिकामा एक सय २६ जना पोजेटिभ रहेका छन् । गल्छी गाउँपालिका ४१ जना, गजुरी गाउँपालिकामा ११ जना, थाक्रे गाउँपालिकामा नौ जना, धुनीवेशी नगरपालिकामा छ जना, बेनीघाट रोराङ गाउँपालिकामा पाँच जना, ज्वालामुखी गाउँपालिकामा १ जना र सिद्धलेक गाउँपालिकामा एक जना पोजेटिभ रहेको स्वास्थ्य कार्यालयकी उन्नती मर्हजनले बताइन् । यसैगरी स्वास्थ्य कार्यालयका प्रमुखसहित तीन जना र धादिङ अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४७ जना पोजेटिभ छन् ।
सबै स्थानीय तहमा आइसोलेसन बेड तयार गरी नसकेको भए पनि गत वर्षको सामानले नपुग हुने सामग्री जुटाउन र स्वाब परीक्षणका लागि किट जुटाउन सक्रिय छन् । हालसम्म गजुरी गाउँपालिकाले स्वास्थ्य र अक्सिजनसहितको ३० आइसोलेस बेड तयारी गरी सात जनालाई राखेको छ । बेनीघाट रोराङले ३२ बेड आइसोलेसन, स्वास्थ्यकर्मी र अक्सिजनाको व्यवस्था गरेको छ । गल्छीले ५० बेडको आइसोलेसन, थाक्रेले १० बेड, नीलकण्ठले ३० बेड त्रिपुरासुन्दरीले १५ बेड, गंगाजुनाले ५ पाँच बेड तयारी अवस्थामा राखेका छन् । गत वर्षभन्दा यस वर्षको लक्षण फरक भएकाले अक्सिजन अनिवार्य राख्नुपर्ने भएकाले सहजरूपमा अक्सिजन खरिद गर्न नपाएकाले केही कठिनाइ भएको स्वास्थ्य संयोजकहरूले बताएका छन् । गत वर्ष सचेतनाको कार्यक्रम, क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन, राहत वितरण गर्नुपर्ने भएकाले कामको बोझ थियो । यो पटक मानिस आफै सचेत भइसकेकाले काम गर्न सहज भएको नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्